संप्रस पौडेल

भाई अलिकति पैसा छ ?
पैसाको त एक धर्को, थोपो, सितो, पित्को, पोयो, चोइटो पनि छैन नि ।
पैसा नभएको भए के हुन्थ्यो होला ?
पैसाले स्याप्स्याप्ती परेको मान्छेले सोध्छ ।
पैसा हुँदा जे भैरहेको छ, त्यो हुन्नथ्यो ।
पैसा सापटी माग्न आएको ऊ बडो ब्रह्मज्ञान पाएझैं टाउको हल्लाएर फर्किन्छ ।
आफ्नै ज्यान धरौटी राखेर ऋण लिन मिल्दैन ? आफ्नै मन आफैंलाई सोध्छ । जागिरे पनि एक जिन्सी ज्यान धरौटी त हो नि आफैं जवाफ फर्काउँछु । अफिस नगए रेजा लाग्छ, नियमित गए महिना पुगेपछि परिश्रमको व्याज आउँछ । जागिर पनि गर्ने, साँवा पनि खोजेर त कहाँ पाइन्छ र ?

बा भन्नुहुन्छ ‘काम गर्दा नोकरले जसरी, खाँदा राजाले जसरी खानु ।’ आफ्नो बलबुद्धिले भ्याएसम्म नोकरले जसरी काम गरेर पनि चोकर खानु त भएन नि, तलबले भात खान पुग्दैन क्यार । काम गर्ने कालु मकै खाने भालु जस्तो भैरहेछ टोल, समाज, संघसंस्था र देशमा । ‘नहुनेलाई ऋणमाथि ऋणको ऋण ।’
आजकाल मान्छेहरू कोही पोलिटिक्स, कोहीरु ओलिटिक्स गर्छन् अरे । सर्प पालेर औषधी निकाल्छु भन्दा पनि यही दुईबीच भिडन्त भएछ ।

सर्प मात्रै के भ्यागुता, बिच्छी, साङ्ला, माकुरा पालेर लाखौं आम्दानी गर्न सकिन्नँ र ? युट्युब हेर्नुस् नपत्याए, तीन लाखको जागिर छोडेर खेतिपातिमा दिनमै लाख । एउटै रूखको काठ किलोको लाख पर्ने । बट्टाई पालेर लाख आम्दानीको फट्याईँ । पैसा कमाउने तरिका कति कति । अरूले त खै, भ्यूअर्स धेरै तानेर युट्युबरलेचाहीँ राम्रै कमाउलान् ।

विज्ञानका विद्यार्थी विदेशी भ्यागुता चिरिरहेछन् । देशमा भ्यागुताको पनि अभाव रैछ । खाल्डाखुल्डी, कुलेसाको भ्यागुता देखाएर ‘भ्यागुता पालनबाट १ महिनामै ३ लाख’ वाला भिडियो बनाएर ३ लाख कमाउन सकिन्नँ र ? जताततै पैसै पैसा । चल्ती अभिनेताको सुपर फ्लप फिल्म हेर्न बाध्यताको टिकट काटेका छौं । केही थान विज्ञापन एजेन्सी, मिडियाकर्मी र समालोचकहरूले दाँत ङिच्याएपछि गोजी गरीब हुन कति बेर लाग्छ र ? पैसा कमाउन र गुमाउन कति बेर लाग्दोरछ र । मनोरञ्जन दिने नाममा पैसा कमाउने थुप्रै छन् नि ।

पैसा मात्रै नभएको हो, पैसै कमाउने उपाय त कति छन् कति । सुगर रोगीलाई फाइदा पुग्ने भनेर सिउँडी बेचे पनि हुन्छ । दुबो र बन्सोको जुस प्रेसर रोगीलाई ‘जडुली’ ओखती भन्न पनि सकिन्छ । दाउने पुगेर राउने, माने पुगेर काने, शहरा“ वनमारा बेचेर पनि पैसो कमाउन सकिन्छ । आखिर अर्गानिक माग धेरै नै छ क्यार । डाक्टर पनि हैरान भैरहेको शहरा“ धामी झाँक्री मौलाएकै छन् । कतै झुक्केर हर्रो नपाउनेलाई जाइफल पो भैदिन्छ कि ।

पैसाकै कुरामा आमा भन्नुहुन्छ ‘अर्थोक केही होइन मनै धनी हो ।’ हो र होइनको दोधारमा परेर राम धनी भोर्लाको कन्दनी महसुश गरिराछु । दशतिर तिर्नुपर्ने बिल एकैपटक ओइरिएपछि दिन दुगुणा रात चौगुणा पैसा नै सोच्न पुग्छु । जाबो कागजको महत्व कति धेरै बनाइदिएको । दुनियाँ यसकै अघिपछि रूमल्लिएर हिँडिराख्दा आफूचाहिँ किन एक्लो बृहस्पति बन्नु ठानेर पैसा कमाउने उपाय खोज्न गुगलेश्वरी माता र युट्युबेश्वर बाबाको शरण पर्छु र मन्त्र पत्ता लगाउँछु “ऐसा तैसा पैसा” ।