बारीमा मकै नछरिएको अवस्था ।

हेटौंडाः अहिले मकै छर्ने बेला भएपनि मकवानपुर जिल्लाका अधिकांश स्थानका बारीमा मकै छरिएको छैन । चैत महिनादेखि नै मकै छर्न सुरु गरिने गरिएको भए पनि वैशाखा लागिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नसकिएको हो ।

आफ्नो बारीमा सिंचाई सुविधा नभएका कारण मकै छर्न नसकेको हेटौंडा–१३ का कृषक शर्मिला लामाले बताउनुभयो । ‘चैत महिनादेखि मकै छर्न सुरु गथ्र्यौं, लामाले भन्नुभयो– ‘पानी नपरेपछि बैशाख महिना लाग्दा पनि कसैले मकै छरेका छैनन् ।’ पानीबिना मकैका साथै तरकारी पनि उत्पादन गर्न नसक्ने स्थिति भएकाले किसानहरु चिन्तित बनेको लामाले बताउनुभयो । सिजनअनुसार बाली लगाउन नपाएपछि किसानहरु मर्कामा पर्ने भन्दै लामाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी हेटौंडा–१३, पदमपोखरीस्थित गोठदामारका किसान सुनिता स्याङ्तानले समयमा पानी नपर्दा खेती गर्ने बेला बजारमा लेवरको काम गरेर हिँड्नुपरेको बताउनुभयो । पहिला ब्रोइलर कुखुरा पाल्नुभएका स्याङ्तानले मुनाफा नभपछि कुखुरा पालन व्यवसाय छोड्नुभएको थियो । आफ्नै जमिनमा कृषि कार्य गरेर खान खोज्दा पनि कहिले पानी नपर्ने, कहिले गरेको व्यवसायबाट मुनाफा नहुने हुँदा २ जना सानो छोरालाई घरमा छाडेर श्रीमानसँगै काममा हिँड्नुपरेको उहाँले बताउनुभयो ।

व्यवसाय गर्नेहरूलाई स्थानीय तहबाट सहयोग हुनुपर्ने भन्दै मौसमअनुसारको बाली लगाउन पानी नपरेपछि बेमौसमी तरकारी खेती गरेर व्यवसाय गर्न सम्बन्धित निकायले किसानलाई तालिम दिनुपर्ने उहाँले माग गर्नुभयो । अहिले किसानहरु दुःखको अवस्थामा रहेकाले सिंचाई गरेर मकै खेती गर्न उपयुक्त नहुने हुँदा यसमा सरकारको ध्यानाकर्षण हुनुपर्ने स्याङ्तानले बताउनुभयो ।

हेटौंडा–१३, मेम्बरटोलका वीपीकुमारी थिङ पनि समयमा पानी नपर्दा आफूले गर्दै आएको खेती पनि गर्न नपाएको गुनासो गर्नुहुन्छ । कृषिमा युवालाई प्रोत्साहन गरी आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने थिङले बताउनुभयो । कृषि पेशा गरेर जीविकोपार्जन गरिरहेकाहरुलाई मौसमले पनि साथ नदिएर निराश पारेको उहाँले बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन सरकारले अनुगमन गरी सबै ठाउँमा कृषि पेशामा आकर्षित गर्नुपर्नेमा थिङको जोड रहेको छ । नेपाल कृषिप्रधान देश भएपनि बर्षेनि कृषि पेशा गरेर राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्‍याउनुको सट्टा कृषि पेशा गर्ने घट्दो अवस्था रहेको भन्नुहुँदै उहाँले दुःख व्यक्त गर्नुभएको छ ।