सिएम रिमाल हेटौंडा

शरद ऋतु । चकमन्न मध्यान्ह । टन्टलापुर घाम । भर्खरै मनसुनको बिदाईसँगै पानी पर्न रोकिएकाले हो कि दशैं नजिकिँदा नजिकिँदै पनि उखरमाउलो घामले छाला डढाउन छोडेको थिएन । त्यसै पनि हेटौँडा पहिला जस्तो छैन । अहिलेको मानिसको अत्याधिक चापले गर्दा पनि हुन सक्छ । तराईबाट आउनेलाई त चिसै लाग्दो हो । तर यतैको रैथाने तथा केही वर्ष यतै बस्नेलाई त यो चरक्कै परेको दिउँसोको घाम औधि सकसपूर्ण हुने नै भो । म यो सब अवस्थालाई थाती राख्दै आफ्नो प्रेमिल माटोलाई भुल्न नसकी गृहजिल्ला प्रस्थानमा गरेँ मेरो जहानसँगै दुई पाङ्ग्रे गाडीमा । 

पानी पाम् न । घरबाट लान भुलेकाले घर जाने बाटो रातोमाटेको पसलमा एक बोतल मिनेरल वाटर किनिमागेँ । 

कति हो ? 

पच्चिस ? थाहै थियो भाउ, बजारभन्दा यहाँ केही महङ्गो हुन्छ नै भनेर त्यसैले हातमा ठिक्क पारिराख्या भर्खरै बैँकबाट बुबालाई दिन राखेको बण्डलभित्रको बीस र पाँच रुपियाँको नयाँ नोट साहुजीको हातमा थमाइदिएँ र हिँडेँ ।

सूर्यले केही घण्टाका लागि विश्राम लिने समयमै पुगियो घर । धेरै समयपछि घर गएकाले परिवारमा खुसीको बहार आएको थियो । 

थकाइको निद्रालाई छेकबार लगाउने प्रयत्न असफल नै भयो । 

सूर्यले आफ्नो पहेँलो किरण पृथ्वीमा स्पर्शका लागि पठाइसकेको थियो । कोइलीले मिठो धुनमा दशैँको स्वागत गर्दै थियो । कोही भने नयाँ नयाँ कपडा तथा मासुको जोहो गर्नमा नै आतुर थिए भने कोही अर्काको घरमा खसी काटेको र्हेन । 

पिङ्मा मच्चिनेको पनि कमी थिएन । हल्लाउनेको भिँड देखिन्थ्यो नै कारण १४ वर्षदेखि १८ वर्ष उमेरसम्मका बढी देखिन्थे । आकाशमा कुनै कालो बादलले आफ्नो अधिपति जमाएको थिएन । चङ्गा भएको थियो आकाश । मलाई किन किन आफ्नो विगतसँग रमाउन मन लाग्यो ।  

“नमस्कार गुरु !”

“को ………..हो ? मैले त ….चिनिनँ नि,” भित्रैबाट मधुरो स्वर सुनियो ।

बोली सुन्ने बितिक्कै मेरा आँखा रसाए । उहाँ कामिरहनु भएको थियो । डरले हो या कमजोरीले । ओठ थर्रथराईरहेका थिए । 

धेरै वर्षको अन्तरालपछि मैले भेट्ने सुनौलो अवसर पाएको थिएँ । मलाई कखरा सिकाउने मेरो आदरणीय गुरु – हरि गुरु । 

बिर्सनु पनि कसरी ? मैले आजभन्दा २८ – ३० वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेको थिएँ मानौं त्यही क्षणलाई बाँधेर टक्क पहाड अडिएको झैँ । 

मझौला कद, गहुँगोरो रङ, मृदुभाषी बोली, ठूलो निधार थियो तर अहिले आँखामा मोटो लेन्सको चस्मा, अनि ती आँखाभित्रबाट चिहाइरहेका दुई स्नेहशक्ति आँखा । अहिले त आँखीभौँमा ठाउँ नै थिएन सेतो हुन । आवाज पनि भूकम्पका पराकम्पनझै । ढाँड पनि कुप्रेका । चश्माको पावर दोब्बर भएछ । 

