प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै ठाउँ–ठाउँमा एकथरी हल्ला चल्न थाल्छ । शैक्षिक सत्र सुरु भएको यतिका दिन भैसक्यो फलानो ठाउँमा अझै पाठ्यपुस्तक पुगेको छैन । सरकारले सही काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले लगाउने आक्षेप पनि यही हुन्छ । सरकार के गरेर बसिरहेको छ ? शैक्षिक सत्र सकिन लाग्दा समेत फलानो ठाउँका विद्यार्थीको हातमा किताब पुगेको छैन ।
पाठ्यपुस्तक कुनै पत्रपत्रिका, समाचारपत्र वा अखबारजस्तो बस्तु होइन । निश्चित दिनमा सबैतिर पुर्याउनु पर्ने । आजै छापेर ताजै हुनेगरी सबै ठाउँमा वितरण गर्नुपर्ने । तरपनि हामी हरेक वर्ष यहि बहसमा अल्मलिरहेका छौं । एकवर्ष अध्ययन गरेको किताबलाई जतन गरेर त्यसलाई आफुभन्दा साना भाइबहिनीका लागि उपयोग गर्न सकिने बारे अहिलेका पुस्तालाई जानकारी नै छैन । यसरी पुरानो किताबको प्रयोगबाटै नयाँ शैक्षिक सत्र पूरा गर्न सकिन्छ भन्ने अभ्यास उनिहरुमा छैन । अहिलेका विद्यार्थीलाई शिक्षक, अभिभावक र अन्य क्षेत्रबाट कितावको जतन गरेर पूनः प्रयोगमा ल्याउने तरिका सिकाउनुपर्ने हो । हामीले अहिलेका बालबालिकालाई किताबको जतन गर्न सिकाएका छैनौं ।
जतन पनि किन गर्ने ? सामुदायिक विद्यालयका लागि प्रत्येक वर्ष सरकारले हरेक विद्यार्थीका लागि टाउको गनेर नयाँ किताब सेट नै उपलब्ध गराइदिन्छ । यस्तै निजी विद्यालयहरुले अभिभावकलाई अनिवार्यरुपमा नयाँ किताब किन्नैपर्ने बाध्यकारी व्यवस्था गरेका छन् । सामुदायिक विद्यालयको पाठ्यपुस्तक प्रकाशनका लागि सिङ्गो शिक्षा मन्त्रालय, विभाग, पाठ्यक्रम विकास केन्द्र र यस मातहतका निकायहरु लागिपरेका छन् । यस्तै निजी विद्यालयका लागि निर्धारित पाठ्यक्रम अनुसार पाठ्यपुस्तक प्रकाशन गर्ने भन्दै दर्जनौं प्रकाशन गृहले सरकारबाट अनुमति लिएका छन् ।
पुरानो कोट लगाउ, नयाँ पुस्तक किन भन्ने विद्वान थोरोको भनाई किताबका पारखीमाझ उत्तिकै लोकप्रिय छ । जीउ ढाक्ने लुगाकपडा बरु पुरानै भएपनि हुन्छ तर त्यो किन्ने पैसाबाट नयाँ किताब किनेर धेरै विषयमा जानकारी लिनुपर्छ भन्ने यो भनाईको आशय हो । विद्वान थोरोले पुरानो लुगाजस्तै पुरानै किताबबाट पनि धेरै विषयमा जानकारी हासिल गर्न सकिने कुरालाई त्यति महत्व नदिएको जस्तो लाग्छ । तरपनि नयाँ किताबबाट जस्तै जानकारी पुरानै किताबबाट पनि पाउन सकिन्छ भन्नेमा द्विविधा छैन । जे होस् इतिहासलाई सरसर्ती अध्ययन गर्ने हो भने नेपाल लगायत विश्वका विभिन्न देशका विद्वान र प्रसिद्ध व्यक्तिहरुले संघर्षको दौरानमा पुराना किताबको अध्ययन गरेरै विभिन्न विषयमा जानकारी हासिल गरेको पाइन्छ ।
आजभन्दा २०/२५ वर्षअघि जतिबेला सरकारीस्तरबाट निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने सुबिधा थिएन । त्यतिबेला विद्यार्थीहरुले आफूभन्दा एकदुई वर्ष अघि दाजुदिदीले पढिसकेका किताबलाई पूनः प्रयोग गर्ने चलन थियो । कतिपय विद्यार्थीले कक्षा सकिएपछि आफुभन्दा कनिष्ट विद्यार्थीलाई आधा मूल्यमा किताबहरु बिक्री गर्दथे र त्यही पैसाले माथिल्लो कक्षामा पुगेका दाजुदिदीका किताब किनेर पढ्ने चलन थियो । यो चलन केही हदसम्म उच्च मावि र कलेजका विद्यार्थीमा अझै कायमै छ । हेटौँडा, काठमाडौं लगायत देशका केही सहरहरुमा यस्ता प्रयोग भइसकेका पुस्तक किनबेच गर्न मिल्ने सेकेन्डहेण्ड बुक सप अझै सञ्चालनमा रहेका छन् । अझैपनि केही विद्यार्थीले यस्ता किताबहरु पुनः प्रयोग गर्ने सुविधा लिइरहेका छन् ।
