मेरो मानस पटलमा आज पनि उत्तिकै ताजा र गुञ्जयमान छ एउटा प्रश्न जुन महेन्द्र माविमा मिति २०८० साल चैत १ गतेका दिन निर्वाचित भई आउनु भएका नयाँ जुझारु विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले राख्नु भएको थियो । ‘के छ म्याम, आट्ने हो त ? सक्नु हुन्छ नि ?’ मलाई त्यस प्रश्नमा विश्वास सँगसँगै थोरै कहिँ कतै संकोच मिसावट छ भन्ने लागेको थियो । नहोस् नि किन, म त्यतिबेला एउटी नारी हुनुको सुन्दर अस्तित्वको यात्रामा जो थिएँ । म सात महिनाकी एक गर्भवती शिक्षक थिएँ । पक्कै पनि उहाँहरुलाई मेरो शरीरको अवस्थाले गर्दा हिच्किचाहट रहेको भन्ने लागेको थियो ।
तर त्यस समयमा एउटी नारी झन् बलवान, आत्मविश्वासी र निडर हुने रहिछिन् न कि कमजोर र लाचार । अनि मैले जवाफमा मुस्कुराउँदै भने, ‘साँच्चै विद्यालय सुधार गर्नुपर्ने छ । अबका दिनमा यस टीमसँग काम गर्न पाउनु मेरो सौभाग्य हुनेछ । भोलिका दिनमा परेको खण्डमा म मेरो बच्चा अफिसमा सुताएर भए नि विद्यालय चलाउने छु ढुक्क हुनुहोस ।’ सायद त्यो जवाफमा विद्यालयप्रतिको माया र चिन्ता प्रस्टै झल्किएको भएर होला २०८० साल चैत ४ गतेका दिन विद्यालय व्यवस्थापन समितिको बैठकबाट सर्वसम्मत प्रधानाध्यापकका लागि सिफारिस भएँ । प्रधानाध्यापक भएसँगै २०८० साल चैत ९ गतेका दिन औपचारिक रुपमा हाम्रो विद्यालयको ६३ वर्षको इतिहासमा प्रथम महिला प्रधानाध्यापकका साथै बकैया गाउँपालिकाको माध्यमिक तहको विद्यालयकै प्रथम महिला प्रधानाध्यापक बन्न सफल भएँ ।
हामी नेतृत्वमा रहने सबै जनाको साझा उद्देश्य भनेको नै विद्यालयको सम्पूर्ण विकासमा जोड दिई शैक्षिक सुधारमा योगदान पुर्याउनु पर्छ भन्ने रहेको थियो । त्यसैले सर्वप्रथम शैक्षिक सत्र २०८१ को पूर्वसन्ध्यामा नै शिक्षक, कर्मचारी र र विद्यालय व्यवस्थापन समितिको सयुक्त बैठक बसेर सबै शिक्षक एवम् कर्मचारी साथीहरुसँग योजना माग गर्यौं । शिक्षक, कर्मचारीबाट प्राप्त योजनामा गहन छलफल गरी निचोड लाई सबैले आत्मसाथ गर्दै अगाडि बढ्दै गयौं । जस अन्तर्गत वर्ग शिक्षकलाई बढी जिम्मेवार बनाउने, ३–३ महिनामा शैक्षिक परीक्षण गर्ने, कमजोर विद्यार्थीहरुलाई उपचारात्मक कक्षा संचालन गर्ने, नियमित कक्षागत अभिभावक बैठक राख्ने, उत्तरपुस्तिका फाइलिङसहित अभिभावकको अनिवार्य उपस्थितिमा नतिजा प्रकाशन गर्ने प्रयास गर्यौं ।
यी कार्यहरुले साँचिक्कै विद्यालयमा शैक्षिक सुधारका लक्षणहरु देखिन थाले । अभिभावक, शिक्षक र विद्यार्थी सबैजना आफ्नो लक्ष्यप्रति थप जिम्मेवार भई अगाडि बढ्नु भएको पायौं । हामीले पदभार सम्हालेको करिब ३ महिनामै म विद्यालयमा धेरै लामो समयदेखि विद्यमान रहेको खानेपानीको समस्या ईस्थर बेन्जामिन स्मृति संस्थाको आर्थिक सहयोगमा व्यवस्थापन गर्न सफल भयौं । बालमैत्री बालउद्यान निर्माण, फुलबारी निर्माण, विद्यालय गेट विद्यालय समयमा पूर्ण बन्द गरी समुदायलाई घाँस, दाउराका लागि वन जाने–आउने बाईपास गोरेटो निर्माण गर्न सफल भयौं । सभाहल निर्माण जस्ता अति आवश्यक भौतिक संरचनाहरुको निर्माण गर्न सफल भयौं ।
हामीले ‘जग बलियो त घर बलियो’ भन्ने आशयलाई आत्मसाथ गर्दै विशेषगरी प्राथमिक तहका विद्यार्थीहरुमा पठन संस्कृति विकास गरी शुद्धसँग बोल्न र लेख्न सक्ने बनाउने उद्देश्यका साथ हेटौँडास्थित नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा अभिभावकहरुलाई पनि यस कार्यक्रमहरुको ढाँचा बारे जानकारी गराउँदै निरन्तररुपमा यस कार्यक्रमहरुको लेखाजोखा गर्दै, प्रभावकारी भए, नभएको मुल्यांकन गर्दै सबैजनाको सहकार्यमा अघि बढ्यौं । कक्षाकोठा र विद्यालय अब विद्यार्थीमैत्री बन्दै गइरहेकाले होला विद्यार्थी अब त सधैं विद्यालय खुलिदियोस् है