हेटौंडाः मकवानपुर जिल्लामा वार्षिक १५ सय बढी महिलाहरुले सुरक्षित गर्भपतन गराउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा सुरक्षित रुपले गर्भपतन गराउनेको तथ्याङ्क भएपनि असुरक्षित रुपमा हुने गर्भपतन सम्बन्धी कुनै तथ्याङ्क नै छैन ।

मकवानपुरमा जिल्लामा अहिले गर्भपतन गराउने धेरै स्वास्थ्य संस्था छैन । स्वास्थ्य संस्था भएपनि सुरक्षित गर्भपतन सम्बन्धी तालिम प्राप्त सूचिकृत नर्स छैनन् । हाल मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका लगायतको स्
वास्थ्य कार्यालयहरुमा गर्भपतनको सेवा छैन । तालिमप्राप्त कर्मचारीको अभवामा गर्भपतनको सेवा छैन । यस्तै मकवानपुरको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा भने सुरक्षित गर्भपतन सेवा रहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।

हेटौंडामा भने हेटौंडा अस्पताल, सुनौलो भविष्य नेपाल लगायतले सुरक्षित गर्भपतन गराउँदै आएको छ । १२ हप्तासम्म गर्भ रहेको महिलाको गर्भपतन गराउन सकिने छ । तर कानुनमा भने २४ हप्तासम्मको पनि सुरक्षित गर्भपतन गर्न सकिने जनाइएको छ । ८ हप्तासम्म भएका महिलालाई औषधीविधी र ९ देखि १२ हप्तासम्मका महिलालाई शल्यक्रिया विधिबाट गर्भतपन गराइँदै आएको छ । पछिल्लो समय देशभरी नै गर्भपतन गराउने सजिलो माध्यम बनेको छ औषधी विधी । यसले अन्य सुरक्षित माध्यमको प्रयोग गर्नेको संख्यामा कमी आएको छ । गर्भ जाँच गर्ने र औषधी विधीको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या मकवानपुरमा छ तर असुरक्षित रुपमा गर्नेको कुनै लेखाजोखा हुन सकेको छैन । मकवानपुरका विभिन्न स्वास्थ्य चौकिमा गर्भपतन भएकाहरुको पूर्ण तथ्याङ्क आउने गरेको छैन ।

मकवानपुरमा गत वर्षको चैत्र महिनादेखि चालु वर्षको भाद्र महिनासम्म २० वर्षमुनिका ४५ किशोरीले सुरक्षित गर्भपतन गराएका छन् । मुलुक लकडाउन भएको समयमा पनि उनीहरुले गर्भपतन गराएका हुन् । त्यस्तै सोही समयको अवधीमा मकवानपुरमा २० वर्षमाथिका ६ सय ६ जनाले औषधीको प्रयोग गरेर गर्भपतन गराएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार सुरक्षित गर्भपतन गराउनेको तथ्याङ्क भएपनि असुरक्षित र कानुन विपरित गर्भपतन भइरहेको भन्ने सुनिएको बताउनुभयो । तथ्याङ्कको कुरा गर्दा स्वास्थ्य चौकिहरुले स्थानीय तहलाई रिपोर्ट गर्ने स्थानीय तहहरुले पठाएको रिपोर्ट मात्र आउने गरेको बताउनुभयो । विगतका वर्षहरुको तथ्यांकहरुलाई हेर्दा सबै तथ्यांक भने नआएको उहाँले बताउनुभयो ।

चालु वर्षको साउन र भदौ महिनामा मात्रै मकवानपुरमा १८२ जनाले गर्भपतन गराएका छन् । उनीहरुमध्ये २० वर्षमुनीका ७ जनाले औषधीको प्रयोग गरेर गर्भपतन गरेका छन् भने २० वर्षमाथिका १३१ जनाले औषधीको प्रयोग गरेका छन् । यस्तै २० वर्षमाथिका १५ जनाले शल्यक्रिया विधिबाट गर्भपतन गराएको तथ्याङ्क छ । २० वर्षभन्दा माथिका २९ जनाले भने पोस्ट एबोर्सन अर्थात प्याक सेवा लिएका छन् । यसरी प्याक सेवा लिनेहरुलाई केहीले असुरक्षित रुपमा गर्भपतन गराएको हुन सक्ने पनि आशंका पनि गरेका छन् । हेटौंडा अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डा. राम काजी महर्जनले प्याक सेवा लिन आउने सबैले असुरक्षित गर्भपतन गराएको भनेर बुझ्न नहुने बताउनुभयो । केही केही अवस्थामा भने तालिम प्राप्त चिकित्सकको कारण पनि यस्तो हुन सक्छ तर यसो भन्दैमा असुरक्षित नहुने भन्ने पनि नभएको बताउनुभयो । जिल्लामा गर्भपतन हुने गरेको भएपनि सबै तथ्याङ्क भने आउन नसकेको उहाँले बताउनुभयो । २० वर्ष मुनिका किशोरीहरुले पनि गर्भपतन गराउन आएका भन्दै धेरैजस्तो गर्भपतन गराउने जिल्लामा विवाहित नै रहेको उहाँले बताउनुभयो । असुरक्षित गर्भपतन गराएको तथ्याङ्क कसैले नदिने भएकोले जिल्लामा धेरै हुन सक्ने अनुमान गरिहेका उहाँले बताउनुभयो ।

