सत्तामा पुगेका दलहरु राष्ट्रको आवश्यकता भन्दा दलीय र व्यक्तिगत महत्वाकांक्षामा काम गर्न थालेका छन् । देशभित्रका शक्तिबीच संघर्ष हुँदा राष्ट्रियता संकटमा पर्ने खतरा बढेको छ । आपसमा झगडा गर्दा छिमेकीले मिलाउने बहाना पाउनेछन् । यही अवसर नेपाली राजनीतिज्ञहरुले यतिबेला दिइरहेका छन् । राजनीतिक स्थायित्वले मात्र समाज रुपान्तरणको अभियान पूरा हुन सक्छ । यसकै लागि संविधानले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार कटौती गरेको संविधान निर्मातादेखि विज्ञहरुको दावी छ । तर प्रधानमन्त्रीको विशेषाधिकार हो भन्दै यतिबेला संसद विघटन भएको छ । फेरि एकपटक राजनीति अस्थिर बनेको छ भने परिवर्तनबाट प्राप्त उपलब्धि धरापमा पर्ने आशंका बढेको छ ।

प्रधानमन्त्रीले संसद विघटन गराएपछि सत्तारुढ दल विभाजन भएको छ । जसले गर्दा प्राप्त भएका उपलब्धि संरक्षणमा समस्या देखिएको छ । विपक्षीदेखि नागरिक समाजसमेत आन्दोलनमा छन् । यतिबेला राष्ट्रिय शक्ति कमजोर भएको छ । यही मौकामा विदेशीले खेल्ने मौका पाएका छन् । यता पुनर्उत्थानवादी शक्तिले टाउको उठाउने प्रयास गर्न सक्छ । त्यसैले यतिबेला राष्ट्रिय एकता आजको आवश्यकता हो । सुशासन नागरिकको आवाज बनेको छ । भ्रष्टाचार अन्त्यको प्रतिवद्धता कार्यान्वयनको खाँचो छ । अन्तर कलह, भ्रष्टाचार, संवैधानिक अन्यौलताका बीच पृथ्वीनारायण शाहको जन्मदिन राष्ट्रिय एकता दिवसको रुपमा मनाइँदैछ । राष्ट्र एकीकरणलाई स्मरण गर्न यसका अभियन्ता पृथ्वीनारायण शाहको सम्झना आज सान्दर्भिक भएको छ ।

‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’, राज्य सञ्चालनका क्रममा सुशासनप्रति मननीय दिव्यउपदेश दिने व्यक्तित्व पृथ्वीनारायण शाहको जन्मदिनलाई उत्सवका रुपमा नमनाए पनि उनका दिव्यउपदेशलाई कार्यान्वयन गर्ने तत्परता देखाउनु पर्दछ । मुलुक भ्रष्टाचारको दलदलमा फस्दै गएको अवस्थामा पृथ्वीनारायणको दूरदर्शिताका विषयमा छलफल र बहस हुनु आवश्यक छ । नेपाली समाज विकास र सुशासनप्रति पृथ्वीनारायण शाह निकै सचेत थिए भन्ने कुरा उनका वाणीहरुले नै प्रमाणित गरेका छन् । राष्ट्रिय एकताका धरोहर अनि दूरदर्शी व्यक्ति पृथ्वीनारायण शाहलाई राजा भन्दा पनि देश निर्माताका रुपमा सम्झनु पर्दछ । परराष्ट्र नीतिका लागि नेपाल दुई ढुंगाबीचको तरुल भन्ने अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छ, जसलाई यथावत राख्न सक्नुपर्दछ ।

विशाल नेपाल निर्माणको सपना देख्ने एक राजामात्र नभई युगपुरुष पनि हुन्, पृथ्वीनारायण । उनको योगदान नेपालीका लागि आदर्श हो । दिवसमार्फत् भए पनि नसम्झने हो भने पछिल्लो पुस्ताले नेपाल एकीकरण भएको थियो र ? भनी प्रश्न गर्न सक्छन् । विक्रम सम्वत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा स–साना राज्यलाई जोडेर विस्तारका क्रममा नेपाल एकीकरण गरेका हुन् । हुन त शासकीय मोहका कारण साना राज्यमाथि आक्रमण गरेका थिए । कसैको महत्वाकांक्षाले देश नै विस्तार हुन्छ भने सबै शासकले यस्तो महत्वकांक्षा राख्न सक्नु पर्दछ । एकीकरणजस्तो महान कार्यले उनका कमी कमजोरीलाई गौण बनाइदिएको छ । आफ्नो राज्यभित्रको एकताले मात्र उनले नेपाल एकीकरण गरेका हुन् । यही दिव्यज्ञान आजका शासकहरुमा पनि खाँचो छ ।