हेटौंडाः मंगलबारदेखि होम आइसोलेसनमा बसेकाहरुका नियमित निगरानी गरिने भएको छ । उनीहरुको वडा समन्वय समितिले अनुगमन गर्नेछ । होम आइसोलेसनमा नबस्ने र जनस्वास्थ्यको मापदण्ड पालना गर्नेहरुलाई संस्थागत आइसोलेसनमा पठाउने व्यवस्था सम्बन्धीत पालिकाले गर्ने जिल्ला कोभिड संकट व्यवस्थपन केन्द्र मकवानपुरको आज बसेको बैठकले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बैठकले कोभिड–१९ संक्रमित बढी रहेको ठाउँहरुमा एन्टिजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने भएको छ । कोभिडको समयमा उपचारमा रहेको स्वास्थ्कर्मीलाई मृत्युभएको विषयलाई निँहु बनाई कुटपिट गर्ने, तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याइने भएको छ । यसैगरी पल्पसामा २५ बेड क्षमताको आइसोलेसन सेन्टर संचालनमा ल्याइनेछ । युनिलिभरले उपलब्ध गराएको १५ थान अक्सिजन कन्सन्ट्रेटर हेटौंडा अस्पताललाई उपलब्ध गराएको छ ।

यसैगरी उद्योग संघ मकवानपुरले सबै उद्योगमा कार्यरत मजदुरको एक हप्ता भित्र एन्टिजेन विधिबाट कोभिड परीक्षण गर्ने व्यवस्था मिलाउने र संक्रमितलाई आइसोेलेसनमा पठाउने र सो को जानकारी कोभिड व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय गरेको छ ।