कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेयता पूर्णतः बन्द रहेको एउटा क्षेत्र हो, सिनेमा हल । सुख, दुःखका कथालाई कलात्मक स्वरुपमा तयार पारिएका चलचित्रलाई पर्दामा प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिने सिनेमा हलका सञ्चालकहरु अहिले आफ्नो दुःखको कथा बताएर बताउनै नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा पनि हेटौंडास्थित एनएस सिनेमा हलका सञ्चालक नवराज आचार्य आशावादी हुनुहुन्छ । भोलिका दिनमा अवस्था सामान्य भएपछि दर्शक आउनेछन्, चलचित्र हेर्नेछन् र सञ्चालकको करोडौं लगानीको सम्पत्तिको उपयोगसँगै आम्दानीको अवसर पनि हुनेछ । भारतमा बिहीबारदेखि सिनेमा हल सञ्चालनमा आएसँगै नेपालमा पनि सिनेमा हल सञ्चालनको पहल हुनेमा आशावादी एनएस सिनेमा हलका सञ्चालक नवराज आचार्यसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः करिब ७ महिनादेखि सिनेमा हल बन्दा छ । अझै सिनेमा हल चल्ने जस्तो छाँटकाँट छैन । कस्तो ढाँचामा सिनेमा हल चलाउन सकिन्छ भनेर सोचिराख्नु भएको छ ?
आचार्यः अहिले सार्वजनिक यातायातहरु पनि चलिराखेको छ । बजारहरु पनि सामान्य रुपमा चलेको देख्न सक्छौं । हरेक क्षेत्रमा सुरक्षाको मापदण्ड अपनाउनु पर्दछ । हाम्रो देशमा अहिले झन सङ्क्रमितको बढ्ने दर उच्च छ । हाम्रो सोेचमा एउटा अडियोमा २६४ सिट छन् भनेदेखि ५० प्रतिशत अकुपेन्सी मात्र सञ्चालन गर्ने, एउटा सिटमा ग्याप राखेर अर्को सिटमा दर्शक राखेर, प्रवेश गर्ने क्रममा सेनिटाईजरहरुको व्यवस्था गरेर, सिनेमा हलको सरसफाईमा पनि त्यहि हिसाबले सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भन्ने लागेको छ ।
समाजः सतर्कताका साथ सिनेमा हल सञ्चालनका लागि भनेर हलका सञ्चालकहरुले के कस्ता प्रयत्न गरिराखेको छ ?
आचार्यः सिनेमा हल सञ्चालनको विषय स्थानीय सरकारले स्वीकृति दिने विषय होइन । त्यसैले हामीले नै त्यस्तो पहल केही गरेका छैनौं । तर, हाम्रो एउटा हल सञ्चालकहरुको सङ्गठनले सिनेमा हल सञ्चालकहरुसँग अनलाइनमार्फत बैठक बसेर सञ्चालकहरुको सल्लाह, सुझाव लिएर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सिनेमा हल सञ्चालनको विषयमा मन्त्री परिषद्मा नै निर्णय हुनुपर्छ । मन्त्री परिषद्मा निर्णय भएपछि मात्र सञ्चालन गर्न सकिने भन्ने जस्तो कुरा आएको थियो । पछि आएर फेरी लकडाउन सामान्य खुकुलो भएपछि कोरोनाको सङ्क्रमण दर उच्च हुँदै गएपछि अहिले बीचमा ति कुराहरु स्वभाविक जस्तो पनि भइरहेको छैन । त्यसैले केही पहल भए पनि खासै उपलब्धी भएको छैन ।
समाजः तपाईहरुको सिनेमा हलमा कतिले रोजगारी पाइराखेको थियो र अहिले उनीहरुलाई तपाईहरुले कसरी व्यवस्थापन गर्नु भइराखेको छ ?
