क्लबको स्थापना दिवसमा सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा भुटनदेवीले ११ औं स्थापना दिवस बिहीबार मनाएको छ । क्लबकी अध्यक्ष पुष्पा भट्टको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा लायन्स क्लबका अग्रज राम श्रेष्ठलाई सम्मान गर्नुका साथै भीमफेदी गाउँपालिका–१, भैंसेकी कान्छीमाया स्याङ्तानलाई पाँच हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले लायन्स अभियानका अग्रज व्यक्तित्व राम श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । क्लबले हरेक वर्ष क्लब स्थापना दिवसको अवसर पारेर विपन्न एवम् अपाङ्गता भएका व्यक्तिलाई आर्थिक एवम् सहयोगी सामग्री सहयोग गर्ने गरेको छ । क्लबकी निवर्तमान अध्यक्ष सीता श्रेष्ठ महर्जनको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लबका अगुवाको सहभागिता रहेको थियो ।

लायन्स क्लबका अग्रज राम श्रेष्ठलाई सम्मान गरिँदै ।

सामाजिक सेवाका लागि स्थापित लायन्स क्लब अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था हो । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी महिला मात्रै सदस्य रहेको मकवानपुर जिल्लाकै पहिलो क्लब हो । जिल्लाकै तेस्रो क्लबको रुपमा स्थापित क्लबले विविध सामाजिक सेवाको कार्य गर्दै आएको क्लबकी अध्यक्ष पुष्पा भट्टले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष सीता महर्जनले स्थापना दिवसको अवसरमा आफ्नो कार्यकालमा सहयोगीलाई सम्मान गर्दै मायाको चिनो वितरण गर्नुभएको थियो ।