हेटौंडाः हालको कोरोना महामारीको विषम् परिस्थितिमा सरकारले बडादशै आफ्नो घरमा स्वास्थ्य सुरक्षा अपनाएर मनाउन आग्रह गरेको छ । यस्तो महामारीको अवस्थामा बागमती प्रदेश सरकारले सञ्चालन गरेको प्रादेशिक कोरोना प्रयोगशाला हेटौंडा र धुलिखेलको प्रयोगशाला दशैमा सञ्चालन गर्ने/ नगर्ने अन्यौल देखिएकोे छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रलायका सचिव दिपक काफ्लेका अनुसार सामाजिक विकास मन्त्रीसँग यसबारे छलफल भएको छैन । बडादशैमा प्रयोगशाला संचालन गर्ने/नगर्ने विषयमा आजै छलफल हुन सक्ने मन्त्रालयका सचिव काफ्लेले बताउनुभयो । त्यस्तै जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक नारायण बहादुर कार्कीले भने मन्त्रालयको निर्देशन कुरेर बसेको बताउनुभयो ।
हालसम्म मन्त्रालयले औपचारिक रुपमा जानकारी दिएको छैन अनौपचारिक रुपमा भने खुलाउने सुन्नमा आएको उहाँले बताउनुयभो । हाल हेटौंडास्थित कोरोना प्रयोगशालामा ८ जना र धुलिखेल स्थित प्रयोगशालामा ७ कर्मचारीहरु कार्यरत रहेको उहाँले जानकारी दिनुभयो ।
यता हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशाला दशैंमा पनि सञ्चालनमा आए स्वाब नमूना सङ्कलन कार्य प्रभावित नहुने हेटौंडको स्वाब संकलन केन्द्रका प्रमुख भोला चौलागाईले बताउनुभयो । प्रयोगशाला सञ्चालनमा रहेमा दशैमा पनि स्वाब सङ्कलन हुने र परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । यस्तै अहिले १ हजार भिटिएम बागमती प्रदेश सरकारले उपलब्ध गराएको उहाँले जानकारी गराउनुभयो । यसअघि स्वाब संकलन गरेर राख्ने भाडो भिटिएमको अभाव हुँदा नागरिकहरु आफैले किनेर स्वाबको नमूना संकलन गराउँदै आएका थिए ।