गोठदमार खानेपानी तथा सरसफाई उपभोक्ता समिति ।

हेटौंडाः हेटौंडा–१२, पदमपोखरीस्थित गोठदामारमा ३४ वटा घरधुरीमा मात्र खानेपानीको धारा जडान गरिएको छ । स्थानीय खानेपानी उपभोक्ता समितिले निर्धारण गरेको खानेपानीको शुल्क महंगो भएका कारण गाउँका हुनेखाने परिवारले मात्र घरमा धारा जडान गरेका छन् । खानेपानीको महशुल दर महंगो भएकै कारण अधिकांश घरमा धारा जडान गरिएको छैन ।

खानेपानीको धारा जडान गरेर मिटर राख्नेबित्तिकै मासिक ३ सय रुपैयाँ तिर्नुपर्ने स्थानीय मोतीमाया थिङले बताउनुभयो । धारा जडान गरेर पानी खान महंगो भएकै कारण हुने खानेका लागि मात्र घरघरमा खानेपानीको सुविधा रहेको थिङले गुनासो गर्नुभयो । कुनै शुभकार्य भएको महिनामा २ हजार ५ सय रुपैयाँसम्म पानीको पैसा तिर्नुपरेको उहाँले जानकारी दिनुभयो । एक महिनाकै यति महंगो शुल्क तिर्नुपर्ने भएपछि पैसा नभएर आफूले ४ महिनाको पानीको पैसा नतिरेको थिङले बताउनुभयो ।

प्रायः ज्याला मजदूरी गरेर खाने परिवारको बसोबास रहेको उक्त गाउँका बासिन्दाले पानी किनेर खानुपर्दा थप मारमा परेका छन् । खानेपानीको धारा राख्नेको संख्या कम भएका कारण समस्या भइरहेको गोठदमार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष शान्तिमाया बोम्जनले जानकारी दिनुभयो । खानेपानीको धारा जडान गरेर मिटर राख्ने घरधुरीको संख्या कम भएकै कारण उपभोक्ता समितिलाई खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न नसकिएको कोषाध्यक्ष बोम्जनले बताउनुभयो ।

बस्तीका बसिन्दाले आफैं खटेर श्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको भए पनि महंगो महशुल तिर्नुपरेकोमा स्थानीयले गुनासो गरेका छन् । उपभोक्ता समितिले न्यून आय भएकालाई निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । तर, उपभोक्ता समितिले खानेपानी वितरण गर्दा हुने खर्चअनुसार शुल्क निर्धारण गरेको कोषाध्यक्ष बोम्जनको भनाई छ । खानेपानी संकलनका लागि मोटर चलाउँदा खर्च हुने बिजुलीको महशुल र कर्मचारीको खर्च जुटाउन खानेपानीको धारा तथा मिटर जडान गरेबापत शुल्क लिनुपरेको उहाँले बताउनुभयो । खानेपानी धारा जडान गर्ने उपभोक्ताको संख्या कम हुँदा शुल्क महंगो पर्न गएको उहाँले दावी गर्नुभयो ।

गाउँका सबै घर परिवारले धारा तथा मिटर जडान गरेर पानीको सदुपयोग गर्ने हो भने कम पैसा तिरे पुग्ने कोषाध्यक्ष बोम्जनले बताउनुभयो । सयौं घर भएको बस्तीमा ३४ वटा घरमा मात्र खानेपानीको धारा जडान हुँदा समितिको खर्च धान्न शुल्क बढी लिनुपरेको उहाँले जानकारी दिनुभयो । ‘सबै घरधुरीमा खानेपानी उपलब्ध गराउनु समितिको जिम्मेवारी हो’, बोम्जनले भन्नुभयो– ‘तर पैसा नभएको भन्दै गाउँका सबै घरमा धारा नराखेको हो ।’

आफ्नै गाउँबाट संकलन गरेको पानीलाई संकलन गरेर घरघरमा वितरण गर्दा महिनाको न्यूनतम ३ सय रुपैयाँ महशुल तिर्नुपर्दा उपभोक्ताहरु मारमा परेका छन् । खानेपानी उपभोक्ता समितिले गाउँका सबै घरधुरीमा धारा जडान गर्नेतर्फ गम्भीरता देखाउनुपर्ने र न्यून शुल्कमा खानेपानी सुविधा दिनुपर्ने स्थानीय बासिन्दाको भनाई छ ।