हरेकको जीवनमा एक सबैभन्दा महत्वपूर्ण पात्र हुन्छन् । मेरो जीवनको त्यो पात्र हुन् मेरी आमा । आमाले नै हामीलाई जन्म दिएर हाम्रो हेरचाह गर्नु हुन्छ । उहाँले देखाउनुभएको संसारमा नै हामी रमाइरहेका छौं ।
मेरी आमाले मेरो जीवनमा धेरै महत्वपूर्ण भूमिका खेल्नु हुन्छ । उहाँ मेरी आमा मात्र नभएर मेरो प्रगतिको स्रोत र सबैभन्दा मिल्ने साथी पनि हुनुहुन्छ । मेरी आमाको नाम सरस्वती अधिकारी हो । उहाँ ३४ वर्षको हुनुहुन्छ । उहाँ श्री भुटनदेवी माध्यमिक विद्यालयको मावि शिक्षक हुनुहुन्छ । उहाँ जागिर साथसाथै घरपरिवारको सबै सदस्यलाई पनि उत्तिकै नै हेरचाह गर्नुहुन्छ । उहाँ एकदम मिहिनेती र दयालु स्वभावको हुनुहुन्छ ।
उहाँ मेरो सुख, दुःख र सफलता, असफलता दुवैमा साथ दिनु हुने कारणले उहाँ मेरो प्रेरणाको स्रोत पनि हुनुहुन्छ । मेरो सफलताको आधारशिला पनि हुनुहुन्छ । उहाँले मेरो जीवनको हरेक पलमा सहयोग गर्नु भयो र मिहिनेत र परिश्रम गर्न सिकाउनु भयो । आमाले नै हामीलाई यो संसार देखाएर हामीलाई हिँड्न, बोल्न, खान र लेखपढ गर्न सिकाउनुभयो ।
उहाँले मलाई सामाजिक व्यवहारदेखि इमान्दारिता र परिश्रम गर्न सिकाउनुभयो । उहाँको जीवन जति गाह्रो भए तापनि उहाँले हामीलाई कहिले केही चिजको अभाव भएको महसुस नै गराउनु भएन । उहाँले हामीलाई खुसी बनाउन कहिले हार्नु भएन । मेरी आमा मेरो जीवनको पहिलो गुरु हुनुहुन्छ । जसले मलाई जीवन कसरी जिउने भन्ने सिकाउनु भयो ।