उहाँले पढ्दै गरेको उपन्यासको पुस्तक छेवैको टेबलमा राखेर भन्नु भएको थियो ।

“ए ….. ! बस बस कताबाट ? ओहो ! चिन्नै नसक्ने भएछौ ।” मैले आफ्नो परिचय दिनुअघि नै गुरुले चिन्नु भयो ।

“तिमी एकैछिन बस है, म खाजा बनाएर ल्याउँछु ।” आफूले ओढिराखेको पछ्यौरा, जो अघिसम्म उहाँको शरीरलाई ढाकेको थियो त्यही आफू बसेको मेचमा फुत्त फाल्दै भन्नु भयो । 

“होइन गुरु, तपाईं बस्नोस् न, आज मैले पकाएको खाजा खाने । म आफैँ बनाएर ल्याईहाल्छु नि खाजा,” भन्दै म भान्साकोठातिर लागेँ । 

“ए …. लौ म बूढोलाई दुःख दिने मन रहेनछ ।” भन्दै गुरुले एक क्षण मैतिर हेरेर पुनः उही ठाउँसँग माया गाँस्नु भयो ।

भान्साकोठाको प्रत्येक कुना कुनामा परिचित म ग्यास बालेर एउटा पुरानो, ठाउँठाउँमा कुच्चिएको सिलावरको दिउरेमा दुई गिलास पानी राखेर चिया बसाल्न थालेँ । 

मेरा बाल्यकालका स्मृतिहरू अझै मानसपटलमा अङ्कित छ यो कोठा ! भित्ता–भित्ता, कुनाकुनामा मेरो गन्ध आइरहेको छ । मेरा ती अविस्मरणीय पलहरुले मलाई बोलाइरहेका छन् । बाल्यकालका अनुभूतिहरू मुनाका टुसा भएर बसेका छन् । मैले त्यो कोठालाई बिर्सनै नसकेर आँखा भरिभरि माया बोकेर हेरिरहेको छु । एकातिर एउटा धमिराले खाएको कपडा राख्ने पुरानो दराज । एउटा कुनामा परिवारको बिर्सनै नसक्ने फोटो । अर्को कुनामा भित्तामा ठड्याएर राखेको जवानीको तस्बिर । धेरै दिनसम्म पुस्न नभ्याएको ग्यास चुलो । उही कोठा, उही नाम फरक थियो त केबल शक्तिमात्र गुरुमा । 

पहिलाको र अहिलेको फरक समय मात्र थियो घरको । स्वरुप जस्तो थियो उस्तै । साराको जीवन बदलियो तर हरि गुरुको जीवन उस्ताको उस्तै ।  झ्वाट्ट देख्नासाथ गुरु उस्तै लागे पनि आजको गुरुको जीवनप्रतिको उत्साहमा भने केही कमी आएको भान भयो मलाई । आजको गुरुको आँखामा स्नेह उस्तै रुपमा रहे पनि त्यसमा भएको चमक हराएको थियो जुन समय म गुरुकहाँ पढ्न आउँदा देख्ने गरेको थिएँ । 

समयको बदलाबसँगै धेरै ठाउँहरुमा यात्रा गर्ने अवसर जुटेको थियो । त्यस यात्राका लागि टिकट काटीदिने, यात्राका लागि आवश्यक पोकोपन्तुरा तयार पारिदिने, यात्रामा विश्राम लिन चौतारीको व्यवस्था गरिदिने मेरो आदरणीय गुरुलाई गुरुको रुपमा पाएर जीवनमा एउटा ठूलो उपलब्धि आर्जित गरेको थिएँ मैले । यो क्षण मेरा निम्ति सौभाग्यको क्षण थियो जुन घडी मैले गुरुलाई गुरुदक्षिणा दिने सुअवसर प्राप्त गरेको थिइनँ । आज साच्चै गुरुदक्षिणा दिने ठूलो इच्छाशक्ति जुर्मुराएको छ । मनमा उत्साहाको वेग उत्पन्न भएको छ । मनमा खुसीका ज्वारभाटाहरु सल्बलाइरहेका छन् ।

