शनिबार काठमाडौंमा ‘सनैया’ सार्वजनिक गर्नु हुँदै पुस्तकका लेखक होम कार्की र ‘सनैया’ पात्र चापागाई दम्पत्ति ।

हेटौंडाः काठमाडौंमा रहेर श्रमसम्बन्धमा समाचार लेखिरहनुभएका हेटौंडाका पत्रकार होम कार्कीको कृति ‘सनैया’ शनिबार सार्वजनिक भएको छ । किताब पब्लिसर्सले काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच ‘सनैया’ सार्वजनिक गरेको हो । ‘सनैया’ कै पात्रद्वय यमनाथ चापागाई र खिमकला चापागाईसहित लेखक कार्कीले संयुक्त रुपमा ‘सनैया’ सार्वजनिक गर्नुभएको हो ।

रुपन्देही जिल्लाका चापागाई दम्पत्ति रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहँदाको प्रसंगलाई पत्रकार कार्कीले ‘सनैया’ मा समेट्नु भएको छ । गत सोमबार नै बजारमा पुस्तक विक्री सुरु गरिए पनि किताप पब्लिसर्सले शनिबार औपचारिक रुपमा कार्कीको पहिलो कृति औपचारिक रुपमा सार्वजनिक गरेको हो । पहिलो कृति ‘सनैया’ सार्वजनिक गर्ने समारोह सुन्दर र उत्साहपूर्ण भएको लेखक कार्कीले बताउनुभएको छ । एक दशकभन्दा बढी समयदेखि होम कार्कीले खाडी मुलुक कतारलाई केन्द्र बनाएर कतारबाट तथा काठमाडौंमा रहेर कान्तिपुर दैनिकमा समाचार लेखिरहनुभएको छ ।

‘सनैया’ सार्वजनिक गर्न आयोजित समारोहमा पुस्तकमा हस्ताक्षर गर्नुहुँदै लेखक होम कार्की ।

पुस्तक सार्वजनिक गर्ने समारोहमै वैदेशिक रोजगारीको क्षेत्रका बारेमा छलफल समेत गरिएको थियो । कान्तिपुरकै पत्रकार देवेन्द्र भट्टराईले सहजीकरण गर्नुभएको छलफलमा समाजशास्त्री एवम् श्रमविज्ञ डा. गणेश गुरुङ, सांसद एवम् ट्रेड युनियनकर्मी डा. विन्दा पाण्डे, नेपाल सरकारका पूर्व सचिव एवम् श्रम–प्रशासन विज्ञ पूर्णचन्द्र भट्टराई र लेखक होम कार्कीले वैदेशिक रोजगारीको क्षेत्रका बारेमा चर्चा गर्नुभएको थियो ।

कृति सार्वजनिक भएको पहिलो सातामै देश तथा विदेशबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी गराउनुहुँदै लेखक होम कार्कीले ‘सनैया’ को गृहनगर हेटौंडामा पनि सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरिने बताउनुभएको छ । ४ वर्ष कतारमा बसेर खाडी मुलुकमा नेपाली श्रमिकका समस्यामा समाचार लेख्नुभएका कार्कीले श्रमसम्बन्धी विषयलाई बुझ्न आफ्नो कृति सरोकारवालालाई उपयोगी हुने दावी गर्नुभएको छ ।