हेटौंडाः हेटौंडामा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । मतदानमा विवेकशील साझा पार्टीले भाग नलिने भएको छ । बागमती प्रदेश सभामा विवेकशील दलका ३ जना सांसदहरु रहेका थिए । उनीहरुको १४४ मत नखस्ने भएको हो । विवेकशील दलबाट स्थानीय तहमा कसैले जितेका छैनन् ।
आज प्रेस विज्ञप्ती जारी गर्दै विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले नो भोट लागु गर्न सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गरेका छन् । बागमती प्रदेशबाट निर्वाचित हुने एक स्थानका लागि हुँदै गरेको निर्वाचनमा नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र गरी तीन जना उम्मेदवारहरू मैदानमा छन् । प्राविधिक रूपमा एक जनाको ‘स्वतन्त्र’ उम्मेदवारी रहे तर त्यो सत्तारुढ नेकपा एमाले कै एउटा खेमाको तर्फबाट निजको उम्मेदवारी आएको प्रस्टै देखिएको विज्ञप्पतीमा जनाइएको छ ।
चुनावी मैदानमा प्रतिस्पर्धारत तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको पौडेलले उल्लेख गरेका छन् ।
यसैगरी विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न पनि सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय गरेको छ । सात वर्ष भन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहनु र राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ को विकल्प सामेल नगरिनु खेदजनक भएको विज्ञप्तीमा जनाइएको छ ।