किसानले उत्पादन गरेको उपजले उचित मूल्य पाउन नसकेको गुनासो हुँदै आएको लामो समय भयो । किसान र उपभोक्ता दुबै ठगिँदै आएका छन् । उनीहरु एकअर्काका पूरक भए पनि सिधा सम्पर्क नहुँदा दुबै पक्ष मारमा पर्दै आएका छन् । किसानले सस्तोमा उत्पादन बिक्री गर्दछ तर उपभोक्ताले त्यही वस्तु अत्यन्त महंगोमा खरिद गर्न बाध्य छन् । किसानले लगानीको प्रतिफल पाएकै हुँदैन भने उपभोक्ताले पनि बढी लगानी गर्नुपरेको छ । किसान र उपभोक्ताबीचको सम्बन्ध निकट बनाउनु आजको कृषि क्षेत्रको चुनौती हो । राज्य तथा स्थानीय तहले चाहेमा त्यो वातावरण बनाउन सहजै सक्नेछन् । बिचौलियाको चंगुलबाट बाहिर ननिस्किए यो समस्या सधैं यस्तै रहिरहने छ ।
कृषिप्रधान देशमा किसानहरु नै मारमा पर्नुले नेपाली किसानको अवस्थालाई प्रष्ट्याउँदछ । कृषि उपजले उचित बजार र मूल्य नपाउँदा पीडित बनेको किसानहरुको गुनासो छ । किसानबाट सस्तोमा खरिद गर्ने र उपभोक्तालाई महंगोमा बेच्दा बिचौलियामात्र मोटाउने काम भएको देखिन्छ । किसानका लागि राज्यले अनेक अनुदानका कार्यक्रम पनि सार्वजनिक गर्दछ । तर त्यसको प्रत्यक्ष लाभ किसानले पाउनै सकेका छैनन् । किसानका लागि अनुदान सरकारले दिए पनि मन्त्री र कर्मचारीका मानिसले मात्र पाउने गरेको गुनासो छ । टाठाबाठाले कमिसन खाएर अनुदान गैरकिसानलाई दिने र वास्तविक किसानले दुःखमात्र पाउने गरेका छन् । किसानको उत्पादनमा मात्र हैन कि राज्यका संयन्त्रमाथि पनि बिचौलियाकै प्रभाव बढी हुँदा किसान मारमा पर्दै आएका हुन् ।
निर्वाहमुखी उत्पादन गर्दा बढी लागत पर्ने र बिक्री मूल्य कम हुने अर्को समस्या छ । व्यावसायिक खेती गर्न पर्याप्त लगानी आवश्यक पर्छ । त्यसका लागि सरकारी अनुदान र सहुलियतमा उनीहरुको पहुँच नै पुग्दैन । जसले अनुदान लिन्छन्, उनीहरु उत्पादनसँग जोडिएकै हुँदैनन् । यही वास्तविकताका विरुद्ध अब किसान र उपभोक्ता एकअर्काबीच निकट हुन आवश्यक छ । किसानको उत्पादन उपभोक्तासम्म सहजै उही मूल्यमा पुर्याउन किसानद्वारा नै पसल सञ्चालन आवश्यक भएको छ । किसान स्वयम्ले आफ्ना उत्पादनलाई उपभोक्तासमक्ष पुर्याउने हो भने दुबै पक्षले फाइदा लिन सक्नेछन् । त्यसो हुँदा बिचौलियाहरुको चलखेल पनि बन्द हुनेछ ।
किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध जोड्ने अभियानअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानहरुले हेटौंडामा सुपथ तरकारी पसल सञ्चालन सुरु गरेका छन् । गढी गाउँपालिकाको वडा नम्बर २ स्थित कुर्ले कृषि सहकारी संस्थाले हेटौंडामा मकवानपुरगढी कृषि उपज बिक्री कक्ष सञ्चालन गरेको हो । किसानको यो प्रयासले पालिकाभित्र बिचौलियाको मारमा परेका किसानलाई राहत मिल्ने देखिन्छ । कुनै एउटा पालिकामात्र नभई सबै स्थानीय तहका किसानको उत्पादनलाई उनीहरुमार्फत् नै बजारसम्म पुर्याउन सक्ने बनाउनु आवश्यक छ । यस अभियानमा स्थानीय तहरुले सहजीकरण गर्न सक्छन् । पालिकाको नेतृत्व किसानको पक्षमा सकारात्मक भए बिचौलियाको पीडाबाट किसान र उपभोक्ता दुबै पक्षले मुक्ति पाउनेछन् ।