नेपालमा पछिल्ला वर्षहरुमा महिला तथा बालिका बलात्कार तथा हत्याको ग्राफ ह्वात्तै बढेको छ । दैनिक दर्जनको संख्यामा बलात्कार र हत्या हुँदासमेत कानुनी कारवाही प्रभावकारी हुन सकेको छैन । ऐन कानुनले कारवाही गर्न अवरोध गरेको छैन । तर जिम्मेवार निकायको उदासिनता प्रमुख कारण बनेको छ । बलात्कारपछि हत्या भएका धेरै घटनामध्ये केही विशेष चर्चामा छन् भने अरु घटनाहरु सेलाउने गरेको अवस्था छ । अपराध अनुसन्धानमा नेपालको प्रहरी अब्बल नै मानिन्छ, तर कुनै घटनामा उसले निकै लामो समयसम्म पनि सफलता पाउन सकेको छैन । यस्तै घटनामध्ये निर्मला पन्त बलात्कार र हत्याकाण्ड एक हो । यही क्रममा भागरथी काण्ड पनि जोडिन पुगेको छ ।
घटना हुन वा हुन नदिन सामाजिक बनौट मुख्य पक्ष हो । सामाजिक अवस्था र नागरिक समाजको सक्रिय विरोध वा प्रतिरोध नहुँदा घटना गराउनेहरुको मनोबल बढ्दै गएको अनुमान गर्न सकिन्छ । कहिलेकाहीँ अपराधिका पक्षमा नै समाज विभाजित भएको छ । घटनाको अनुसन्धान गर्नुपर्ने जिम्मेवारी प्रहरी प्रशासनको हो । तर उसलाई आवश्यक सहयोगदेखि दवाव दिने काम नागरिक समाजबाट हुन आवश्यक छ । तर नेपालको नागरिक समाज राजनीतिक घटनाक्रममा मात्र अघि आउने गरेको छ । सामाजिक न्यायका पक्ष र कुरीतिका विरुद्धमा नागरिक समाजले आन्दोलन गरेको पाइएको छैन । नागरिकका लागि न्यायको माध्यम राजनीतिमात्र हो वा सामाजिक अवस्था भन्ने प्रश्नमा बहस आवश्यक छ ।
अपराधविरुद्धमा सामाजिक संस्थाहरु एउटै सिद्धान्तमा रहन सक्नुपर्दछ । तर पीडित र पीडकको राजनीतिक आस्थाका आधारमा विरोध वा समर्थन हुने गरेको पाइन्छ । अपराध गर्नेहरु कुनै दल वा पक्षका हुँदैनन् । जुनसुकै वर्ग, समुदाय र हैसियतको भए पनि अपराधिलाई कानुनले मात्र चिन्नु पर्दछ । यसका लागि नागरिक संस्थादेखि पार्टीगत भातृ संस्थाको सक्रियता आवश्यक छ । तर दलनिकट संगठनहरु न निर्मलाको न्यायका लागि सडकमा आए, न अहिले भागरथी भट्टका लागि नै दवाव दिएका छन् । भाषण गरेको विषयले महिला अस्मितामाथि अतिक्रमण देख्ने त्यस्ता संस्थाहरुले बलात्कार र हत्यामा अस्मिता नदेख्नु आग्रह हैन कसरी भन्ने ? कानुनी कारवाहीका अतिरिक्त अपराधिलाई निरुत्साहित गर्नका लागि नागरिक दवाव आवश्यक छ ।
भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै हेटौंडाको एउटा विद्यालयका विद्यार्थी सडकमा आएका छन् । तर देशभर सञ्चालनमा रहेका हजारौं विद्यालयहरु मौन छन् । यस्ता घटनाविरुद्ध देशभरकै विद्यालयका विद्यार्थीले मात्र प्रदर्शन गर्ने हो भने सरकारलाई दवाव पुग्नेछ भने अपराध गरेर लुकेकै भए पनि उसलाई मनोवैज्ञानिक प्रभाव पर्नेछ । यस्तै दलका भातृ संगठनहरुले पनि अपराधविरुद्ध सामूहिक अभियान सञ्चालन गर्न सक्नुपर्दछ । अपराधिले दलगत आस्थाका आधारमा अपराध गर्ने हैन । त्यसैले सामूहिक प्रयासले मात्र सचेतना बढाउने तथा अपराध मनोवृत्तिलाई निरुत्साहित बनाउन सकिन्छ । तसर्थ अपराधको विरोधमा कन्जुस्याइँ नगरौं । देशभरका सबै विद्यालयले आलोपालोमा अपराध कर्मविरुद्ध आवाज उठाउने योजना बनाऔं ।