निषेधाज्ञा भएको समयमा मैले कलेजको फेसबुक पेजबाट पहिलो पटक हल्ट प्राइज प्रतियोगिताको बारेमा जानकारी पाएँ । अतिरिक्त क्रियाकलापमा पनि निकै रुचि राख्ने भएर होला मलाई यस प्रतियोगिता बारे जान्ने जिज्ञासा बढेर आयो । यस प्रतियोगिता बारे साथीहरुसँग पनि सल्लाह गरेँ, तर यो विषय हामी सबैका लागि नौलो भएकोले कसैबाट केही उत्तर भने पाइन । हल्ट प्राइज सम्बन्धी हुन गइरहेको अभिमुखीकरणमा भाग लिएँ । अभिमुखीकरणबाट यो अन्तर्राष्ट्रिय पहिचान प्राप्त भएको प्रतियोगिता हो भन्ने कुरा सुनेपछि मलाई यस प्रतियोगितामा भाग लिने रुचि अझ बढेर आयो ।
’हल्ट प्राइज’ प्रतियोगिताले मलाई निकै प्रभावित पार्यो । कलेजबाट निर्देशक र आयोजक समितिका लागि आवेदन दिन विद्यार्थीलाई आव्हान गरियो । एक सामान्य विद्यार्थी यति ठूलो पदका लागि योग्य छु भन्ने मलाई कहिले लागेन । तर, समयको सदुपयोग गर्छु भनेर मैले पनि निवेदन दिएँ । निवेदन, व्यक्तिगत विवरण, अन्तरवार्ताको आधारमा मलाई क्याम्पस निर्देशक र अरु नौ जना साथी सम्मिलित आयोजक समिति निर्माण गरियो । क्याम्पस निर्देशक हुँदाको हर्ष एकतर्फ थियो भने कलेजमा ‘हल्ट प्राइज’ प्रतियोगिता आयोजना गर्नुपर्ने ठूलो जिम्मेवारी अर्कोतिर थियो । ‘हल्ट फाउन्डेसन’ को एक सदस्य हुनु आफैमा गर्वको विषय थियो । मैले ‘हल्ट फाउण्डेसन’ र हल्ट नेपालबाट विभिन्न तालिम र सेमिनारहरुमा समावेश हुने मौका पाएँ । यो यात्रामा हरेक दिन आफूलाई अझ राम्रोसँग बुझ्ने मौका पाएँ । अनेकौं तालिमबाट आफूमा भएका कमजोरी पत्ता लगाउन पाएँ भने सुधार्ने र आफूले निरन्तर मिहिनेत गरेर सफल व्यक्ति बन्ने अठोट कायम राखेको छु । हल्ट प्राइजमा जोडिएपछि मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको कुरा सुनेर प्रेरित हुने मौका पाएँ भने धेरै नयाँ साथीहरुसँग पनि भेट भयो । हल्टको यात्रा मेरो जीवनमा एक परिवर्तनशील यात्राको रुपमा रहनेछ ।
हल्ट प्राइज प्रतियोगिताले सबै विद्यार्थीलाई यस प्रतियोगितामा भाग लिने बराबर मौका दिएको छ । हल्ट प्राइज प्रतियोगितामा प्रतिस्पर्धा गर्ने विद्यार्थीले तीन वा चार जनाको समूह बनाएर विश्वविद्यालय तहमा यस प्रतियोगितामा भाग लिने मौका पाउँछन् । कलेजमा हुने गतिविधिमा सबैभन्दा उपयुक्त योजनाले क्याम्पसकै उत्कृष्ट हुँदै क्षेत्रीयस्तरमा प्रतिस्पर्धामा सहभागी हुने मौका पाउँछन् । क्षेत्रीयस्तरमा अन्य देशहरुसँग जित्नेले विश्वव्यापी प्रतिस्पर्धामा गएर आफ्नो योजना प्रस्तुत गर्न पाउँछन् र सर्वोत्कृष्ट योजनाले ‘हल्ट प्राइज २०२०–२१’ जितेर सम्मानस्वरुप १० लाख अमेरिकी डलर जित्ने मौका पाउँछन् । विजेताले आफ्नो योजनालाई कायम गरेर समाजमा एक परिवर्तन ल्याउन सक्छन् भने सहभागी सबै विद्यार्थीले हल्ट मार्फत धेरै कुरा सिक्ने मौका पाउँछन् ।
