भोजराज ढकाल

एक अर्काका प्रतिष्पर्धी दुई भीमकाय कम्युनिष्ट पार्टीहरु एकाएक गठजोड गर्न पुगे । गठजोड अपत्यारिलो र अस्वभाविक पनि थियो । एकताको स्पिरिटले कार्यकर्ता पंक्तीमात्र होइन जनतामा समेत खुसियाली छायो । समयको अपर्याप्तताले पर्याप्त छलफल र सैद्धान्तिक बहस हुन सकेन । त्यो खुसी लामो समय टिक्न सकेन । कार्यकर्ताका सपनाहरू सिसा फुटेझैं चकनाचुर भयो । आज “के सोँचे मैले के भयो अहिले” भन्ने उखान सिद्ध हुन पुग्यो । पार्टी भित्र व्यापक निराशा छायो । धेरै अपेक्षा र सुन्दर सपना बुनेका जनताहरु कम्युनिष्टहरुबाट लज्जित भएको बोध गर्न थाले ।

पार्टी एकताको नतिजा अपेक्षाकृत देखियो । कम्युनिष्टहरुलाई प्रदेश र संघमा दुई तिहाई नजिक परिणाम प्राप्त भयो । ७ प्रदेशमा ६ मा सरकार र केन्द्रमा कम्युनिष्ट सरकार निर्माण भयो । कम्युनिष्टहरुको ७ दशक देखिको सफलताले सामूहिक अपनत्व लिन भने सकेन । ओलीलाई केन्द्रिय परिधिमा राख्नेहरु ओली शब्दको नतिजा दुई तिहाई हो भन्ने रणनीतिक जाल बुन्न थाले । कसैले पार्टी एकताको सार दुई तिहाई भएको स्वीकार गरे । कांग्रेसको विकल्पको खोजी कम्युनिष्ट सरकार भएको बुझ्ने ठूलो तप्का भेटिन्छ । कसको मात्रा कति एकिन गर्न कठिन हुन्छ । कारण जेसुकै होस् दुई तिहाई परिणाम सत्य हो ।

परिणामसँगै जहाज उल्टो दिशामा बहन थाल्यो । लामो संघर्ष गरेका नेताहरु प्रतिशोध साध्न थाले । विगतका सबै घटना परिघटना नेताहरुको व्यवहारमा प्रकट भयो । पार्टीका अध्यक्ष र प्रधानमन्त्री समेत भएका ओलीको चातुर्यताले अचुक औषधीको काम गर्नुपथ्र्यो । शुरुका चरणमा माधव कम्रेडको कुनै हस्तक्षेप भएन । अर्का अध्यक्ष प्रचण्ड आफ्नो पुरानो बिरासतको भाग लिने तर खासै प्रतिक्रिया नदिने अवस्थामा थिए । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई निरकुंश, उदण्ड, हिटलर हुन प्रेरित गरियो । सामाजिक सञ्जाल ओलीमय बनाइयो ।

ओलीको अस्वभाविक ओरालो यात्राको पहिलो निर्णय मन्त्री र मुख्यमन्त्री छनोटमा देखियो । आफू समान त्याग, तपस्या र योगदान गर्नुहुने अष्टलक्ष्मी कम्रेडलाई मुख्यमन्त्रीबाट लोप्पा खुवाइयो । अष्टलक्ष्मी कम्रेडसँग तुलना हुनै नसक्ने विद्याको राष्ट्रपतिमा पुनरावृत्ति भयो । अष्टलक्ष्मी कम्रेड मुख्यमन्त्री नहुनु एउटा कुरा हो । उहाँको प्रतिस्पर्धा कार्यकर्ता तहका नेतासँग अपमानजनक ढंगले गराइयो । ओलीले विवेकशील तवरले निर्णय लिन सकेको भए अष्टलक्ष्मी कम्रेड सधैं ओलीप्रति नतमस्तक हुनुहुन्थ्यो । उहाँको अपेक्षा एउटा सानो मुख्यमन्त्री थियो । त्यसैगरी प्रदेश १ मा पनि एउटै रोगले निरन्तरता पायो । मुख्यमन्त्री हुने कल्पना पनि नगरेका नेतालाई पद दिने काम भयो ।

