हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघले १६ वर्ष उमेर समूहको टि–२० जिल्ला टिम तयार पार्न आयोजित प्रतियोगिताबाट २६ जनाको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । बैशाख २४ गतेदेखि २८ गतेसम्म ५ वटा टिम तयार पारेर छनोट प्रतियोगिता नै आयोजना गरिएको थियो । मकवानपुर क्रिकेट संघले सोमबार एक सूचना जारी गर्दै २८ जना खेलाडीको प्रारम्भिक सूचि तयार पारेको हो ।
प्रारम्भिक सूचिमा परेकाहरुलाई मंगलबार र बुधबार दुई दिन बन्द प्रशिक्षणमा राखिने छ । त्यसपछि भने जिल्ला टिम तयार पारिने मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले जानकारी दिनुभएको छ । छनोट प्रतियोगितामा ५ वटा टिम बीच राउण्ड रोविन प्रणालीमा खेलाइएको थियो । हेटौँडा–४, हुप्रचौरमा भएको छनोट प्रतियोगितामा पहेँलो टिम शीर्षस्थानमा रहन सफल भएको थियो । छनोट प्रतियोगिताको कुल ४ खेल मध्ये ३ मा जित निकालेको पहेँलो टिमको अन्तिम खेल वर्षाका कारण प्रभावित बनेको थियो । यस्तै सुन्तला रंग समूह ४ खेलमा ३ जित र एक हारसहित तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।
छनोट प्रतियोगितामा ७ विकेट लिँदै १३० रन बनाउन सफल अलराउण्डर सुन्तला रंग समूहका मोहम्मद साहवुद्धिन म्यान अफ द सिरिज घोषित भए । उत्कृष्ट व्याट्सम्यान पहेँलो समूहका शिवशक्ति महतो घोषित हुँदा उत्कृष्ट बलर पहेँलो समूहकै प्रसिद्ध तिमल्सिना घोषित भए । प्रसिद्धले छनोट प्रतियोगितामा ६ विकेट लिए ।
बन्द प्रशिक्षणका लागि बोलाइएका २८ जनालाई २ दिनको बन्द प्रशिक्षणपछि १४ सदस्यीय जिल्ला टिमको घोषणा गरिनेछ । यु–१६ मकवानपुर जिल्ला क्रिकेट टिमले जेठ पहिलो सातादेखि काठमाडौंमा हुने प्रादेशिक छनोट प्रतियोगितामा सहभागिता जनाउने मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले जानकारी दिनुभयो ।










