हेटौंडाः हेटौंडा अस्पातलको इमर्जेन्सीमा उपचार गराउन आउने बिरामीको चाप उल्लेख्य भएपछि बेडको अभाव हुने गरेको छ । दैनिकरुपमा इमर्जेन्सीमा उपचारका लागि आउने बिरामीलाई राख्न बेड अभाव भएपछि एउटै बेडमा एकभन्दा बढी बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था बनेको छ ।
इमर्जेन्सीमा बेडको अभाव हुँदा ३ जनासम्म राखेर उपचार गराउनु परेको हेटौंडा अस्पतालका डा. मिथिलेश ठाकुरले जानकारी दिनुभयो । अस्पतलमा बेड अभाव हुँदा एउटै बेडमा धेरैजना बिरामी राखेर उपचार गराउनुपरेको डा. ठाकुरले बताउनुभयो । कोरोनाको जोखिम भन्दै स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आदेश दिए पनि अस्पातलमा उपचारका लागि एउटै बेडमा ३ जना बिरामी राख्नु बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालको इमर्जेन्सीमा रुघाखोकी, पेट दुख्ने, ज्वरो, दम, टाउको दुख्नेदेखि किड्नीका विरामीसमेत जँचाउन आउने गरेका छन् । कुनै पनि रोगका बिरामी आएपछि ल्याबमा पिसाब, रगत, दिसा आदि जाँच गर्न पठाइने गरेको भएपनि ल्याबले रिपोर्ट दिन ढिला गर्दा बिरामी तथा आफन्तलाई हैरानी भइरहेको छ । इमर्जेन्सीमा ल्याएका बिरामीको ल्याब रिपोर्टका लागि घण्टौं कुर्नुपर्ने अवस्था छ ।
९० वर्षका हजुरबुवाको उपचारका लागि बिहान ९ बजे हेटौंडा अस्पतालको इमर्जेन्सीमा उपचारका लागि आउनुभएका भीमफेदीका उत्सव पुडासैनीले ल्याबको रिपोर्ट आउन ढिला भएका कारण ५ घण्टा इमर्जेन्सीमा बस्नुपरेको बताउनुभयो । रक्तचाप तथा मृगौलाका बिरामी हजुरबुवाको पिसाब बन्द भएपछि अस्पतालमा ल्याएको भए पनि पिसाब र रगतको रिपोर्ट आउन समय लागेपछि ५ घण्टामा डाक्टरले औषधि लेखिदिएपछि घर जान लागेको पुडासैनीले जानकारी दिनुभयो । इमर्जेन्सीमा धेरै बिरामी भएका बेला एउटा बेडमा २ जना राख्ने गरेको पुडासैनीले बताउनुभयो ।
हेटौंडा–२, वनस्खण्डीका ७६ वर्षीया कान्छी नेपालीलाई छाती पोल्ने र दम बढेपछि इमर्जेन्सीमा उपचारका लागि ल्याइएको मीरा नेपालीले बताउनुभयो । उहाँको पनि पिसाब र रगतको रिपोर्ट आउन ढिला भएकाले कुरेर बसेको मीराले जानकारी दिनुभयो । यस्तै, हेटौंडा, कमानेका कृष्णबहादुर बस्नेत वान्ता, खोकी र पेट दुख्ने समस्या भएपछि उपचारका लागि आउनुभएको हो । इमर्जेन्सीमा डाक्टरले उचित सेवा सुविधा दिएर उपचार गराए पनि ल्याबको रिपोर्टले ढिला हुने गरेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७६/०७७ मा हेटौंडा अस्पतालको इमर्जेन्सीमा १५ हजार २ सय ८१ जना पुरुष २० हजार ९ सय ३० जना महिला उपचार गराउन आएको अस्पतालको तथ्यांक छ । चालु आर्थिक वर्षको चैतसम्म ९ हजारभन्दा बढी पुरुष र करिब १२ हजार महिलाले इमर्जेन्सीबाट उपचार सेवा लिएको हेटौंडा अस्पातलका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभएको छ ।
अहिले कोरोना भाइरसको महामारीमा यसरी धेरैजना बिरामीलाई एउटै बेडमा राखेर उपचार गरिनु उचित नहुने अस्पताल आएका बिरामी तथा आफन्तको भनाई छ । बिरामीहरुमा फरकफरक किसिमका रोग लाग्ने हुँदा एकापसमा रोगको संक्रमण सर्नसक्ने भएकाले विरामी तथा आफन्तले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका हुन् ।