नेपालको आकास केही दिनदेखि तुँवालो तथा धुवाँले ढाकेको छ । जसले मानव स्वास्थ्यलाई नराम्रो प्रभाव पारिरहेको छ । विश्वकै प्रदुषित सहरमा काठमाडौं भएको छ । पर्याप्त वन क्षेत्र, हरियाली तथा हिमाली मनोरमबाट चिनिँदै आएको नेपालको भूगोल यतिबेला प्रदुषित भएको छ । तर सरोकारवाला निकायलाई कुनै चासो र चिन्ता देखिँदैन । न नागरिक तहबाटै कुनै अभियान सञ्चालन हुन सकेको छ । सबै पक्षबाट बढ्दै गएको प्रदुषण प्रति दुखेसो व्यक्त भएका छन् तर समाधानका लागि योजना र अभियान छैनन् । वन संरक्षणका लागि प्रत्येक टोलहरुमा समुह गठन भएका छन् । तर ती समुहले पनि डँढेलोबाट जोगाउन सेकको देखिँदैन । जानी नजानी लाग्ने डँढेलो र त्यसबाट निस्कने धुवाँ नै यतिबेला वायु प्रदुषणको मुख्य कारण बन्दै गएको देखिएको छ ।
डँढेलोको प्रकोपमा यतिबेला मकवानपुरका वन क्षेत्र पनि प्रभावित भएको छ । विगतको तुलनामा यस बर्ष मकवानपुरमा वनमा बढी आगो लागेको देखिन्छ । बागमती प्रदेशको राजधानी हेटौंडा नगरक्षेत्रकै जंगलहरु पनि जोगाउन सकिएको छैन । मुख्यमन्त्रीको कार्यालय तथा निवास, वन मन्त्रालय, डिभिजन वन कार्यालयसँगैको जंगलमा आगो लागिरहेको छ । तर नियन्त्रणका लागि पहल भएको छैन । पूर्व तयारी र सावधानी नहुँदा प्रत्येक बर्ष जिल्ला भित्रकै जंगल सखाप हुँदै आएका छन् । त्यतिमात्र होइन कि नजिकैका घर समेत आगलागीमा परेर मानिसहरु विस्थापित भएका छन् । डँढेलो सामान्यतः फागुन महिनादेखि लाग्ने गर्दछ । तर त्यसअघि नै डँढेलो नियन्त्रणका उपायको खोजी किन गरिँदैन भन्ने प्रश्न यतिबेला उठेको छ ।
नेपालका जंगलमा लगातार लागेको डँढेलो नियन्त्रणमा कठिनाई भइरहँदा यसको जोखिम उच्च हुँदै गएको छ । बस्तीमा डँढेलो पस्नेदेखि घरपालुवा जनावर खतरामा परेका छन् । जंगली जनावर त नासिँदै जाने अवस्था छ । बासस्थान नै आगोले नष्ट गरिदिएपछि उनीहरु भाग्न वा डँढेलोमा पर्नेको संख्या बढ्दै गएको छ । डँढेलोका कारण हावासँगै उडेको धुवाँले विशेषगरी आँखामा समस्या हुन थालेको छ । अन्य दीर्घरोग समेत निम्तने विज्ञहरुले चेतावनी दिइरहेका छन् । यस्तो समस्या यो बर्ष मात्र आएको होईन । यो मौसममा आगलागी हुन्छ भन्ने पूर्वअनुमान सम्बन्धित पक्षलाई नहुने भन्ने कुरै हुँदैन । तर किन नियन्त्रणका लागि ठोस योजना बनाइँदैन । यस्तै उपभोक्ताहरुबाट पनि आफ्नो वन क्षेत्रलाई जोगाउने उपायका लागि सक्रियता देखिएको अवस्था छैन ।
बढ्दो औद्योगिकीकरण, वन विनास, डँढेलो तथा आगजनी, इँटा उद्योगदेखि सडकको दुरावस्था तथा सवारी साधनबाट निष्कने धुवाँ आदिले वातावरण बिग्रँदै गएको छ । मानव क्रियाकलापले जलवायु परिवर्तनमा नकारात्मक प्रभाव परेको छ । यसलाई रोक्नका लागि पहिलो सर्त हो वन क्षेत्रको विस्तार तथा संरक्षण । वनक्षेत्रको संरक्षणमा पहिलो जिम्मेवारी स्थानीय उपभोक्ताहरुको नै हो । राज्यको मात्र मुख ताक्ने भन्दा समुहगत रुपमा नै वनलाई आगोबाट जोगाउने र आगलागी भइहाले नियन्त्रणमा लिन परम्परागत उपायदेखि आधुनिक प्रविधिको समेत प्रयोग गरिनु जरुरी छ । विशेषगरी वनमा हुने आगलागीका कारण अध्ययन र विश्लेषण गरी ठोस योजना र कार्यक्रम बनाउन आवश्यक छ ।