सरकारी स्वामित्वको भृकुटी कागज कारखाना बन्द भएपछि नेपालमा कागज उत्पादन गर्ने ठूला उद्योग छैन । कागज, मसी र छपाई मेसिन लगायत धेरैजसो प्रविधिका लागि हामी छिमेकी मुलुक भारतसँग निर्भर छौं । आफ्नो देशमा कागज समेत उत्पादन गर्न नसकेर कागज बनाउन सकिने कच्चा पदार्थहरु त्यत्तिकै खेर गइरहेको अवस्था छ भने भारत, चीन लगायतका छिमेकी देशबाट आयात गरिएका महङ्घो मेसिन, कागज र मसीबाट तयार गरिएको अर्बाैं रुपैयाँ बराबरको पाठ्यपुस्तकहरु एक वर्ष पुग्ने बित्तिकै हामी बिनामूल्य खेर फालिरहेका छौं ।
हरेक वर्ष सरकारीस्तरबाटै निःशुल्क वितरण हुने भएपछि सामुदायिक विद्यालयका विद्यार्थीले अचेल किताबको जतन गर्नै छाडिसकेका छन् । विद्यालयमा हरेक विषयका पाठ्यबस्तु पढिसकेपछि कक्षाकार्य र गृहकार्यलाई विद्यार्थीले कापीमा अभ्यास गरेर सम्बन्धित विषय शिक्षकलाई देखाउनुपर्छ । तर निजी विद्यालयका प्रकाशकहरुले किताब भित्रको अभ्यास खण्डमा समेत खाली ठाउँ भर्ने छुट्टयाएका हुन्छन् । यसरी खाली ठाउँ भरेर गृहकार्य अभ्यास गरेको ठाउँमा शिक्षकले रातोमसीले रेजा लगाएपछि त्यो किताब अर्को वर्षका विद्यार्थीका लागि उपयोग गर्न नमिल्ने हुन्छ । यसलाई उनिहरुको प्रत्येक वर्ष किताब बिक्री गर्ने रणनीति नै हो भन्न सकिन्छ । यहि कारण देखाएर प्रकाशक, वितरक र विद्यालयहरुले प्रत्येक वर्ष निजी विद्यालयका अभिभावकलाई नयाँ किताब किन्न लगाइरहन्छन् । पछिल्लो समय किताबका प्रकाशक र वितरक बीचको बढ्दो प्रतिस्पर्धाका कारण निजी विद्यालयहरु अभिभावकलाई विभिन्न प्रकाशनका किताब किन्न लगाउँछन् । धेरै प्रकाशकलाई चित्त बुझाउने नाममा निजी विद्यालयले आवश्यकता भन्दा बढी किताब किन्न लगाएर विद्यार्थी र अभिभावकलाई आर्थिक बोझ थपिदिएका छन् । यसका साथै साना नानीबाबुहरुलाई उनिहरुको शारीरिक क्षमता भन्दा बढी तौलको किताब कापी बोक्न बाध्य बनाइरहेका छन् ।
आफूले अध्ययन गरेको किताबको जतन गर्नु नै विद्यार्थीका लागि पहिलो शिक्षा हो । किताबको जतन गरेर यसलाई पूनः प्रयोग गर्न सकिने सीप सिकाउन सकेको खण्डमा विद्यार्थीले भविष्यमा अरु सामानहरुको जतन गर्ने र पूनः प्रयोग गर्ने अमूल्य ज्ञान प्राप्त गर्न सफल हुन्छन् । यसका लागि विद्यालयले प्रत्येक वर्षको अर्धवार्षिक र वार्षिक परीक्षामा किताबको जतन गर्ने विद्यार्थीको स्तर अनुसार प्रयोगात्मक परीक्षामा अंक दिने व्यवस्था गरिनुपर्ने देखिन्छ ।