ओली सफल हुन पार्टीको आन्तरिक जीवनमा प्रगाढ सम्बन्ध जरुरी थियो । मन्त्री छनौटमा योगेश कम्रेडलाई अपमान गरियो । माधव कम्रेड निकट भएका कारण प्रभावशाली नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे पछाडि पारिए । मन्त्री नदिनु एउटा कुरा थियोे त्यो पनि अपमान ढंगले मन्त्री हुनबाट बञ्चित गरियो । शुरुवाती चरणमा योगेश, घनश्याम र सुरेन्द्र कम्रेड र मुख्यमन्त्रीमा अष्ट कम्रेड र भिम कम्रेड छनौट हुनु भएको भए सरकारको छबि र काम गर्ने तौरतरिका अर्कै तरिकाले विकसित हुन्थ्यो । राजनीतिमा निषेध गर्ने ओलीको कार्यशैली आजको अर्को महत्वपूर्ण कारण हो । महाभारतको युद्ध अस्तित्वका लागि थियो । समयमै सम्बोधन गरिएको भए वंशको विनास रोकिन्थ्यो ।

पार्टीसँग सामान्य छलफल नगरी ओलीले मन्त्री छनौट गरे । आफूले छनौट गरेका मन्त्रीहरु भ्रष्ट हुँदै गए । ओलीकै शब्दमा पहिलो घेराभित्रका निकट व्यक्तिको चरित्र, व्यवहार र शैलीले ओलीलाई पार्टी र प्रमुख नेताबाट टाढा बनायो । सँगसँगै अवसरवादी, दलाल र बिचौलियाले ओलीलाई घेरा हालिसकेका थिए । हरेक मन्त्रालयमा पद सृजना हुने बित्तिकै बालुवाटारमा सेटिङ हुन्थ्यो । अधिकांश पद गैरकम्युनिष्टलाई बिक्रि गरियो । कार्यकर्तामा निराशा पलायो । प्रदेश सरकारमा समेत बालुवाटारले पद निक्र्यौल गथ्र्यो । ओली निकटको निकृष्ट तौरतरिकाले ओली लज्जित भए । आफ्नो स्वार्थ सिद्ध गर्न उनीहरूको जालसाजी ओलीले ठम्याउन सकेनन् ।

पार्टी निर्णयलाई बेवास्ता गर्नु ओलीको अर्को दुष्परिणाम थियो । पार्टी स्थायी कमिटीको निर्णय अक्षरशः लागू गरेको भए दिन दहाडै ओली तर्सनु पर्ने थिएन । ओलीले कम्युनिष्ट पार्टीको निर्णयलाई धोती लगाउनु ठूलो भुल भयो । निर्णय गर्ने, निर्णय प्रक्रियामा बस्ने तर अभ्यास ठिक विपरित गर्ने ओलीको पुरानै संस्कृति हो भन्ने सबैले बुझे ।

ओली यतिसम्म उदण्ड र स्वेच्छाचारी हुनुभयो आफू पार्टीको नेता भएको समेत भुल्न थाले । अर्कोतर्फ ओलीका कारण कम्युनिष्ट पार्टी बदनाम भएको सबैको ठम्म्याई थियो । चिर निन्द्रामा रहेको पार्टी, शीर्षस्थ नेताहरु समेत ओलीको गतिविधिको निगरानी गर्न पुगे । पार्टीले ओलीलाई स्वच्छन्द छाड्न सकेन । सरकारको हरेक निर्णय विवादास्पद हुँदै गयो । ओलीलाई पार्टीले असहयोग गरेको भान हुन गयो । पार्टी निर्णय, विधि अनुशासन सुन्न पनि नसक्ने ओलीको शैली कम्युनिष्ट पार्टी र सरकार दुर्घटनामा परेको अर्को तथ्य हो । ओलीलाई असहज भएको स्वीकार गर्ने प्रमाण भेटिँदैन ।

