हेटौंडाको स्कूलरोडमा शुभकामना र्‍याली ।

हेटौंडाः नेपाली सम्वत् नेपाल सम्वतको नयाँ वर्ष ११४१ को अवसरमा हेटौंडामा भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ । नेवा सांस्कृतिक पुचः को आयोजनामा सीमित सहभागितामा सोमबार र्‍याली निकालिएको हो । नेपाली मौलिक सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा प्रयोगमा ल्याउन दबाव दिने उद्देश्यले हरेक वर्ष देशभर भिन्तुना र्‍यालीको आयोजना हुने गरेको छ ।

हेटौंडाको मेनरोडमा शुभकामना र्‍याली ।

नेपाली समुदायको मौलिक पर्वकै रुपमा सांस्कृतिक झाँकीसहित आयोजना हुने भिन्तुना र्‍याली यस वर्ष कोरोना महामारीको त्रासका बीच सीमित सहभागितामा आयोजना गरिएको नेवा सांस्कृतिक पुचः का अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । हरेक वर्ष आयोजना गरिने र्‍यालीमा नेवारी समुदायले मौलिक बाजा तथा लाखे नाच समेत प्रदर्शन गर्ने गरेका छन् । यस वर्ष भने सीमित सहभागितामा मौलिक सांस्कृतिक बाजासहित नगरक्षेत्रमा र्‍याली निकालिएको महर्जनले बताउनुभएको छ । कोरोना महामारीको त्रासका बाबजुद समुदायमा शुभ सन्देश प्रवाह हुने भएकोले भिन्तुना र्‍याली सीमित सहभागितामा आयोजना गरिएको उहाँको भनाइ छ ।

शुभकामना र्‍यालीमा सहभागी नेवारी बाजासहित सहभागी किशोरीहरु ।

शंखधर साख्वको तस्वीर अग्रभागमा लिएर नेवारी मौलिक बाजासहित हेटौंडाको संगमचोकबाट सुरु भएको शुभकामना र्‍याली हरिकुञ्जरोड, कान्तिराजपथ, पारिजातपथ, स्कूलरोड, सीमाचोक, मेनरोड, पिपलबोटचोक हुँदै पुनः संगमचोकमा पुगेर समापन गरिएको थियो । शुभकामना र्‍यालीमा सहभागीलाई विभिन्न स्थानमा सगुन समेत खुवाइएको थियो । समापनको अवसरमा किशोरीको एक समूहले नेवारी गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस सम्वत्लाई प्रचलनमा ल्याएको मानिन्छ ।