सरकारी स्वामित्वको हेटौंडा अस्पतालमा गर्भपतन गराउने महिलाको सङ्ख्या कम हुने गरेको छ । २० वर्षमुनिका किशोरीहरु भने झनै कमी हुने गरेको छ । लकडाउनको समय गत चैत्रदेखि चालु वर्षको भदौ महिनासम्म हेटौंडा अस्पतालमा २० वर्ष मुनिका ५ जनाले औषधीविधीबाट गर्भपतन गराएका छन् । यस्तै शल्यक्रिया विधिबाट २० वर्षमुनिका २ जना बालिका र २० वर्षमाथिका १४ जना महिलाहरुले गर्भपतन गराएको तथ्याङ्क छ । यस्तै गत वर्षको चैत्रदेखि चालु वर्षको भदौ महिनासम्म २० वर्षभन्दा माथिका १ सय महिलाले औषधीविधीबाट गर्भपतन गराएका छन् भने गत चैत्रदेखि चालु भदौसम्म हेटौंडा अस्पतालमा १३६ जनाले प्याक सेवा लिएका छन् ।

हेटौंडा अस्पताल लगायत स्वास्थ्य चौकिहरुमा गर्भपतनको सेवा निशुल्क भएपनि गर्भपतन गराउन निजी स्वास्थ्य संस्थाहरुमा पनि महिलाहरुको निकै लगाव देखिन्छ । हेटौंडाको सुनौलो भविष्य नेपालमा भने सोही समयको अन्तरालमा ४३ जना २० वर्ष मुनकिा बालिकाले गर्भपतन गराएका छन् भने २० वर्ष माथिका २७४ जनाले गर्भपतन गराएको सुनौलो भविष्य हेटौंडाका प्रमुख सञ्जिव आले मगरले जानकारी दिनुभयो । २० वर्षमुनिका र माथिका दुवै सरकारी भन्दा पनि निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउन चाहने गरेको पाइएको छ । आफ्नो व्यक्तिगत गोपनियताको लागि पनि निजीतर्फ शुल्क तिरेर गर्भपतन गर्न आउने गरेको पाइएको उहाँले बताउनुभयो ।

मकवानपुरमा वर्षेनी गर्भपतन गराउनेको सङ्ख्या भने खासै बढेको देखिँदैन । विगतका वर्षहरुमा तथ्याङ्क राम्रोसँग अपडेट नगरिएको पनि पाइएको छ । गत आव २०७६-७७ मा १ हजार ४ सय ८९ जनाले जिल्लामा गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षका मुनिका १४७ जना र २० वर्षमाथिका १३ सय ४६ महिलाहरुले औषधीविधीद्वारा गर्भपतन गराएका थिए । २० वर्षमुनिका ५० बालिकाले शल्यक्रिया मार्फत र २० वर्षमाथिका २८८ जनाले शल्यक्रिया विधिबाट गर्भपतन गराएका हुन् । यस्तै २ सय ९३ जना भने अन्यत्र गर्भतपन गरेर नभएको अवस्थामा सुरक्षित गर्भपतन सेवा लिन सरकारी स्वास्थ्य सेवामा पुगेका छन् ।

आव २०७५-७६ मा १ हजार ५ सय ९० जनाले औषधीविधिबाट गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षका मुनिका १६९ जना र १४ सय २१ जना २० वर्षमाथिका महिलाहरु छन् । यस्तै अव २०७४-७५ मा १ हजार ४ सय २९ महिलाले आफ्नो गर्भपतन गराएका थिए । १७३ जना २० वर्ष मुनिका बालिकाले गर्भपतन गराएका थिए भने २० वर्ष माथिका १ हजार २ स्य ५६ जना महिलाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । वार्षिक रुपमा हुने सुरक्षित गर्भपतनको संख्या उस्तै देखिए पनि असुरक्षित र स्वास्थ्य संस्थामा भएको केही तथ्याङ्कहरु छुटेको हुन सक्ने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।