वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

प्रत्येक चाडपर्व तथा अवसरहरु लगायतका शुभ समाचारहरुमा एक आपसमा शुभकामना आदानप्रदान मानवीय संस्कार हो । हाम्रो परम्परा पनि हो । नियमित चाडपर्वहरुमा हरेक वर्ष आपसमा सुस्वास्थ्य, सद्भाव, शुभेच्छा, शुभभावना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको लिखित मौखिक र डिजिटल माध्यमबाट शुभकामना व्यक्त गर्ने हाम्रो पहिचानले यस दशैंमा पनि निरन्तरता पाएकै छ ।

हामी सबैलाई शुुभकामना भन्न हतार गर्दछौं । यो हतारो पक्कै राम्रो होइन । सर्वप्रथम हामी व्यक्ति वा प्रवृत्ति कसलाई वा दुबैलाई सद्भाव व्यक्त गरिरहेका छौं भन्नेमा स्पष्ट बन्नै पर्दछ । सद्भाव तथा शुभभावना त राम्रा, चरित्रवान, नैतिकवान, सदाचारी, राष्ट्रवादी, परिश्रमी, लगनशील, ईमान्दार व्यक्ति वा सो प्रवृत्तिलाई सम्मानजनक मर्यादा गर्ने हो । गोलमटोल रुपमा औपचारिकता पूरा गर्दै सबैलाई शुभकामना भन्ने चलन अब तोड्न बिलम्व भइसकेको छ । हामी गम्भीर बन्नुपर्ने सवाल भनेको भ्रष्टाचारी, कामचोर, शोषक, दुराचारी, राष्ट्रघातीहरुको त अन्त्य चाहन्छौं । ती व्यक्ति र प्रवृत्तिको कदापी राम्रो नहोस् भन्न रत्ति पनि असहज मान्नु पर्दैन । ती तमाम बेठीकहरुको बिरुद्धमा हामी सदैव उभिने हो, सङ्घर्ष गरिरहने नै हो । सयौं वर्षदेखिको हाम्रो आन्दोलन भनेकै भ्रष्टाचारीको समूल नष्ट गर्नकै लागि हो । दूराचारी तथा राष्ट्रघातीहरुले पर्याप्त सजाय पाउनु पर्छ भन्ने हाम्रो माग हो । ईमान्दार तथा मिहिनेती र उच्च चरित्रवानको मर्यादा गर्नैपर्छ । सदाचारलाई सम्मान गर्दै सद्भाव तथा शुभभावना राख्ने नै हो, प्रोत्साहन गर्ने हो ।

राष्ट्रघातीहरु कहिल्यै पनि शुभभावनाका पात्र हुनै सक्दैनन् । जसले देशलाई ठगेको छ, जनतालाई धोका दिएको छ, जो भ्रष्ट छ, जो दूराचारी छ, त्यस्ता जनताका शत्रूहरु प्रति शुभेच्छा र शुभकामना हैन, दण्ड, सजायको पक्षमा जोडदार र सशक्त आवाज उठाउनु पर्दछ । कालाबजारीयाहरुको अन्त्य चाहन्छौं । सबैखाले बेठीकहरुको अविलम्ब विनाश नै हुनुपर्दछ । राष्ट्रिय ढुकुटीको दुरुपयोग गर्नेहरु आजन्म जेल राख्नै पर्दछ । गलत र सही एकै स्थानमा राख्न कदापी सकिँदैन । भ्रष्टहरु कदापी मर्यादित बन्न सक्दैनन् ।

ती व्यक्तिहरु जो भौतिक रुपमा आज देख्न सकिन्न तर देश र जनताका लागि जीवनको वलिदानी दिए, आफ्नो र परिवारको स्वार्थबाट माथि उठेर यो भूमिको स्वाधिनता र अखण्डताका लागि आफूलाई समर्पण गरे, सही अर्थमा आदरणीय र मर्यादित उनीहरु नै हुन् । तमाम बेठीक र कुतन्त्रका विरुद्धका लडाईंमा ज्यान गयो, घाईते बने, जेलनेल र यातना दिइयो । परिवार र आफन्तको ठेगान नै हरायो । शिक्षा बुर्जुवा भएकाले स्कूल कलेज जाने कुरै भएन । स्वास्थ्य समस्या हुँदा उपचार पाएनन् । जीवन जीउन अत्यन्त जटिलताको सामना गरेर सङ्घर्ष गरिरहने स्थिति बन्यो । व्यवस्था फेरियो । शासक बदलिए । संविधान नयाँ बन्यो । सिंहदरबार घरटोलमा आयो भनियो । आखिर तिनै शोषकहरु, सामन्तहरु, दलाल पूँजीवादका पृष्ठपोषकहरु, भ्रष्टहरु, श्रमचोरहरु, राष्ट्र र जनताका दुश्मनहरु भिन्न नाम र आवरणमा देखापरे । राष्ट्रदोहनमा प्रतिस्पर्धा गर्नेहरुको समूल नष्टको कामना गर्न छाडेर थप शुभेच्छा शुभकामना दिनु भनेको हामी पनि त्यहि भ्रष्टहरुको कित्तामा उभिनु नै हो । अर्थात ती सबै बैठीक हर्कतहरुको मौन समर्थन हो भन्ने अर्थ बुझिन्छ ।