देशको नागरिकलाई आधारभूत शिक्षा प्रदान गर्ने मुख्य दायित्व राज्य वा सरकारको हो । नेपालको संविधान २०७२ ले पनि शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । शिक्षालाई सबै नागरिकको पहुँचमा पु¥याउन राज्यले अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरी यसबाट कसैलाई बञ्चित गराउन नहुने नीति लिएको छ । यसका लागि आवश्यक पर्ने सबै व्यवस्था राज्यले नै गर्नुपर्ने भएकाले विद्यालय शिक्षामा राज्यले व्यापक लगानी गर्दै आएको छ ।
सरकारीस्तरबाट विद्यालयका किताब प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि कुल १ करोड ७० लाख पुस्तक छापेको छ । यो वर्ष कक्षा नौ र दशका लागि ७ विषय, कक्षा चारदेखि आठसम्मका लागि ६ विषय र कक्षा एकदेखि तीनसम्म लागि ४ विषयका किताब छापिएका छन् । केन्द्रका अनुुसार देशभर सबै कक्षाका विद्यार्थीका लागि वितरण गर्न पुग्ने किताब छापिसकेको छ । केन्द्रले कतै किताब अपुग भएमा फेरी छाप्दै पठाउने गर्छ । यस्तै निजी प्रकाशकहरुले वार्षिक कति पाठ्यपुस्तक प्रकाशन गर्छन् भन्ने एकिन तथ्याङ्क नभएपनि सामुदायिक विद्यालयका विद्यार्थीकै अनुपातमा निजी विद्यालयका लागि पुस्तक छापिने अनुमान गर्न सकिन्छ ।
सरकारले विद्यालयका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापनमा प्रत्येक वर्ष २ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गर्दै आएको छ । तर पनि समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन । शैक्षिक सत्र सुरु भएपछि विद्यार्थीले किताब नपाएको गुनासो सुनिन थाल्छ । शैक्षिक सत्र सकिने बेलासम्म दुर्गम भेगका कयौं विद्यार्थी किताब नै नहेरी परीक्षा दिन बाध्य हुन्छन् ।
विश्वका धेरैजसो विकसित देशमा पनि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिएको पाइन्छ । पाठ्यपुस्तक पनि निःशुल्क हुन्छ तर पनि उनीहरुले एकपटक छापिएका किताब कम्तीमा पाँच वर्षसम्म प्रयोगमा ल्याउनुपर्ने नियम बनाएका हुन्छन् । हाम्रो जस्तो गरिब मुलुकमा भने कमिसनको लोभमा परेर सरकार निकटका मानिसले पुराना पुस्तक पुनः प्रयोग गर्ने नीति ल्याउन नचाहेको शिक्षाविद् मनप्रसाद वाग्लेको तर्क छ । कागज खरिद र पुस्तक वितरणमा हुने कमिसनको चलखेलका कारण किताबको अभाव हुने गरेको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् । विद्यार्थीलाई निःशुल्क पुस्तक उपलब्ध गराउने नाउँमा सरकारी कर्मचारीदेखि पुस्तक छपाई र वितरणमा संग्लन माफियासम्मले गर्ने गरेको कमिसनको बार्गेनिङले पुस्तकको कृत्रिम अभाव सिर्जना हुने गरेको यस क्षेत्रका जानकारहरु बताउँछन् । सरकारले किताबको गुणस्तर व्यवस्थापन गरी कम लागतमै वितरण गर्नेतर्फ पहल गरिएको देखिँदैन । एकपटक प्रयोग भइसकेका किताब पुनः प्रयोग गर्ने विकल्प हुँदाहुँदै सरकारले बर्सेनी कमिसनको चक्करमा नयाँ किताब छाप्ने काम गर्दै जनताले तिरेको करको अरबौं रकम दुरुपयोग गरिरहेका छन् ।
विद्यालयका पाठ्यक्रम वर्षैपिच्छे परिवर्तन नहुने भएकाले सरकारले हरेक साल किताब छापेर विद्यार्थीलाई वितरण गर्नुभन्दा एकपटक छापिएको किताब केही वर्षसम्म पुनः प्रयोग गराउने नीति ल्याउनुपर्ने देखिन्छ । यसो गर्दा लागत पनि कयौं गुणा घट्ने र सबै विद्यार्थीको हातमा किताब उपलब्ध हुने देखिन्छ ।











