हेटौंडाः हेटौडा उपनगरपालिकाले हेटौंडा–१० मा निर्माण गर्न लागेको बस टर्मिनल भवनसहितको बसपार्कका लागि २० करोड ६९ लाख ९८ हजार रुपैयाँ ऋण लिने भएको छ । उपमहानगरपालिकाले नगर विकास कोषसँग व्यवस्थित वस टर्मिलन भवन निर्माणका लागि ऋण सम्झौता गरेको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा उपमहानगरपालिकाले व्यावसायिक टर्मिनल भवनसहितको व्यवस्थित र सुविधासम्पन्न बसपार्क निर्माण गर्न निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ । बसपार्क निर्माणका लागि आवश्यक ३४ करोड ४९ लाख ९७ हजार रुपैयाँ अनुमानित लागतको ६० प्रतिशत नगर विकास कोषसँग ऋण सम्झौता गरिएको हो । बाँकी ४० प्रतिशत भने उपमहानगरपालिकाले बेहोर्ने बताइएको छ ।
हेटौंडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतबीच ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ ।
ऋण सम्झौतामा हस्ताक्षर गर्दै मेयर महतले नगर विकास कोषसँगको सहकार्यतामा थप नयाँ आयोजना कार्यान्वयन गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले ऋण लगानीबाट पनि दिगो शहरी पूर्वाधार निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कोषका कार्यकारी निर्देशक सापकोटाले कोषको हेटौंडा उपमहानगरपालिकासँगको सम्बन्ध पुनस्र्थापित भएको र सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आयोजनाको परिकल्पनाअनुसारको निर्माण कार्य समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।
देशका पूर्व–पश्चिम तथा काठमाडौंबाट दैनिक हजारौं साना–ठूला यात्रुवाहक सवारी हेटौंडा भएर आवतजावत गर्ने भए पनि हेटौंडामा सुविधासम्पन्न बसपार्क नहुँदा समस्या भइरहेको थियो । उपमहानगरपालिकाले निर्माण गर्न लागेको व्यावसायिक टर्मिनल भवनसहितको बसपार्कले नगरको सौन्दर्यतामा वृद्धि गर्ने विश्वास गरिएको छ । व्यवस्थित र सुविधासम्पन्न बस टर्मिनल भवन निर्माणपछि सानाठूला गरी एक सय ३० वटा सवारी साधन एकैसाथ पार्किङ गर्न सकिने बताइएको छ ।
बसपार्कमा निर्माण हुने व्यावसायिक टर्मिनल भवनभित्रको २ तले बेसमेन्ट पार्किङमा ९० वटा चारपाङ्ग्रे र २ सय ५० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङको सुविधा रहने बताइएको छ । बसपार्क तथा टर्मिनल भवन निर्माण भएपछि हेटौंडा बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गरी पार्किङ व्यवस्थापनमा सहयोग पुग्ने तथा उपमहानगरपालिकाको आन्तरिक आम्दानी वृद्धिसमेत हुने नगरपालिकाले जनाएको छ ।