२०७२ सालको भूकम्प नेपालका लागि ठूलो विपत्ति हो । १० हजार भन्दा बढीको मृत्यु हुनुका साथै खर्बौं रुपैयाँ बराबरको धनसम्पत्तिको क्षति हुनुले नेपाली समाजका लागि ठूलो सङ्कटको स्थिति सामना गर्नुपर्ने अवस्था रह्यो । भूकम्पले पुर्‍याएका कतिपय क्षतिबाट राहत प्राप्त गर्ने कुनै अवसर नै थिएन भने केही भौतिक संरचनाको पुनर्निर्माणको कार्य महत्वपूर्ण थियो । भूकम्पपछि मुख्यतः शैक्षिक संरचनाको पुनर्निर्माण महत्वपूर्ण मुद्दा थियो । यद्यपि दातृ निकाय र मित्र राष्ट्रहरुले पुनर्निर्माणमा पुर्‍याएको सहयोग र प्रदर्शन गरेको साथले भूकम्पपछि ढिलै भए पनि नेपाली समाज उभिन सफल भएको छ । ५ वर्षको अवधिमा नेपाली समाजले भूकम्पबाट पुगेको क्षतिलाई सम्भव भएसम्म पुनस्र्थापित गर्न सफल भएको छ । सोही क्रममा शैक्षिक संरचनाको पुनर्निर्माणमा जापान सरकारको सहुलियत ऋण महत्वपूर्ण छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणबाट २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका मकवानपुरका ४१ वटा विद्यालयमा सुविधासम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै अहिले जाइकाले मकवानपुरका थप ११ वटा विद्यालयमा शैक्षिक भवन निर्माण गरिदिने भएको छ । २०७२ सालको भूकम्पमा अति प्रभावित मकवानपुरसहित १४ जिल्लामा यसअघि टेण्डरमार्फत विद्यालय भवन निर्माण गर्ने क्रममा बचत भएको रकमले मकवानपुरका ११ विद्यालयको शैक्षिक भवन निर्माण गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले जनाएको छ । जाइकाले हेटौंडा उपमहानगरसँगै जिल्लाका अन्य पालिकामा पनि भवन निर्माण गरिदिने भएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिका बेला तत्काल राहत तथा दीर्घकालमा क्षतिलाई पुनस्र्थापित गर्न दातृ निकाय र मित्र राष्ट्रको सहयोग नहुने हो भने नेपाल आफैं त्यो सङ्कटबाट उत्रन सक्ने थिएन । सङ्कटका बेला सहयोगी सबैको साथलाई बुझेर नेपाल सरकारले पनि आगामी दिनमा आत्मनिर्भरताको अभ्यासका साथै नेपालको दुखमा सहयोगी बनेका मुलुकका लागि पनि सहयोग गर्न सक्ने क्षमता विकास गर्नु जरुरी छ । विशेषतः विद्यालयहरु पुनर्निर्माणमा सहयोगी मुलुकलाई पनि सहयोग गर्न सक्ने पुस्ता तयार पार्न ती विद्यालयहरुमा गुणस्तरीय शिक्षा र अब्बल विद्यार्थी उत्पादन गर्नु जरुरी छ । अर्बौं रुपैयाँ सहुलियत ऋण लिएर बनाइएका विद्यालयहरुले कम्तिमा त्यो ऋण तिर्न सक्ने भविष्यको पुस्ता तयार पार्न सक्नुपर्छ । महाभूकम्प एउटा डरलाग्दो घटना भए पनि भूकम्पपछि विद्यालयको भौतिक संरचना निर्माणको कार्य उत्तिकै लोभ लाग्दो छ । यसर्थ पनि दुर्घटनाबाट पनि सिक्दै र सचेत हुँदै आगामी दिनमा मुलुकको सक्षमताका लागि राज्यका निकाय र नागरिक समाजको तर्फबाट पनि उत्तिकै जिम्मेवारीपूर्ण व्यवहार विकसित गर्दै लैजान सक्नुपर्छ ।