हेटौंडाः निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ । यस वर्ष ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रदेशस्तरीय राष्ट्रिय प्रजातन्त्र दिवस आयोजक मुल समारोह समितिको आयोजनामा शुक्रबार प्रभातफेरीसहित सभाको आयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ । भूटनदेवी माध्यमिक विद्यालयको चौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सभामा परिणत भएको थियो ।
सभामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्र वा लोकतन्त्र निर्विकल्प रहेको बताउँदै प्रजातन्त्रलाई छाडातन्त्र, मनपरीतन्त्रको रुपमा व्याख्या गर्दै देशलाई अराजकता तर्फ धकेल्ने प्रयासहरु पनि हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । प्रजातन्त्रको मुल मर्ममाथिको प्रहारले जनभावनामा कुठाराघात भएको भन्दै मुख्यमन्त्री पौडेलले जनताबाट पर भागेर होइन, जनताको वीचमा रहेरमात्र प्रजातन्त्र वा लोकतन्त्रलाई मजबुत बनाउन सकिने बताउनुभयो । राजनीतिक अधिकार प्राप्तिको लागि लड्नुपर्ने अवस्थाको अन्त्य भइसकेको भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘अहिले हामी सबैको एउटै कार्यभार हो, विकास र समृद्धि ।’
प्रजातन्त्र दिवस आयोजक मुल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘जनताको जीवनमा नदेखिने र जनताको जीवनलाई नछुने परिवर्तनको कुनै अर्थ छैन । व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्न सक्दामात्र हामीले उज्यालो भविष्यको निर्माण गर्न सक्छौं ।’ दोष लगाउन र उम्किनका लागि अब हामीसँग विगतमा जस्तो राजा महाराजाहरु नभएकाले हामी आँफैंले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्ने उहाँले बताउनुभयो ।
स्रोत र साधनमा नेपाल समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । ‘लामो समयदेखि हाम्रा हजारौं युवाहरु विदेश पलायन हुने क्रम रोकिएको छैन’ मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनियाँ तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिनप्रति दिन सरल र सहज बन्दै गइरहेका छन्, तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन ।’
मुख्यमन्त्री पौडेलले शहीदले देखेका सपना र जनताले सुम्पिएका महत्वपूर्ण अभिभारा पूरा गर्न सरकारले थुप्रै काम गरेको दाबी गर्नुभयो । विश्वमञ्चमा सार्वभौम देशको हैसियतमा बलियोसँग उपस्थित हुने अवस्था निर्माण भएको र सानो देशका गरिब जनता भन्ने हीन भावनाबाट मुक्ति मिलेको भन्दै मुख्यमन्त्री पौडेलले भूगोल सानोठूलो होला, स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले १ सय ४ वर्षे राणा शासनको अन्त्य गर्दै ल्याएको प्रजातन्त्रको मूल्य, मान्यतालाई जोगाउन सबै राजनीतिक दलको भूमिका रहने बताउनुभयो । मुलुकको प्रजातान्त्रिक इतिहासका साथै राजनीतिक परिवर्तनमा बलिदान दिएका महान शहीदहरुको योगदानलाई सधैं स्मरण गर्नुपर्नेमा बानियाँले जोड दिनुभयो । जनताको रगत पसिनाबाट प्राप्त भएको प्रजातन्त्र तथा संघीयता अहिले पनि संकटमा रहेको भन्दै उहाँले मुलुकलाई समृद्व बनाउन सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झण्डोत्तोलन गरिनुका साथै नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । प्रजातन्त्र दिवसको अवसरमा तीन दिनसम्म भएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । प्रजातन्त्र दिवसका अवसरमा हेटौंडामा अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफूल वितरण, खुला दौड प्रतियोगिता, म्यूजिकल थेरापीलगायत कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधिहरु, स्काउट, विद्यार्थी, खेलाडीलगायतको उपस्थिति थियो ।