हेटौंडाः विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका विद्यार्थीहरु शुभद्रा उप्रेती, अमित यादव र मानव यादवको समूह प्रथम भएका छन् । प्रतियोगितामा सहभागी ६ वटा विद्यालयका विद्यार्थीको समूहमध्ये आधुनिक राष्ट्रिय माविका विद्यार्थीको समूह प्रथम भएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा बिहीबार हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशल स्कूल परिसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका आधुनिक राष्ट्रिय माविका विद्यार्थी समूहले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी त्रिभुवन माविका विद्यार्थीहरु कृपा चौरेल, अञ्जन बर्तौला र सम्पूर्णा ढकालको समूह द्वितीय हुँदा भुटनदेवी माविका विद्यार्थीहरु सन्दिप धमला, प्रदीपप्रसाद यादव र दिप्सा जोशीको समूह तृतीय भएका छन् । सिद्धार्थ माविका स्नेहा प्रधान, उत्सव पुडासैनी र सुलभ पण्डितको समूह सान्त्वना भएका छन् ।

प्रतियोगितामा द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थी समुहले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । बागमती प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले आयोजना गरेको प्रतियोगितामा ६ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी विद्यार्थीलाई आज शुक्रबार आयोजना गरिने प्रजातन्त्र दिवसको मूल कार्यक्रममा नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।