हल्ट प्राइजले प्रतियोगीहरुलाई हरेक वर्ष एक चुनौति दिन्छ जसलाई आधार मानेर विद्यार्थीहरुले यस प्रतियोगितामा भाग लिन्छन् । हरेक वर्षझैं यस वर्ष पनि हल्ट फाउण्डेसनले एक नयाँ चुनौती लिएर आएको छ । यस वर्षको चुनौती फुड फर गुड अर्थात ‘राम्रोका हुनका लागि खाद्यान्न’ भन्ने विषय म लगायत धेरै जनालाई निकै आकर्षणको विषय बनेको छ । किनभने यो चुनौति हाम्रो जीवन जिउने आधार खानासँग सम्बन्धित छ । विश्वको स्थिति हेर्दा खानाको स्तर निकै घटेको देखिन्छ भने मूल्यवृद्धि पनि बढेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०१४ देखि भोकमरी र कुपोषणको समस्या बढी रहेको छ । कोरोनाले गर्दा आर्थिक स्थिति र भोकमरीमा थप असर पर्ने अनुमान लगाइएको भए तापनि खानाको मूल्यमा गिरावट नभई अझै द्रूत गतिमा बढ्ने अनुमान लगाइएको छ । विश्व खाद्य संगठनको खाद्यान्नको मूल्यसम्बन्धी सूचकांकअनुसार अक्टोबर २०१९ सम्ममा खानाको मूल्यदर ६ प्रतिशतले बढेको छ । हाम्रो खाना खाने तरिका पनि गलत हुँदै आएको छ । पौष्टिक खाना छाडेर हामी धेरै तयारी (जंक) खाना र पौष्टिकतत्वरहित खानातर्फ धेरै प्रभावित देखिन्छौं । खाद्यान्नमा आएका अनेकौं समस्याहरुलाई मध्यनजर गर्दै हल्ट फाउण्डेसनले यस वर्ष यो चुनौती ल्याएको हो । यस्ता समस्याहरूलाई मध्यनजर गरेर एक सामाजिक व्यापार योजना बनाई खाद्य उद्योगका साथै समाजमा पनि परिवर्तन ल्याउन सक्ने विद्यार्थीको यो फाउण्डेसन खोजीमा छ ।
समाजमा परिवर्तन ल्याउन सक्ने विद्यार्थीको खोजीमा हल्ट प्राइज फाउण्डेसन पहिलोपटक हेटौंडा स्कूल अफ म्यानेजमेन्ट आएको छ । यसैगरी हेटौंडा स्कुल अफ म्यानेजमेन्टले पनि विगतमा धेरै कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत बिजनेस क्यान्भास मोडल, पब्लिक स्पिकिङ्ग जस्ता धेरै कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला र क्षमता प्रस्तुत गरेर आफ्नो क्षमताको परिचय दिने मौका पाएका छन् । हल्ट प्राइजमा भाग लिएर पनि उनीहरुले आफ्नो क्षमताको प्रदर्शनी अवश्य गर्नेछन् भन्ने आशा राखेका छौं । हल्ट प्राइज प्रतियोगितामा विद्यार्थीहरुलाई आफ्नो किताबी ज्ञानलाई व्यवहारमा लागु गर्ने मौका पाउँछन् । विद्यार्थीले हल्टमा भाग लिएर विभिन्न तालिम लिने मौका पाउँछन् जसले उनीहरूको नेतृत्व विकास, सञ्चार जस्ता धेरै कुराहरुमा अघि बढ्न मद्दत गर्छ । विद्यार्थीहरु आफ्नो व्यापारिक योजनालाई यस प्रतियोगितामार्फत दर्साउने मौका पाउँछन् भने विद्यार्थीको करियरमा पनि यसले ठूलो मद्दत पु¥याउँछ । हल्ट प्राइज प्रतियोगिता आयोजना गरेकोमा म हेटौंडा स्कूल अफ म्यानेजमेन्टप्रति आभार व्यक्त गर्दछु । विद्यार्थी साथीहरूलाई पनि यस अवसरको फाइदा उठाइ हल्ट प्राइज प्रतियोगितामा भाग लिएर आफ्नो कला प्रदर्शन गर्न अनुरोध गर्दछु ।