म्याम, मज्जा आउँछ विद्यालय आउन पाउँदा, घर बस्न मन नै लाग्दैन भन्न थाल्नु भएको थियो । यस्ता अभिव्यक्ति सुन्दा गरिरहेको मिहिनेतहरुले रंग लिँदैछ है भन्ने भान हुन्थ्यो । हामीले गर्ने शैक्षिक कार्यक्रमहरु थप पृथक बनाउँदै लग्न थालियो । जस्तै विद्यालयको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकको संलग्नतामा शैक्षिक सामग्री निर्माण, समुदायका अग्रज अभिभावक (आमाहरु) बाट टपरी, दुना गाँस्ने र गुन्द्री बुन्ने कार्यक्रम, दन्त शिविर संचालन, शैक्षिक प्रदर्शनी प्रतियोगिता साथै इलेक्ट्रिकल वर्कसपको उद्घाटन आदि कार्यक्रम संचालन गरी समुदाय र विद्यालयको सम्बन्धलाई अझ सुमधुर बनाउन पहल गरियो ।
हाम्रो विद्यालयको इतिहासमा नै पहिलो पटक सरस्वती पुजाको सु–अवसरमा अक्षरारम्भ कार्यक्रम संचालन गर्नका लागि घरदैलो अभियान संचालन गरी १९ जना विद्यार्थीहरु भर्ना गर्न सफल भयौ । यसैगरी कक्षा १० अर्थात एसईईको नतिजालाई सुधार गर्नका निम्ति माघ महिनादेखि चैत महिनासम्मका लागि कक्षा १० का ६५ जना विद्यार्थीलाई सम्पूर्ण समय विद्यालयमा नै राखी नियमित विशेष कक्षा, अतिरिक्त कक्षा, परीक्षाहरु संचालन गरेका थियौं । हाम्रो विद्यालयमा यो भन्दा पहिले होस्टेल र वार्डेनको व्यवस्था नभएको कारणले गर्दा सम्पूर्ण कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु नै आलोपालो रहने भनी सो अनुसार प्रत्येक दिन बेलुका विद्यार्थीहरुसँगै खाने र रहने गरी झण्डै ७० दिन बितायौं । त्यो यात्रा विभिन्न समस्यालाई पाखा लगाउँदै पुरा गर्न सफल पनि भयौं । जसले गर्दा एक महिनामा मुस्किलले ५ दिन आउने विद्यार्थी नियमित हुन थाले । दैनिक २–३ घण्टा हिँडेर विद्यालय आउनुपर्ने भाइबहिनीहरुलाई सहज भयो । मोबाइल र केहि गलत संगतबाट टाढा रहँदा उनीहरुमा सकारात्मक सोच र पढाई प्रति चिन्ता देखिन थाल्यो ।
यसै बीच आयोजना गरिएको ३ दिवसीय उत्प्रेरणात्मक कार्यक्रम आयोजना गर्यौं । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश वलीले प्रशिक्षकको रुपमा रहनुभएको थियो । उहाँ उत्प्रेरणात्मक प्रशिक्षणले विद्यार्थीहरुमा झन् आफ्नो भविष्य, अभिभावक, विद्यालय, पढाई, शिक्षकहरुप्रति थप सम्मान गर्नु पर्छ, जिम्मेवार बन्नु पर्छ र अनुशासनमा रहेर मात्र हामीले चाहेको जस्तो जीवन जिउन सक्छौं भन्ने परिवर्तनकारी भावानको विजारोपण हरेक मनमा गर्न सफल भएसँगै विद्यार्थीमा एक किसिमको चमत्कारी परिवर्तन देखिन थालेसँगै उहाँहरु थप लगनशील भई मिहिनेत गर्न थाल्नु भयो । यस उपलब्धिमूलक कार्यप्रति हामी विद्यालय परिवार सधैं आभारी रहने छौं हरिश ओली सरप्रति ।
अन्ततः विद्यालय एक सामाजिक संस्था हो । यसको संचालन, व्यवस्थापन र संरक्षण समुदायको दायित्व भित्र पर्दछ । विद्यालयसँग आबद्ध रहने सम्पूर्ण समाजसेवी, शिक्षाप्रेमी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सकारात्मक सहयोग, जिम्मेवारीपूर्ण भूमिका र जवाफदेहिता नै विद्यालय विकासका आधार स्तम्भ हुन् भन्नेमा दुईमत नहोला । ‘मेरो विद्यालय मेरो दायित्व’ भन्ने भावना सबैमा जागृत हुन सकेमा मात्र विद्यालयले नयाँ शैक्षिक सुधारको पाटो पहिल्याउन सक्दछ । विद्यालय सुधार गर्ने उद्देश्य लिएर हिँडेका छौं । हामी शैक्षिक सत्र २०८२ मा थप उत्साहका साथ विद्यालय बनाउनेमा प्रतिबद्ध छौं । मलाई व्यक्तिगतरुपमा उत्प्रेरणा र मार्गदर्शन गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछु । मेरो यो यात्रा आगामी दिनमा अझ बढी सशक्त र नवीनतम हुनेछ ।
(सिग्देल मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनस्थित महेन्द्र माध्यामिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।)











