हेटौंडा–४ स्थित खोपेगल्लीमा तरकारी व्यापार गर्दै आउनुभएका उपेन्द्र ठाकुर।

हेटौंडाः नयाँ प्रजातिको कोरोना संक्रमण बढ्दै गएपछि अहिले देशका धेरै ठाउँहरुमा निषेधाज्ञा जारी भएको छ । कोभिड–१९ को दोस्रो लहर फैलँदै गएपछि त्यसलाई रोकथाम गर्न स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेपछि व्यापारी तथा श्रमिकलगायत मारमा परेका छन् ।

कोभिड–१९ संक्रमणको दर उच्च हुँदै गइरहेको छ । हेटौंडासहित मकवानपुर जिल्लाको भीमफेदी, थाहा नगर र मनहरीमा पनि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाले अत्यावश्यकबाहेक सबै खालका व्यापार व्यवसाय बन्द छन् । स्थानीयस्तरमा चल्ने यातायातको साधन पनि सञ्चालन भएका छैनन् । यसले दैनिक ज्यालादारी गर्ने श्रमिक तथा साना–ठूला व्यवसाय गर्ने व्यापारी र व्यवसायमा सम्बद्ध कामदार कर्मचारी समस्यामा परेका छन् ।

मकवानपुरमा गत सोमबारदेखि निषेधाज्ञाको आदेश जारी भएको हो । निषेधाज्ञाको तेस्रो दिन हेटौंडा बजार क्षेत्रका सबैखाले पसलहरु बन्द थिए । तरकारी, खाद्यान्नलगायत दैनिक आवश्यकताका वस्तुहरु बिक्री गर्ने पसल बिहान ८ बजेसम्म खुले पनि त्यसपछि बन्द हुने गरेका छन् । राजमार्गमा चल्ने लामो दुरीका यात्रुबाहक तथा मालबाहक सवारी सञ्चालन भइरहेको भए पनि हेटौंडा बजार तथा जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधन निकै कममात्र सञ्चालन भएका छन् ।

जोरबिजोरसँगै निषेधाज्ञामा अत्यावश्यक सेवा प्रदान गर्ने र पास लिएकाबाहेक निजी तथा भाडाका सवारी सञ्चालनमा रोक लगाएको भए पनि केही सवारी साधन भने अटेर गरेर सञ्चालन भएका थिए । सवारी तथा मानिसको आवागमनलाई व्यवस्थित बनाउन र व्यवसाय खोल्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

निषेधाज्ञालाई दिनहुँ थप आदेश जारी गरेर कडा बनाउन प्रयास भइरहेको भए पनि कार्यान्वयन फितलो बनिरहेको अवस्था देखिन्छ । निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्ने, यातायातका साधन चलाउने, लुकीछिपी पसल खोल्नेक्रम पूरै बन्द हुन सकेको छैन । बजारका मुख्य सडकमै माग्न बसेको अवस्था पनि छ ।

लकडाउनले श्रमिकलगायत साना लगानीका व्यापारीहरु भने मारमा परेका छन् । बिहान बेलुकाको छाक टार्न हेटौंडा १०, बुद्धचोकमा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु जम्मा हुने गरेका थिए । मकवानपुर तथा तराईका विभिन्न जिल्लाका श्रमिकमात्र नभई भारतीय नागरिकहरुसमेत उक्त स्थानमा दैनिक कामको खोजीमा भेला हुने गरेको भए पनि निषेधाज्ञाले ती श्रमिकहरुको रोजगारी कटौती भएको छ । निषेधाज्ञा लागू भएसँगै कतिपय मजदुरहरु आ–आफ्ना घर फर्केका छन् भने कतिपय घरमै बस्न बाध्य भएका छन् ।

हेटौंडा–१० स्थित मेनरोडमा रहेका सामना होटलका सञ्चालक सुरज आचार्य भन्नुहुन्छ– ‘लाखौंको आम्दानी हुने यस होटलले थुप्रै युवाहरुलाई रोजगार दिएको छ । तर नेपालका विभिन्न जिल्लालगायत मकवानपुर जिल्लामा पनि निषेधाज्ञा भएकाले सम्पूर्ण व्यवसायी घाटामा हुनुका साथै रोजगार पाएका युवाहरु पनि बेरोजगार हुने अवस्था आउनेछ ।’ निषेधाज्ञा लागू भएसँगै व्यवासय ठप्प रहेको हुँदा निषेधाज्ञा जति लम्बिन्छ, व्यवासय त्यति घाटामा जानुका साथै अनेकौं समस्याहरु आइपर्ने आचार्यले बताउनुयो ।

हेटौंडा २ स्थित मोटल एभोकाडोको पनि व्यवसाय ठप्प छ । ६० जना कर्मचारीलाई रोजगार दिइरहेको उक्त होटल अहिले निषेधाज्ञा भएसँगै बन्द छ् । ६९ ओटा कोठा भएको सुविधासम्पन्न उक्त होटलमा निषेधाज्ञाअघि सबै कोठामा दैनिक पाहुनाले भरिने गरेको र विवाहलगायत अन्य कार्यक्रम हुने गरेको होटलका सुपरभाइजर दिनेश लामिछानेले बताउनुभयो । ठूलाठूला व्यवासय गर्ने व्यापारीदेखि साना व्यवसायी मारमा परेको भन्दै सुपरभाइजर लामिछानेले ठूला व्यवसायहरु धरापमा परेको बताउनुभयो । नेपालजस्तो विकासोन्मुख देशमा कोरोना भाइरस संक्रमणका कारण देखाउँदै गरिएको निषेधाज्ञाले करोडौं जनता मारमा परेको र बेरोजगार बनाएको लामिछानेले जानकारी दिनुभयो ।

हेटौंडा–४ स्थित खोपेगल्लीमा तरकारी व्यापार गर्दै आउनुभएका उपेन्द्र ठाकुर पनि बिहान ८ बजेसम्ममात्र पसल खोल्न पाउँदा दैनिक घाटा भइरहेको बताउनुभयो । ‘बिक्रीका लागि थोक व्यापारीबाट तरकारी किनेर ल्यायो, बिहान ८ बजे नै पसल बन्द गर्नुपर्छ’, व्यापारी ठाकुर भन्नुहुन्छ– ‘पसल खोल्ने समय नै कम भएपछि ग्राहक पनि कम आउने भएकाले किनेर ल्याएको सबै तरकारी बिक्री नभई खेर जाँदा घाटा भइरहेको छ ।’ १० हजार रुपैयाँमा किनेर ल्याएको तरकारी बिक्री गर्दा ४ हजार रुपैयाँ जत्ति कमाई हुँदा घाटा भएको उहाँले बताउनुभयो ।

खोपेगल्लीकै तरकारी व्यापारी लालबाबु जयसवालले पनि तरकारी व्यापार गर्ने व्यवसायीहरुले चर्को घाटा बेहोर्नुपरेको बताउनुभयो । निषेधाज्ञाबीच छोटो समय खुल्ने तरकारी बजारमा छिटोछिटो तरकारी बिक्री हुन नसके कुहिएर जाने हुँदा तरकारी पसल खोल्ने समय थप गर्नुपर्ने जयसवालले बताउनुभयो । बिहान र बेलुका दुई समय तरकारी पसल खोल्ने व्यवस्था गरिदिए उपभोक्ता र व्यापारी दुबैलाई सहज हुने उहाँले जानकारी दिनुभयो ।