बु्ढ्यौली साहित्य समाजका संयोजक आरसी रिजाल ।

कविता लेख्नका लागि मात्र लेख्ने हो भने ठिकै छ । नत्र रोजगारीका लागि बिदेशीएकालाई आदर्श छाँट्नु भनेको ढाँट्नु हो । कलमले घाउमा मलम लगाउने कुरा लेख्ने कि नुन खोर्सानी छर्ने ? उनिहरुलाई “आउ दस नङ्ग्रा खियाउ, सुन यहीँ फल्छ, भाग्य यहीँ बल्छ ।” भन्दै साहित्यकारले लेख्नु भएको देख्दा म “कुहिरोको कागझैं” हुन्छु । कारण उहाँहरुले आफ्नै सन्तान विदेश पठाउनु भएको छ । फेरि लेख्नु हुन्छ “फर्केर आउ घर ।” कस्तो बिरोधाभाष कुरा ?

कविजीहरु यस्तो व्यङ्ग्य लेखेर हँसाउने प्रयास त गर्न हुन्छ । तर जनता हाँस्न सक्तैनन् । ल हेर्नुस्, “यहाँका डाँफे, मयुर, कोइली, झरना, हिमाल, पाखा, पखेरु आदि न्याश्रिएका छन् । तिम्रो प्रतीक्षामा विरहका गीत गाइरहेका छन्” भनी लेख्दिनु हुन्छ । ए बाबा, पेटमा पटुकी कसेर कोइलीको स्वरले, डाँफे मयुरको नाचले, झरनाको पानीले पेट भरिन्छ र ? बिदेशिएका पचासौं लाखलाई खै यहाँ रोजगारीको व्यवस्था । उहि “ठाउँ न ठहर बुढीको रहर” भनेझैं हो । आएर के काम गर्ने ? कहा“ बस्ने? परिवार कसरी पाल्ने ? यी पक्षलाई मनन् नगरी साहित्यकार कल्पनामा उड्न मिल्ला र ?

मेरा सन्तानहरु मास्टर डिग्रीको सर्टिफिकेट काखी च्यापेर हिँडिरहेका छन् । नङ्ग्रा खियाउने जमीन छैन । लोकसेवाले पचास जना अधिकृतको विज्ञापन गर्छ । पचास हजारको दर्खास्त पर्छ । आफ्नो नाउँमा लालपुर्जा नहुने ,नङ्ग्रा खियाउने विचरा सुकुम्बासीको झुपडीमा आगो झोसिन्छ । ज्युँदै मारिन्छ । कोरोनाको महामारीमा घर आएको लर्को बेकामीभै झर्को मान्दै फेरि उतै फन्को मार्दै छन् । जुन देशमा जे उत्पादन हुन्छ त्यही निर्यात गर्ने हो । नेपालले निर्यात गर्ने मान्छे बाहेक अरु के छ ? उहिले पनि भाडाको सिपाही जन्माउने देश भनेर नाम कमाएको हो । तपाईंहरु, “जमरा रोयो, मखमली ओइलायो” भनेर लेख्नु हुन्छ । अब त माला लगाईदिने चेलीबेटी पनि रेमिट्यान्सको नाममा भेटी बटुल्न बिदेशिँदै छन् । कविजीहरुले “नाङ्गो सत्यलाई बाङ्गो” नपार्दिनुस् भन्ने मेरो अनुरोध हो । उहिल्यै महाकविले उठाइसकेको विषयमा किन दोहोर्‍याई तेहेर्‍याई लेख्नुर कोट्याउनु हुन्छ ।

“हातको मैलो सुनको थैलो के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

हे कविजी, म तपाईंको भन्दिनँ कमसेकम कलमको इज्जत जोगाइदिनुस् । “फर्केर आउ घर” लेख्दा कलमलाई पीडा हुन्छ ।
कृषिप्रधान मुलुकमा एउटा मल कारखाना छैन । हरेक वर्षको बजेट भाषणमा यति र उति लाखले रोजगारी पाउने भनिन्छ । कहाँ कसले कति पाए त्यो चाहिँ सुनिदैन । हे कविजीहरु । यत्रो सानो देशले असङ्ख्य नेता पाल्नु पर्‍या छ । सङ्घीयता नेपालीका लागि क्यान्सर रोग सावित भएको छ । प्रदेश सरकारले बिचौलिया काम गरेको छ । यो देशका लागि ७७ जिल्लाबाट ७७ जना र केके जाति जनजातिका लागि २३ जना गरी १०० जना नेता भलिभाँती हुन्छन् । पालिकादेखि केन्द्रसम्म नेताको लर्को देख्दा आकाशबाट कागले बिस्ट्यायो भने पक्कै कुनै छोटे वा बढे नेताको तालुमा पर्ला जस्तो स्थिती छ । हो तपाईका कलमले यस्ता बिकृती ओँल्याओस अनि पो कलमको इज्जत बढ्छ । बिदेशमा भन्दा २५ प्रतिशत कम कमाईको यहाँ व्यवस्था भए कविताले “फर्केर आउ घर“ भनी फलाक्नै पर्दैन् । “अरुको लाख आमाको काख” भन्दै स्वतः फर्कन्छन् ।

हे कविज्यु । ऐले नेपालीको मनस्थिति नै सन्तानलाई बिदेश पठाउनु हो । सन्तानको सपना पनि त्यही हुन्छ । कुनै घरको हुर्केका युवायुवती बिदेश नगएको देख्दा “कस्ता हुतिहारा “भनी लान्छना लगाउन थाल्याछन् । देशमा डुकुलन्ठनभै बस्दा “खाली दिमाग सैतानको घर” भनेझैं दिमागमा विकृतिले वास बस्न सक्छ । हे कविज्यु । मेरो बाजेले राणा कालको गफ सुनाउनु भएको थियो । एक समूह लिएर शिकार खेल्न गएका राणा प्रधानमन्त्रीले एउटा बाङ्गो रुख देखाएर, “ल हेर कस्तो सोझो रुख” भन्दा “एकजना बाहेक सबैले “हो सरकार” भनेका थिए रे । तर कविता रच्न सिपालु त्यो व्यक्तिले, “खै सरकारको आँखा फुट्या हो कि मेरो गर्धनले खुकुरी खोज्या हो । रुख त म बाङ्गो देख्छु “ भनेर सत्य कुरा बोल्या थिए रे । अब हामी पनि त्यस्तै बोल्ने र लेख्ने कि ?