ओलीलाई राजनेताको ताज पहिर्‍याउन खोजियो । राजनेता कार्यसिद्धिले समय आफैंले प्रमाणित गर्छ । बिपि, मदन र मनमोहनले कहिल्यै प्रमाणित गरेनन् । आफू अध्यक्ष भएर बैठकमा समेत उपस्थिति हुन नसक्ने नेता राजनेता भन्नू कति उचित हुन्छ ? हिटलरले समेत आफूले नेतृत्व गरेको पार्टी विभाजन गर्छु भनेको सुनिएको छैन । ओलीले पार्टी बिग्रह गरिदिन्छु, बैठकमा आउँदिन, निर्णय मान्दिन, देखाइ दिन्छु समेत भन्न भ्याए । पार्टीभित्र फरक मत प्रकट गर्नेलाई देख्न नसक्ने ओली राजनेता कसरी हुनुहोला । राजनेता सर्वस्विकार्य हुनुपर्दैन ? पार्टी निर्णय स्वीकार गर्नुपर्दैन ? अरुलाई सिद्याउने खेलमा जानुभयो । पार्टी र सत्ता कब्जा गर्ने खेलमा पुरै समय बिते । सरकार निर्माण भएको दिनदेखि आजसम्म सरकार ढल्दैन ढल्दैन भनिरहनु पर्‍यो ।

ओलीको तीन विशेषता दुःखपूर्ण छन् । बोलाई र अभ्यास सधै ठिक विपरित देखियो । बोल्यो अनि घाममा सुकाइ दिने अर्को विशेषता रहेछ । रेल बोलेकै दिन सकियो । जहाज १/२ महिना टिक्न सकेन । ग्यासका पाएप कहाँ गए ? समृद्धि हरायो । अन्तिम तर धेरै घातक अर्को विशेषता जे पायो त्यही गर्ने, जे पनि बोल्ने । अनि सत्ता र पैसालाई अन्तिम सत्य बुझ्ने प्रवृत्ति देखियो । ओलीले एकपछि अर्को झुटको खेती गर्दै गए । जसले बिरोध गर्छ जाइ लागी हाल्ने र सामाजिक सञ्जालको दुरुपयोग गरी बेइज्जत गर्ने थियो ।

यो लडाइ सत्य र असत्य बीचको हो । पूर्व एमाले र पूर्व माओवादी बीचको होइन । सबैभन्दा खतरनाक गुटको खेती गर्ने ओलीले गुटबन्दी र घेराबन्दीले असहज भएको तर्क दिन शोभा दिँदैन । यो लडाई सूर्य चिन्हको पनि होइन । हामी कम्युनिष्टहरुलाई भोट इमान्दारिता र जनताको मन जिते वापत प्राप्त हुन्छ । जबजको लडाइ पनि होइन । २०५० सालमा जन्मिएको मतदातालाई जबज उपन्यास हो अथवा राजनीतिक दृष्टिकोण हो थाहा छैन । जबजको शिकार कसले गर्‍यो समयले प्रमाणित गर्छ । जबज हाम्रो अभ्यासमा देखिनु पर्दैन ।

ओलीको अकर्मण्यताले ठूलो संकट सृजना भयो । कम्युनिष्टहरु बदनाम भए । न रहे बाँस नबजेगा बाँसुरी भन्ने ओलीको सुझबुझले दुर्घटना भएको हो । पार्टी विभाजनले चुनौती थपी दियो । जनताले खास दोषीको छिनोफानो गर्छन् । एकपटक कम्युनिष्टहरुको लज्जास्पद हार हुन्छ । कम्युनिष्ट भन्न मुख छोप्नु पर्छ । तर कालान्तरमा कम्युनिष्ट उदाउँछ ।