आचार्यः सिनेमा हल सामान्य रुपमा चलेको बेलामा मेरो सिनेमा हलमा सबै सेक्सन गरेर २० देखि २५ जनाले रोजगारी पाएको अवस्था थियो । मैले उहाँहरुलाई केहि महिना आधा तलब दिएर पनि आफ्नै हिसाबले राखेको थिएँ । अहिले पनि उहाँहरुलाई कतै न कतै सामान्य काम गराएरै राखेको छु । अहिले ५० प्रतिशत मात्र कर्मचारीहरु काम गरिरहनु भएको छ । जसमा सुरक्षा गार्डहरु हुनुहुन्छ । सरसफाईका कर्मचारीहरु हुनुहुन्छ । इलेक्ट्रिसिटीको काम गर्नेहरु हुनुहुन्छ । मैले केहि न केहि काममा लगाएर गुजारा हुने खालको अवस्था सिर्जना गरिरहेको छु ।
समाजः यतिबेला चलचित्र निर्माण र रिलिजको अवस्था पनि छैन । यदि सिनेमा हल चलिहाल्यो भने तपाईहरुको व्यवसाय तत्कालै सुचारु हुने अवस्था देखिँदैन । चलचित्र प्रदर्शन बाहेक अरु कुनै विकल्पको बारेमा सोच्नु भएको छ ?
आचार्यः नयाँ चलचित्र २-४ वटा बनेर रिलिजको क्रममा रहेका बाहेक नयाँ सुटिङ हुने अवस्था अहिले छैन । अहिले हामीले न्युनतम पनि चलाउन पायौं भने जुन रिलिजका क्रममा रोकिएको अवस्थामा रहेका चलचित्रहरु, यस्तै दर्शकले रुचाउँदा रुचाउँदै पनि कतिपयले हेर्न नपाएका सिनेमाहरु जस्तै छक्का पञ्जा जस्ता उत्कृष्ट सिनेमालाई पुनः रिलिज गर्न सकिन्छ भन्ने लागेको छ । सिनेमा हल पूर्ण रुपमा नचले पनि सामान्य रुपमा सिनेमा हल जोगाई राख्न भएपनि चलाउँदै गर्न पाए हुन्थ्यो भन्ने हो । अरु प्रयोजनका लागि हलको खासै उपयोगिता छैन । मेरो हिसाबमा जुन ढङ्गले हामीले सिनेमा हल बनाएका छौं त्यहाँ स्टेज प्रोग्राम गर्नका लागि स्टेज पनि छैन ।
समाजः बिहीबारबाट भारतमा पनि सिनेमा हलहरु खुल्ला भयो भनेर समाचार अएका छन् । ५० प्रतिशत अकुपेन्सीमा भारतमा सिनेमा हल चलाउने भनिएको छ । हाम्रोमा पनि ५० प्रतिशत अकुपेन्सी राख्ने हो भन्ने चलाउन सकिन्छ ?
आचार्यः सिनेमा हल नाफाको स्थितिमा लैजान नसकिए पनि सञ्चालन मात्रै गर्न पाए उपकरण र सिनेमा हलको संरचना जोगाई राख्न सकिन्थ्यो । अहिले हामीसँग निर्भर हुँदै काम गर्दै आएका कर्मचारी मात्र हामीले यो समयमा जोगाई राख्नका लगि मात्र भए तापनि ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल चलाउन सकिन्छ ।
समाजः लकडाउनले सिनेमा हल व्यवसायीलाई समस्यामा पार्यो । यो एउटा समस्या छ । अर्काे अवसरको रुपमा अनलाईन मार्फत चलचित्रहरु प्रदर्शन भैराखेका छन् । अनलाईन मार्फत प्रदर्शनले ठूलो लगानीमा तयार पारिएका सिनेमा हलको व्यापारलाई कतिको असर गर्ने देख्नु भएको छ ?
आचार्यः मेरो हिसाबले जति पनि अनलाईनमा, युट्यूबमा सिनेमाहरु प्रदर्शन भइराखेका छन्, त्यो भनेको खासै प्रभावकारी हुन्न । सिनेमा हलमा दुई अढाई घण्टा आनन्दले बसेर हेर्ने, सिनेमा हलको साउण्ड र ठूलो पर्दाको जुन मजा हुन्छ त्यो घरमै बसेर टिभिमा हेर्दा मजा हुन्न ।
सिनेमा हलको टेस्ट पक्कै पनि अनलाईनमा हेर्दा पाउन सकिँदैन । त्यसैले मलाई चै लाग्छ सिनेमा हल फेरी पूर्णरुपमा सञ्चालनमा आउने हो भने अनलाईन रिलिजहरुले सिनेमा हललाई खासै असर हुन्छ जस्तो मलाई लाग्दैन ।