कोरोना भाइरसविरुद्धको खोप बनेपछि मानिसले राहतको अनुभूति गरेका छन् । नेपालमा पनि गत हप्ताबाट सुरु भएको खोप अभियानको प्रभावकारिता राम्रो देखिएको छ । तर खोप लगाउनेहरुको संख्या लक्ष्यअनुसार हुन सकेको छैन । खोप लगाउन मानिसहरुमा तँछाडमछाड हुन्छ भन्ने सरकारको अनुमानविपरित लक्ष्य नै पूरा हुन सकेको छैन । खोपका लागि सरकारले लक्षित वर्ग निर्धारण गरेको छ । फ्रन्टलाइनमा रहेर काम गर्नेहरुको तथ्यांक संकलन गरी उनीहरुलाई खोप दिने सरकारी योजना हो । तर लक्ष्य किन पूरा भएन भन्नेबारेमा विश्लेषण आवश्यक देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा चार लाख ३० हजारले खोप लगाउने घोषणा गरे पनि सो संख्याका मानिसले खोप लगाएका छैनन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालक, वृद्धाश्रममा बस्ने र उनीहरुको स्याहारमा खटिने कर्मचारी तथा विमानस्थलमा खटिएका कर्मचारीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । तर सरकारले लगाउने भनेको चार लाख ३० हजारले किन लगाएनन् भन्ने प्रश्न यतिबेला छ । के उनीहरु यसको प्रभावलाई हेरेरमात्र लगाउन बसेका हुन् वा सरकारको तथ्यांक नै गलत हो ? सरकारको लक्ष्यभन्दा पनि कम संख्याका मानिसले मात्र कोरोनाविरुद्धको खोप लगाउनुले अनेक प्रश्न उठाएको छ । विश्वव्यापी महामारीविरुद्धको खोप लगाउन सबै मानिस तयार हुनुपर्ने हो । तर पहिलो चरणको खोप अभियानले कस्तो परिणाम दिने हो भन्ने आशंका जन्माएको छ ।

बागमती प्रदेशमा कोरोना भाइरसविरुद्ध खोप लगाएकामध्ये २ जनामा गम्भीर असर देखिएको छ । तर उनीहरुलाई देखिएको समस्याबारे प्रष्ट पार्नु आवश्यक छ । उनीहरुलाई अस्पतालसम्म पु¥याउनु परेको भनिएपछि समस्याका विषयमा केही उल्लेख गरिएको देखिँदैन । यस्ता कुराले खोप अभियान प्रभावित हुनसक्छ । कोरोनाविरुद्ध खोप आवश्यक भएको र यसबाट नकारात्मक असर पर्नेछैन भन्ने कुरा सुनिश्चित गराउन आवश्यक छ । पछिल्लो तथ्यांकअनुसार यस प्रदेशमा खोप लगाएका ५६ हजारभन्दा बढीमध्ये तीन सय ३४ जनामा खोपको सामान्य असर देखापरेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । यी मानिसहरुमा खोप लगाएको ठाउँमा सामान्य दुखाई, खोप लगाएको स्थानमा रातो भएको तथा जिउ दुख्नेजस्ता अत्यन्त सामान्य असरबाहेक अन्य समस्या नभएको पाइएको छ ।

पहिलो चरणमा खोप लगाएकाहरुलाई एक महिनाभित्र फेरि खोपको दोस्रो डोज लगाउनुपर्ने हुन्छ । पहिलो चरणमा लक्ष्यअनुसार खोप लगाउन मानिसहरु उत्साहित नभएको विषयमा नयाँ रणनीति आवश्यक देखिन्छ । कोरोनाविरुद्धको खोपका विषयमा फैलाइएको हल्लालाई चिर्नु सरकारको पहिलो चुनौती हो । खोप लगाएका मानिसहरुको प्रतिक्रिया, उनीहरुमा देखिएको असर वा पारेको प्रभावको मूल्यांकनका आधारमा मात्र अरु मानिसहरु खोपका लागि तयार हुने अवस्था देखिएको छ । यस्तै सरकारले प्रचार–प्रसारलाई बढाउने, खोपकेन्द्र थप गर्ने, विश्वासिलो वातावरण बनाउने र खोपको आवश्यकताको बोध गराउने अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । खोपका लागि नागरिक स्वतःस्फुर्तरुपमा तयार गराउने गरी राज्यले रणनीति बनाउनुपर्ने आवश्यकता देखिएको छ ।