सभामुख सानुकुमार श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक बस्न नसक्नुमा आफ्नो कुनै गलत आशय नभएको दावी गर्नुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल भइसकेको अवस्थामा प्रदेश सभाको बैठक आव्हान गरेर पनि स्थगित भएपछि सभामुखले नियतवस बैठक स्थगित गरेको भन्ने आरोप लाग्दै आएको थियो ।

सभामुख श्रेष्ठले शुक्रबार प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गरेर कार्यव्यवस्था परामर्श समितिमा सत्तारुढ दल, अविश्वासको प्रस्ताव दर्ता गराउने समूह र प्रमुख प्रतिपक्षी दलका नेताहरुकै सहमतिमा बैठक स्थगित गरिएको बताउनुभयो । अविश्वासको प्रस्तावलाई प्रदेश सभामा प्रक्रियामा लैजान कार्यविधि तयार हुन नसक्नुले पनि समस्या भएको सभामुख श्रेष्ठले स्पष्ट पार्नुभयो । सभामुखले कुनै दल वा दलको समूह विशेषको चासोमा प्रदेश सभालाई सञ्चालन नगरेको र त्यसो नगर्ने पनि स्पष्ट पार्नुभयो ।

पत्रकारहरुसँग कुरा गर्नुहुँदै उहाँले प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि पारित गरेलगत्तै प्रदेश सभाको बैठकको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । सभामुख सम्पर्कबिहिन भएको भन्ने प्रदेश सभा सदस्यहरुको गुनासो गरेको भन्ने पत्रकारको प्रश्नमा सभामुखले भन्नुभयो, ‘म सरकारी सुरक्षाकर्मीकै घेरामा छु । सम्पर्कबिहिन भयो भन्ने कसरी पुष्टि हुन्छ ?’