साँच्चै नै गुरुकहाँ पढ्न जाने प्रत्येकले महिनैपिच्छे पारिश्रामिक कुनै प्रतिवाद नगरेर नियमित रुपले दिने गर्दथे तर मैले भने सित्तैमा पढ्ने गरेको थिएँ ।  अरुसरह विद्या अध्ययनको भोक लाग्नु स्वभाविक थियो मलाई पनि त्यतिबेला । म एक छोरा मात्र थिएँ, जुन निजी विद्यालयमा पढ्न पाउने । घरमा लडाइँ गरेरै भएपनि मैले निजी विद्यालयमा पढ्ने सपनालाई जितेँ । आज मेरो मथिङ्गलमा झट्का हानिरहेको छ –त्यसबेला म पुस्तकै नकिनी अरुसँग पुस्तक मागी दिनभरि ल्याएर पढने गर्थेँ । भोकले निमोठिएका रित्ता आन्द्रालाई पानीले भरेर तथा अरुसँग मागेर भएपनि पुस्तकका अक्षरहरू पिइरहन्थेँ, खाइरहन्थेँ, म आफ्ना लोलाएका–भिजेका आँखाहरुले । 

बाबुले दिनभरि अर्काकहाँ गएर पूजा पाठ गरेर धान चामल ल्याउने गर्नुहुन्थ्यो । चांडबाडले अरुको निम्ति खुसीयाली बोकेर ल्याउँदथ्यो । मेरा लागि नयाँ कपडा उही विद्यालय पोसाक – आकाशे रङको सर्ट र निलो निलो खालको पाइन्ट । टीकाका दिन त्यही विद्यालयीय पोसाक लगाएर बस्दा टीका लगाइदिँदै गरेका बुबा र आमा विगतलाई सम्झेर रुने गर्नुहुन्थ्यो । मामाघरले दिएको केरा र स्याउ अनि दही खानका निम्ति हामी दाजुभाइमा बाँदरझैँ लुछालुछ हुन्थ्यो । 

त्यस बेला दिनहुँ बिहानबेलुका म कापीकलम बोकेर हरि गुरुकहाँ पढ्न जान्थेँ । बेलुका मेडमले गहुँको रोटी पकाएको बासना मेरो नाक हुँदै पाकनलीमा पुग्थ्यो । म सुटुक्क भित्र छिरेर एउटा मुखमा हाल्न भ्याइ हाल्थेँ । त्यहाँ हाम्रै विद्यालयका अरु छिमेकी साथीहरु पनि पढ्ने गर्दथे । म अलि चञ्चले स्वभावको थिएँ जसको कारण गाली पनि बेलाबेलामा पुरस्कार स्वरुप पाउने गर्थेँ । 

गुरुको खरको छानो, हावाले उडाउला भनेर ठाउँठाउँमा बाँधिएको थियो । घरको आँगनमा एउटा अम्बाको बोट पनि थियो तर त्यस बोटमा पाकेको अम्बा बिरलै हुन्थ्यो कारण चिचिला लागेदेखि ढुङ्गा हान्न थाल्थेँ म । 

गुरुले एकचोटी बुझाएपछि ती बचनहरू मानसपटलमा शिलापत्रझैँ बसेका छन् अझैपनि । हुन पनि गुरुले पढाएको एक – एक अक्षरले मष्तिस्कको द्वार एउटा एउटा गरेर खोल्दै गएको छ, बसेको छ र त आज म यो ठाउँसम्म पुग्न सफल भएको छु ।

प्रत्येक दिन त्यस घरबाट फर्कँदा गुरुबाट पाएको अमूल्य ज्ञान तथा शिक्षाको सदुपयोग गर्दै आज म यहाँसम्म पाइला टेक्न सक्षम भएको छु । 

कहिलेकाहीं गुरु र मेडमको सांसारिक अवस्था र गुरुको सहनशीलता देखेर अचम्म लाग्दथ्यो मलाई ।

