हेटौंडाः किसानले उत्पादन गरेको कृषिउपजले उचित मूल्य नपाउँदा उनीहरु मारमा पर्ने गरेका छन् । कृषिप्रधान देशमा किसानहरु नै मारमा पर्नुपर्ने अवस्थाले कतिपय किसानहरु कृषि पेसाबाट पलायन हुनुपर्ने अवस्था बन्ने गरेको छ ।
कृषिउपजले उचित बजार र मूल्य नपाउँदा पीडित बनेको किसानहरुमध्ये एक हुनुहुन्छ, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ चकरीका राजन बर्तौला । ६० वर्षीय बर्तौलाले आफ्नो जग्गामा अदुवा खेती गर्नुभएको छ । आफूले उत्पादन गरेको अदुवा सस्तोमा बेच्नुपर्दा मारमा परेको बताउनुहुने बर्तौलाले व्यापारीबाट त्यही अुदुवा निकै महंगोमा किन्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
‘दैैनिक उपभोग्य सामग्री निकै महंगोे भइरहेको छ’, बर्तौलाले भन्नुभयो– ‘आफूले तरकारी तथा अदुवा सस्तोमा बेच्नु परिरहेको छ ।’ किसानबाट किनेको मूल्यभन्दा निकै महंगोमा व्यापारीले बेच्ने गरेको उहाँको गुनासो थियो । व्यापारीले आधाजति नै मुनाफा राखेर बिक्री गरे पनि किसानहरुलाई कम मूल्य दिएको बर्तौलाले बताउनुभयो ।
बर्तौैलाले हेटौंडा–१० स्थित टीसीएनरोडका एक व्यापारीलाई ५ बोरा अदुवा बेच्नुभएको थियो । आफूले उत्पादन गरेको अदुवा पोटिलो र राम्रो भए पनि कम मूल्य दिएको उहाँले बताउनुभयो । उहाँले व्यापारीबाट प्रतिकेजी ४० रुपैयाँको दरले पैसा पाउनुभएको भए पनि त्यही अदुवाको मूल्य उपभोक्तासम्म पुग्दा दोब्बर हुने गर्दछ । बजारमा अहिले अदुवाको मूल्य ७० रुपियाँभन्दा माथि रहेको व्यापारीको भनाई छ ।
‘गाउँमा किसानका लागि अनुदान आए पनि मन्त्री र कर्मचारीका आफन्तका लागि आउने न हो’, बर्तौलाले गुनासो गर्दै भन्नुभयो– ‘अहिलेसम्म बास्तविक किसानले अनुदान पाएका छैनन् ।’ टाठाबाठाहरुले कमिसन खाएर थाहै नदिई अनुदान लिने गरेको आरोप बर्तौलाले लगाउनुभएको छ । सबै किसानलाई समेटेर अगाडि बढ्न नसक्दासम्म किसानका लागि आएको बजेट, अनुदान र सुविधाको अर्थ नहुने उहाँको भनाई छ ।
अधिकांश किसानहरुले निर्वाहमुखी कृषि गरिरहेको अवस्था रहेको र आफूले पनि व्यावसायिक कृषि गर्न नसकेको उहाँले बताउनुभयो । २ कठ्ठा जग्गामा लगाएको अदुवा ५ बोरामात्र भएको र पहिलाकोे जस्तो उत्पादन नभएको र मूल्य पनि राम्रो नपाएको बर्तौलाले बताउनुभयो ।
सरकारले अनकौं कार्यक्रम बनाए पनि सबै आफ्नाका लागि बनाएको हुँदा अबका कार्यक्रमहरु निर्वाहमुखी किसानलक्षित हुनुपर्ने बर्तौलाले बताउनुभयो । युगौं युगदेखि अहिलेको युगमा पनि किसान मारमा रहेको बताउनुहुँदै उहाँले दुःखेसोसमेत व्यक्त गर्नुभएको छ । ‘डेढ घण्टामा हेटौंडा बजारसम्म आएर दुई कठ्ठामा लगाएको अदुवा बिक्री गरेर मैले ७ हजार रुपैयाँ मात्र पाएँ भने विकटका किसानको अवस्था कस्तो होला ?’, बर्तौलाले प्रश्न गर्दै भन्नुभयो– ‘अब सरकारले सोच्ने बेला आएको छ ।’
अहिलेसम्म नामले मात्रै भए पनि कृषिप्रधान देश भनिए पनि मरुभूमिको देशको नामले चिनिन सक्ने अवस्था आउने उहाँले बताउनुभयो । अहिले बैैशाखको मध्यसम्म पनि पानी नपरेको हुँदा बेमौैसमी तरकारी उत्पादनमा असर पर्ने भएकाले सरकारले सिंचाईको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयोे ।