हेटौंडाः केही समययता वन्यजन्तुको मृत्यु अत्याधिक हुन थालेपछि हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) का विद्यार्थीहरुले वन्यजन्तुको संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । विगतका दिनमा वन्यजन्तुको संरक्षणमा कसैले पनि चासो नदेखाएको भन्दै विद्यार्थीले वन्यजन्तु संरक्षणका लागि विभिन्न कार्यक्रमहरुसमेत सुरु गरेका छन् ।
‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मुल नाराका साथ फरेष्ट्री क्याम्पसमा २६ औं वन्यजन्तु सप्ताह–२०७८ चलिरहेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा बैशाख १ गते बुधबारबाट सुरु गरिएको कार्यक्रम फरेष्ट्री क्याम्पस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरुको संयुक्त सहकार्यमा भइरहेको छ । कार्यक्रम संयोजक सुजन खतिवडाले वन्यजन्तुको संरक्षणका लागि क्याम्पसमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
फरेष्ट्री क्षेत्रमा भएका सरिसृप तथा उभयचर वर्गका विभिन्न जीवहरु, चित्तल, कछुवा, बदे“ल, स्याल, चरीबाघलगायत स्तनधारी जनावरको संरक्षणमा कसैले चासो नदेखाएका कारण आवश्यक कार्य गर्नका लागि पनि कार्यक्रम आयोजना गरिएको खतिवडाको भनाई छ । एक सप्ताहको कार्यक्रममा १ गते कार्यक्रमको उद्घाटनका साथै कछुवाको प्रजाति र संरक्षणका लागि क्याम्पस परिसरमा जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको थियो ।
केही महिनायता कुकुरको आक्रमणका कारण चित्तलको मृत्यु बढ्दै गएको भन्दै २ गते दोस्रो दिन फरेष्ट्री क्याम्पस क्षेत्रमा कुकुरको अवस्थाको बारेमा अध्ययन गरिएको छ । कोरोनाका कारण भएको लकडाउन र त्यसयता कुकुरको आक्रमणबाट फरेष्ट्री क्याम्पस क्षेत्रका १७ चित्तलको मृत्यु भएको खतिवडाले जानकारी दिनुभयो । जसमा गएको चैत महिनामा मात्र ६ वटा चित्तल कुकुरको आक्रमणबाट मरेका छन् ।
३ गते वन्यजन्तुको अवस्थाबारे थाहा पाउन र गणना गर्न अत्यावश्यक पर्ने क्यामेरा ट्रयापिङको विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । करिब ८ सय विद्यार्थी अध्ययन गर्ने फरेष्ट्री क्याम्पस क्षेत्रभित्र वन्यजन्तु के कति छ भनेर वास्तविक तथ्य नभएका कारण वन्यजन्तु मरेको अवस्थामा बाहेक चोरीशिकारी भएको थाहा नभएको खतिवडाको भनाई छ । क्याम्पसमा कार्यरत पुराना कर्मचारीसँग बुझ्दा १५ वर्षअघि ४ सयको हाराहारीमा भएको चित्तल अहिले बढीमा १ सय ५० जतिमात्र भएको पनि उहाँले बताउनुभयो ।
वन्यजन्तुको यकिन तथ्याङ्क संकलन गर्ने प्रयासहरु पनि भइरहेको खतिवडाले जानकारी दिनुभयो । ९५ हेक्टरमा फैलिएको फरेष्ट्री क्याम्पस क्षेत्रमा खुला सिमाना, वन्यजन्तुको चरण क्षेत्रबाट माटो खन्ने कामले गर्दा वन्यजन्तुलाई आवश्यक पर्ने खाना र पानीको अभावका कारण चित्तललगायतका वन्यजन्तु कर्रा र राप्ती खोलामा निस्किने हुँदा कुकुरको आक्रमण र शिकारीको आक्रमणका कारण वन्यजन्तु हराउँदै गएको उहाँको भनाई छ ।
राप्ती तटमा फालिएको फोहोरका कारण चित्तल, बाँदरले प्लास्टिक खाएर बिरामी परेको भेटिएको कारण त्यसको व्यवस्थापन गर्न विद्यार्थीहरुले माग गरेका छन् । विद्यार्थीको निगरानीका कारण चोरीशिकारी भने कम भएको संयोजक खतिवडाले बताउनुभयो । यस्तै ४ गते वन्यजन्तु संरक्षणमा लागि जनचेतनामूलक र्याली र ५ गते चित्तलको लागि वनमा आवश्यक पानीको व्यवस्था गर्न सर्वेक्षण कार्यक्रम हुने जनाइएको छ । सर्वेक्षणपछि पानी राख्ने कार्यक्रमकका लागि हेटौंडा उपमहानगरपालिकाको आर्थिक व्यवस्थापनमा पानी ट्याङ्कीसहित वन्यजन्तुलाई पानीको व्यवस्था गरिने भएको छ ।
६ गते वन्यजन्तुको अवस्था र संरक्षणका बारेमा प्रस्तुतिकरण प्रतियोगिता र ७ गते पुरस्कार वितरण र समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।