बाबुको प्रखर तिखो बुद्धी पाएका ती लालाबालाहरु नियमित रुपले विद्यालय जाने गर्दथे र वर्षै पिच्छे पहिलो दोस्रो स्थान ओगट्नु कुनै ठूलो कार्य थिएन उनीहरुका निम्ति । अनि उनीहरुको बढेको केश, मैलो लुगा र शरीरको स्याहार गर्ने ती सोझी आमाको मन साच्चै पहाड नै थियो । कहिल्यै नराम्रो वचन गर्नुभएन मेडमले । रिसलाई जहिल्यै पैलातामुनि राखेर हिँड्ने मेडमको बोली रुखो सुन्न पाइएन कहिले पनि ।

ला, चिया पनि उम्लिेसकेछ । म त केके सोचेर पो बसेछु । गुरुले पनि के भन्नुहोला अब ।  

दुईवटा गिलासमा कालो चिया लिएर एउटा गिलास गुरुको अगाडि राखिदिएँ । अर्को आफैँले हातमा समाएँ । 

“ल….. हिजो ल्याएको दूध पनि पो सिद्धिएछ त … भन्दै शुष्क हाँसो हास्नुभयो गुरु । 

अतितको स्मृतिले भरिएको मेरो मनले एकछिनसम्म वार्ताको छेउ खोज्नै भ्याएन ।

“तिमीले त एम एड पनि ग¥यौ है ? के विषय लिएर ग¥यौ त ?” सुरु गुरुबाट नै भयो ।

“हजुर…..नेपाली विषय लिएर !” यतिमात्र भनेको थिएँ गुरु मौन हुनुभयो । 

मलाई लाग्छ गुरुको स्मृतिमा धेरै कुरा आज पनि सल्बलाइरहेका छन् ।

“अनि गुरु तपाईंको खबर के छ बाबुनानीहरु कहाँ छन् ?” 

लामो निःश्वास लिएर भन्नुभयो गुरुले – “छोराहरू पनि सबै ईश्वरको कृपाले आफ्ना खुट्टामा उभिने भएका छन् ” त्यसोभन्दा उहाँको आँखामा क्षणभरको निम्ति वर्षौअघिको चमक देखापरेको थियो । 

जे भए तापनि छोराहरुलाई भने बेस्सरी पढाए गुरुले तर के गर्नु अहिले त्यत्तिका कमाउने छोराहरू हुँदा पनि स्कुलको भरमा जिउ र एक्लै घर धान्न परेको छ । बरा बुढेसकालमा श्रीमतीबाहेक अरुको सहारा पाएनन् ।

“तिम्रो मेडमले हिजो भर्खर कुरा गरेकी थिई तिम्रो विषयमा । “अब कहिले फर्कन्छौ त ?” केही सजग भएर सोध्नुभयो गुरुले । 

“पन्ध्र दिन जति बस्छु होला गुरु ” मैले उत्तर दिएँ । 

“गुरुलाई भनेर गुरु दक्षिणा के नै ल्याउन सकेको छु र मैले” मन नै थामिएन मेरो ।

“हैट् …….के नै चाहिन्छ र मलाई ? तिमी आयौ सबैभन्दा ठूलो खुसी र गुरु दक्षिणा त यही हो नि । अझ तिमी राम्रो ठाउँमा जागीर खान थालेछौ । राम्रो बाटो समाउनु गुरुहरुका लागि सबैभन्दा ठूलो गुरु दक्षिण त्यही हो नि ।”

मैले ब्यागबाट थोरै चिनीरहित मिठाइ र रामायाणको पुस्तक झिकेर गुरुतिर बढाउँदै दिएँ । 

“मेरो निम्ति ! उपहार ….,” खुसी हुँदै गुरुले मिठाइ मलाई पनि दिनुभयो । अनि किताब जतनले हेर्नु भयो । 

“ओहो ! मेरो बूढेसकालको साथी धन्यवाद छ तिमीलाई ।” 

गहभरि आँसुले भरिएको थियो गुरुको ।   

“ल, गुरु अब म जान्छु है !”

