श्रीपुर (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजनामा बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । बकैया–५ स्थित प्रभात मावि परिसरमा शुक्रबार र शनिबार दुईदिनका लागि आयोजना गरिएको साहित्य महोत्सवको पहिलो दिन मकवानपुरको बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले रचना वाचन गरेका छन् ।

बकैया साहित्य महोत्सवको पहिलो दिन शुक्रबार बकैया गाउँपालिकाका प्रभात मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव आधारभूत विद्यालय, माटोकोरी आधारभूत विद्यालय, कर्मप्राप्ती मावि, जनक मावि, कालीदेवी मावि र सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले रचनावाचन गरेका छन् । यस्तै हेटौंडा उपमहानगरक्षेत्रमा रहेका नवोदय शिशु सदन, जीएस निकेतन, ब्रह्मदिक, चन्द्रोदय मावि, अमर मावि, प्रगति मावि, मकवानपुर बाल विद्या सदनका विद्यार्थीले कविता, गजल, मुक्तक, गजल वाचन गर्नुका साथै केही विद्यार्थीले गायन तथा नृत्यकला समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षकहरुले पनि रचना वाचन गरेका थिए ।

साहित्यक रचना वाचन गर्ने विद्यार्थीलाई जीएस निकेतन माविका विद्यार्थीले एक एक थान साहित्यिक पुस्तक समेत उपहार प्रदान गरेका थिए । जीएस निकेतनका ३५ जना विद्यार्थीले पढेका राम्रा पुस्तक ३५ थान र जीएस निकेतनको तर्फबाट थप १५ थान गरी ५० थान पुस्तक महोसत्वमा रचनावाचन गर्ने विद्यार्थीलाई उपहार प्रदान गरिएको हो ।

महोत्सवको पहिलो दिन विद्यार्थी तथा शिक्षकको रचनावाचनपछि पठन संस्कृतिको अवस्थाका विषयमा अन्तरक्रियाको आयोजना गरिएको थियो । अन्तरक्रियामा वक्ताको रुपमा बकैया गाउ“पालिकास्थित महेन्द्र माविका सहायक प्रधानाध्यापक उद्धव सापकोटा, प्रभात माविकी शिक्षक लक्ष्मी जिम्बा, कालीदेवी माविका विद्यार्थी निराजन नेपाल, समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र हेटौंडास्थित नवोदय माविकी छात्रा इलिशा पराजुली रहनुभएको थियो । अन्तरक्रियालाई झरना साहित्यिक परिवारका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले सहजीकरण गर्नुभएको थियो ।

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन समारोहमा बकैया गाउँपालिकाका ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, ५ नम्बर वडा अध्यक्ष शेरमान घलान, झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेश मोहन अधिकारी, संस्थापक जनार्दन खनाल र परशुराम गौतम, साहित्यकार भीम खतिवडा, रुकु कार्की, साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरआर चौलागाई, प्रभात मावि व्यवस्थापन समितिका अध्यक्ष देवजीत जिम्बा, प्रधानाध्यापक सुरेन्द्र लामाको पनि उपस्थिति रहेको थियो ।