हेटौंडाः राष्ट्रपति रनिङ शिल्डको हेटौंडा उपमहानगर छनोट अन्तर्गत मार्सल आर्टका छनोट भएको छ । हेटौडा उपमहानगरपालिकास्तरीय छनोट यही चैत्र २६ र २७ गते हुने भए पनि कराँते, तेक्वान्दो र उसुका खेलाडी छनोट गरिएको सम्बन्धित संघहरुले जनाएका छन् ।
सिद्धार्थ माविको व्यवस्थापनमा भएको छनोटमा सितेरियो कराँतेको छात्रतर्फ ४२ केजी तौल समुहमा महेन्द्र किरण माविका अतित बल र र ५२ केजी तौल समूहमा अभिषेक बल लामा छनोट भएका छन् । यस्तै ४७ केजी तौल समूहमा भुटनदेवी माविका आशिष बानियाँ छनोट भएका करा“ते प्रशिक्षक विष्णुभक्त लामाले जानकारी दिनुभएको छ । यस्तै छात्रातर्फ ४० केजी तौल समूहमा बाल उज्जल माविका सलिना पाख्रिन र ४५ केजी तौल समूहमा श्रृष्टी घलान तथा ५० केजी तौल समुहमा चुरियामाई माविकी सेसना गुम्बा छनौट भएका छन् ।
यस्तै उसुतर्फ छान् क्वानमा सोलिड्यारिटीका प्रतिक ठकुरी र आमसाईकी नुवा भ्लोन, नान्क्वानमा आमसाईका सुरज बस्नेत तथा प्रगति माविकी छिरिङ डोल्मा सिन्तान तथा ताईची क्वानमा आधुनिकका सेवित थापा र जीएस निकेतनकी रितिका केसी छनोट भएका उसु प्रशिक्षक विमल थापा मगरले जानकारी दिनुभएको छ ।
यस्तै तेक्वान्दोमा छात्रातर्फ ४२ केजी तौल समूहमा जनप्रिय माविकी कविना राई र ४६ केजी तौल समूहमा रुविसा राई तथा ४४ केजी तौल समूहमा आधुनिक माविकी क्रिस्मा ब्लोन छनोट भएका छन् । यस्तै छात्रतर्फ ४५ केजी तौल समूहमा सिद्धार्थ माविका युसुफ हुसेन, ४८ केजी तौल समूहमा चन्द्रोदय माविका रमेश अधिकारी र ५१ केजी तौल समूहमा त्रिभुवन मावि हटियाका अभिषेक बानियाँ छनौट भएका छन् ।
मार्सल आर्टमा नगरबाट छनोट भएका खेलाडीहरुले यही चैत्र २८ गते जिल्लास्तरीय प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्ने मकवानपुर खेलकुद विकास समितिले जनाएको छ । नगरस्तीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो ।