हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरको निर्वाचनका लागि आज आइतबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । महासंघको पूर्वघोषित निर्वाचन कार्यक्रमअन्तर्गत् मकवानपुर शाखा कार्यसमिति निर्वाचनका लागि विहान ११ बजेदेखि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु हुने भएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति तथा प्रदेश समितिको निर्वाचनका लागि यसअघि नै उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । महासंघको सबै तहको मतदान कार्यक्रम भने चैत २५ गते हुनेछ । महासंघको मकवानपुर शाखा कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, समावेशी सचिव तथा कोषाध्यक्ष पदमा एक–एक जना पदाधिकारीका लागि निर्वाचन हुनेछ । यस्तै, कार्यसमिति सदस्यतर्फ ६ जना खुला, एकजना महिला, एकजना दलित, एकजना आदिवासी जनजाति, एकजना मधेशी र एकजना अन्य समावेशी सदस्यका लागि मतदान हुनेछ ।

एक सय ६४ जना सदस्य रहेको महासंघको मकवानपुर शाखाको नेतृत्व लिन पत्रकारहरु प्यानल बनाएर तथा एकल प्रतिस्पर्धामा उत्रिने भएका छन् । अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीका लागि यसअघि नै केही पत्रकारहरुले आ–आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन् ।