हेटौंडाः हेटौंडाका पत्रकार होम कार्कीले लेख्नुभएको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको छ । खाडी मुलुकमा मजदुरी गर्ने नेपालीका दुख र सुखका प्रसंगमा आधारित भएर ‘सनैया’ तयार भएको लेखक कार्कीको भनाइ छ । सोमबार काठमाडौंमा सार्वजनिक भएको ‘सनैया’ मंगलबारबाट देशका प्रमुख सहरमा उपलब्ध हुनेछ ।
‘सनैया’मा नेपाली मजदुरका भोगाईलाई प्रस्तुत गरिएको उल्लेख गर्नुहुँदै पत्रकार कार्कीले कतारमा रहेर काम गर्ने क्रममा हासिल गरेको अनुभव, खाडी मुलुकका श्रम सम्बन्धी कानुनी व्यवस्था र नेपाली मजदुरले भोग्नु परेका समस्याका विषयलाई ‘सनैया’मा समेटिएको बताउनुभएको छ । नेपाल सरकारको श्रमसम्बन्धी नीति र खाडीका मजदुरले भोग्नुपरेका समस्यालाई समेत प्रस्तुत गरिएकोले बैदेशिक रोजगारीका विषयमा जान्न चाहनेका लागि ‘सनैया’ महत्वपूर्ण दस्तावेज हुने पत्रकार कार्कीको दावी छ ।
‘सनैया’ मा १८ अध्याय रहेका छन् । परिवारको सुखका लागि खाडीमा भासिएका देशका युवाको कथा लेख्दै गर्दा हरेक दिन जसो दुखी हुनुपरेको भोगाईहरु ‘सनैया’ मा समेटिएको लेखक होम कार्कीको भनाइ छ । ‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्नुहुन्, ‘यो किताब त्यसैको परिणाम हो ।’ खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारस“ग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा ‘सनैया’ तयार पारिएको कार्कीले बताउनुभयो ।
कान्तिपुर कतार संस्करणका लागि खाडी मुलुक कतारमा रहेर काम गर्ने क्रममा पत्रकार कार्कीले साउदी अरब, कुवेत, बहराईन, ओमान र युएईमा नेपाली मजदुरका दुखका धेरै, सुखका नगन्य विषयमा समाचार लेख्नुभएको थियो । कार्कीले सन् २०१२ देखि २०१६ सम्म कान्तिपुर कतार संस्करणमा काम गर्नुभएको थियो । नेपालमै रहँदा पनि श्रम बिटमा काम गर्नुभएका कार्की कान्तिपुरले कतार संस्करण बन्द गरेपछि काठमाडौंमै रहेर पनि खाडी मुलुकमा कार्यरत नेपाली मजदुरकै विषयमा लेखिरहनुभएको छ ।
कान्तिपुरका लागि काठमाडौंबाटै खाडी मुलुकको समाचार लेख्नुहुने कार्की आवश्यकताअनुसार खाडी मुलुकमै पुग्ने गर्नुभएको छ । पत्रकारिता विषयमा दश जोड दुई तह र स्नातक तह हेटौंडामै अध्ययन गर्नुभएका कार्की हेटौंडामा रहनुहुँदा हेटौंडा सन्देश दैनिकमा आवद्ध हुनुहुन्थ्यो । स्नात्तकोत्तर तह अध्ययन गर्न काठमाडौं गएपछि कार्की कान्तिपुर दैनिकमा आवद्ध हुनुभएको हो ।