हेटौंडाः काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको दुइवटा वडामा कुखुरामा बर्डफ्लु रोग संक्रमण पुष्टी भएपछि अन्य स्थानमा फैलन नदिन आवश्यक सचेतताको कार्यक्रम अघि बढाइएको छ । बागमती प्रदेशस्तरीय बर्ड फ्लु रोग समन्वय समितिको बुधबार हेटौंडामा बसेको बैठकले रोग नियन्त्रणको लागि विभिन्न ३ वटा निर्णय गरेको छ ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा सरोकारवालाहरुको सहभागितामा भएको बैठकले बर्ड फ्लु रोग समन्वय समिति मार्फत आ–आफ्ना मातहतका कार्यालयहरुलाई जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरी रोग नियन्त्रणमा सहकार्य गर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको छ । बर्ड फ्लू रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न सञ्चार माध्यमहरुद्वारा जनचेतनाकामुलक सूचना तथा प्रविधिको प्रचार–प्रसार गर्ने गराउने पनि निर्णयमा उल्लेख गरिएको छ । त्यस्तै रोग नियन्त्रणका लागि सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय र सहकार्यका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले कार्यपत्र प्रस्तुत गर्दै बर्डफ्लु फैलिएपछि रोकथामका लागि भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार गत माघ १६ गते तारकेश्वर नगरपालिका–७ स्थित साइँलाखोलामा कुखुरामा बर्ड फ्लु रोग संक्रमण देखिएको थियो । बर्डफ्लु पुष्टि भएपछि त्यस वरपरका दुई हजार पाँच सय ४४ वटा पंक्षी, ५ सय ५२ वटा अण्डा र ७५ किलो दाना नष्ट गरिएको थियो ।
त्यसैगरी माघ २८ गते तारकेश्वर नगरपालिकाकै १ नम्बर वडामा पनि माघ २८ गते हाँस र लोकल कुखुरामा बर्डफ्लु पुष्टी भएको थियो । बर्डफ्लु पुष्टी भएसँगै २९ गते त्यस वरपरका एक हजार चार सय ६३ वटा पंक्षी नष्ट गरिएको निमित्त निर्देशक प्रधानले बताउनुभयो । १५ हप्तासम्म काठमाडौंका विभिन्न स्थानीय तहमा परीक्षण जारी राखिने बताइएको छ ।
प्रदेशका अन्य स्थानमा पनि जुनसुकै बेला बर्डफ्लु फैलनसक्ने भएकाले आवश्यक सचेतता अपनाउनुपर्नेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना जोशी वैद्यको जोड थियो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक बब्लु ठाकुरले बैठकको उद्देश्यबारे प्रष्ट्याउनुभएको थियो ।