हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित बालबोध माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाकै पुरानोमध्येको बालबोध माविले वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम, खेलकूद कार्यक्रम तथा पुरस्कार वितरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर बिष्टको सभाध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य शम्भु भण्डारी, पूर्व शिक्षकद्वय शंकरप्रसाद लामिछाने र जनकलाल श्रेष्ठको विशिष्ट आतिथ्यता थियो । यस्तै, वडा सदस्य ईश्वरी सुनार, भीमप्रसाद अधिकारी, टेकप्रसाद तिमल्सिनालगायत विद्यालयका सल्लाहकार, व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघका सदस्यहरुको आतिथ्यता थियो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०७६ मा कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै, आमा अभिभावकको म्युजिकल चियर प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित तहगत विविध कार्यक्रमका प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट वर्ष विद्यार्थी २०७६ बाट कक्षा ९ की छात्रा साक्षी भुजेललाई सम्मान गरिएको थियो । प्राथमिक तहको अनुशासित विद्यार्थी गौरिसा घिमिरे, निमावि तहको अनुशासित विद्यार्थी स्वर्णिका रिजाल तथा मावि तहको अनुशासित विद्यार्थी रनिश्ला अर्याललाई पुरस्कृत गरिएको थियो । सरसफाईतर्फ उत्कृष्ट विद्यार्थीका रुपमा नर्सरी र केजीका क्रमशः अश्लेष दाहाल र रिदिमा भुजेललाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका शिक्षक रमेशकुमार रानाले सञ्चालन गर्नुभएको वार्षिकोत्सव कार्यक्रममा लक्ष्मी चौलागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा अध्यक्ष भैरबबहादुर राई, सल्लाहकार सदस्य राजन भण्डारी, नवराज विष्ट, पुरुषोत्तम अधिकारी, सूर्यबहादुर पाख्रिनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलबहादुर बिष्टले केक काटेर वार्षिकोत्सव कार्यक्रम समापन गर्नुभएको थियो ।