सिएम रिमाल हेटौंडा

उठ अब उठ
कति सुत्छौ
धेरै भयो सुतेको
होसमा आउ अब त
छिमेकीले के भन्लान्
यहाँ तिमीजस्ता कयौँ वीरमानहरु
अझै जीवित छन्
तिम्रो परिवारमा
जस्तै आँखा नओबाएका
रातभरि सपना कुरिबसेका

ती पिपाशु मान्छेले
आखिर छाडेन
र पनि भिँडमा देखाए
सबलाई आफ्नो पुरुषत्व
राक्षसी पाराले
वीरमान,
सरकार पनि छ हाम्रो देशमा
स्वर्ण अक्षरले नयाँ युग लेखाउने
सपना बोकेका ती भ्रष्ट नेताहरु
जनताको काधमा चढेर
भ्याइरहेका छन् बन्दुक पड्काउन
झुस्स दारी पालेर
दृष्टि माथि कालो चस्मा हालेर
इच्छा मरेको लास झै
अस्तिपन्जर खुस्केको
अनुहार हराएको
सरकार !
ताम झामसँग आएको गणतन्त्रलाई
फोस्रा शब्दालङ्कार
र बोक्रो दर्शनले
पार्दै छ खोक्रो

मलाई यही त ताजुब लाग्छ नि वीरमान
तिमी निरीह छौ
म मेरा वीरमानलाई राम्ररी चिन्छु
अरु कसैले चिन्दैन
मेरा वीरमान बहादुर छन्
उनले मात्र लिएका हुन् विश्राम
वीरमानजस्ता हजारौँ छन् यहाँ
त्यो छाती र पाखुरामा गोली खाएका
सलायन पानीका सुई घुसारिएका
कुनै सिनेमाको हिरोभन्दा कम थिएनन्
मेरा वीरमान

यो सरकार रछ्यानमा ल्याउन खोज्दै छ शान्ति
आफैँले फ्यालेको कसिङ्गर र फोहोरमा
चलाएको छ अरुको जीवन
यहाँ टोल टोलमा बलात्कार छ
खल्तीखल्तीमा भ्रष्ट छ
अनि पोल पोलमा सरकार छ

राराको फेदीमा बसी
एकोहोरो टोलाइ रहेको
वीरमान आज
समृद्धिको कामनाका निम्ति
हजारौं वीरमानको पर्खाइमा छ ।