सम्मान त ती सच्चा शहिदहरु प्रति गर्नु पर्दछ । शुभकामना र सद्भाव ती शहिदका परिवार, घाईतेहरु, नैतिकवान, चरित्रवान, इमान्दार, लगनशील, परिश्रमी किसान तथा मजदूरहरु र राष्ट्रभक्तहरुको नाममा व्यक्त गर्नु पर्दछ । उनीहरुप्रतिको शुभेच्छा मात्रले पनि सन्तोष प्राप्त हुन्छ । सही चरित्र र पात्रमा गरिएको शुभकामनाबाट आनन्द पैदा हुन्छ । गोलमटोल सबैमा शुभकामनाको औपचारिकता व्यक्त गर्नुले खास मतलब राख्दैन । त्यो त एक बिजिनेस मात्र बन्न पुग्दछ । सकिन्छ भने सहयोग गर्नु राम्रो हुन्छ । सकिन्न भने देश र जनताका ती महान दिव्यात्माहरुप्रति शुभभावनासहित सम्मान गर्नु शुभेच्छा प्रकट गर्नु स्वभाविक रुपमा उत्तम कार्य हुने छ ।

यस वर्ष विश्व नै कोरोना भाईरसको प्रकोप तथा महामारीको कारणले पीडित भइरहँदा नेपाल अछुतो रहन सकेन । छ महिनाको कोभिड–१९ कहर अवधिमा देशका विभिन्न क्षेत्रसँगै स्वास्थ्य, शिक्षा, उद्योग व्यवसाय, यातायात, पर्यटन, विकास निर्माण आदि अस्तव्यस्त मात्र नभई लथालिङ्ग बनेका छन् । यो अवधिमा सातसय भन्दा बढि नागरिकहरुको यस कोरोना भाईरसको कारणले जीवन गुमाईसकेका छन् । धेरैको परिवार पीडायुक्त समस्याबाट गुज्रिरहेको छ । यत्तिबेला ती नागरिकहरु जसले कोरोनासँग सङ्घर्ष गरिरहेकाहरुको सर्वप्रथम स्वास्थ्यलाभको कामना गर्दै सक्दो सहयोग जुटाउन लागी पर्नु जरुरी छ । सरकारको मुख्य ध्यान जनताको स्वास्थ्यसँग जोडिनै पर्दछ । नागरिकको जीवन सुरक्षा राज्यको पहिलो अभिभारा हो । अहिले कोरोना भाईरसको कारण भन्दा पनि अन्य रोगको उपचार नपाएर धेरै बिरामीहरुको अकाल मृत्यु भइरहेको तथ्य छर्लङ्ग छ । तसर्थ प्रत्येक स्थानीय तहमा एउटा विपद्कालीन उपचार केन्द्र स्थापना गर्न बिलम्व भएकै हो । हामीसँग भएका शिक्षण संस्था मर्जका चर्चा भइरहँदा कुनै एकलाई यस प्रकारको महामारी नियन्त्रण तथा उपचार अस्पताल बनाएर व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा तत्काल भवन बनाउने खर्चले स्वास्थ्यकर्मीहरु र उपचारका औषधि तथा उपकरणहरुको व्यवस्था गर्न पुग्दछ । यसो हुँदा अन्य रोगका व्यक्तिहरुले उपचार नपाएको कारणले हाल जस्तो अकालमा ज्यान गुमाउने स्थिति बन्ने थिएन ।

एकछाक मिठो खान दशैं नै आउनुपर्ने परिवार सङ्ख्याको यकिन गरी सरकारले कम्तिमा पनि ती व्यक्तिको चाडपर्व मनाउन खाद्य सामग्री सहयोग गर्नै पर्दछ । यो गणतन्त्रात्मक सरकारले भिन्न काम र सहयोग गरेर अलग पहिचान कायम गर्ने छ भन्ने अपेक्षा स्वभाविक हो । बजारलाई बिचौलियाबाट मुक्त गरी विपन्न तथा निम्न वर्गीय नागरिकहरुको जीवनस्तरमा सुधार हुने कार्यक्रमसहितको रोजगार श्रृजना गरेर स्थापित हुने ऐतिहासिक अवसरको उपयोगमा सरकारले प्रस्तुत हुनै पर्दछ । प्रसङ्ग सङ्घीय सरकारको मात्र होइन, प्रदेश तथा स्थानीय सरकारले पनि यो महत्वपूर्ण अवसरको उपयोगमा अग्रसरता देखाउनै पर्दछ । राज्यकोषबाट पारिश्रमिक पाइरहेका शिक्षक, कर्मचारी, लगायतका सबैलाई पर्याप्त विजिनेश दिएर मात्र विपदकालमा राष्ट्रको बचावट गर्न सकिन्छ । तलबभत्ता तथा सुविधा लगातार उपलब्ध गराउँदै जाने तर काम भने दिन नसक्ने योजनाविहिन सरकारले यस्ता महामारीमा ठूलै मूल्य चुकाउने दिन नआउला भन्न सकिन्न ।