“लौ ! के भनौँ र म ।  हुन्छ, यसो आउँदै गर क्यारे । आफ्नो र परिवारको ख्याल गर । अझै प्रगति हुँदै जाओस् ।” 

त्यसदिन गुरुको घरबाट फर्केर आउँदा गुरुप्रति मेरो मन संवेदनशील भएको थियो । गुरुको आजको त्यो अवस्था देखेर मलाई भित्र भित्र विरक्त लागेर आएको थियो । मसँग कहिल्यै पनि गुरुदक्षिणाको माग गर्नुभएको थिएन गुरुले । बरु उल्टो उसको निम्ति किताब, कलम र अरुका पुराना किताबहरू खोजेर दिने गर्नुहुन्थ्यो । पैसा नहुँदा खाजा खान दिने गर्नुहुन्थ्यो । म कुनै दिन विद्यालय आइन भने बेलुका घरमै आएर आज किन विद्यालय नआएको भनेर आमाबुबालाई सोध्नुहुन्थ्यो । त्यतिखेरको हरेक समय हरेक पल निकै नै ख्याल गर्ने हरि गुरुसँगको भेटले आज म निकै नै उत्साहित भएको छु । 

आज मेरो पारिवारिक जीवन सन्तोषपूर्ण छ । शिक्षित श्रीमती एक सन्तान पाएर म अति खुसी छु । म आफैं पनि एउटा विद्यालयमा नेपाली विषयको सुपरिबेक्षक भएर काम गर्दै छु ।

धेरै वर्षपछि आफ्नो बाल्यकाल बितेको ठाउँमा आउँदा विगतका तिता मिठा स्मृतिले रोमाञ्चित तुल्याएको थियो मलाई । यो मेरो शैशवकाल बितेको ठाउँ, जहाँ मलाई जन्म दिने आमा, मेरो भविष्यका डोरीहरु बाटीदिने र आफ्नो कर्तव्य निभाउने पिता, माटोमा लडिबुडी गर्न सघाउने साथी –सङ्गी, आपत पर्दा हारगुहार माग्ने छरछिमेक छन् जसले मेरो अँध्यारो जीवनमा आफ्नो ज्ञानको ज्योति बालेर बाटो देखाए, मलाई मेरो गन्तव्यमा पु¥याए, तिनै साधु पुरुषको यो अवस्थाको ख्याल गर……… 

“हे ईश्वर !! रक्षा गर !! । अनायासै मेरो मनबाट उब्जिए यी शव्दहरु । आँखाभरि आँसुका ठिक्का भरिए । 

जानुभन्दा अघिल्लो दिन म गुरुसँग बिदाबारी हुन गएको थिएँ ।

सदाझैं गुरु त्यही मैलो पछ्यौरा ओढेर रामायणमा आँखा गाडेर बस्नुभएको थियो । 

“यी तिमीले ल्याएदिएको मेरो साथीसँग गफ गर्दै दिन बिताइरहेको छु ।” बढो खुसी हुँदै भन्नुभयो । 

चिया पिएर एकछिन कुरा गरेपछि “गुरु ! म भोलि हेटौँडा फर्कदैछु,” मैले आँखाबाट ओर्लन लागेको आँसुलाई बलजफ्ती पिउने प्रयत्न गर्दै भनेँ ।

“ए .. पन्ध्र दिन भैसक्यो ? 

अनि मायालु स्वरमा “जाऊ ..जाऊ आफ्नो घर गृहस्थी राम्ररी सम्हालेर बस – ईश्वरले सदा सुखी राखून् .. ! “पीडाले व्यथित उनको स्वरको कम्पाहटले मेरो मुटुमा परेको गाँठो फुकाइदियो । मेरो मुखबाट कुनै पनि वाक्यका फोहोराहरु निस्केनन् । तर ढोग्दाखेरी आँखाबाट झरेका अविरल आँसुका धाराले गुरुको हात भिजाएको थियो । सायद त्यही नै मैले मेरो गुरुदक्षिणा सम्झेँ ।