वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१) हाल कोभिड–१९ को कहरले शैक्षिक सत्र नै तहसनहस र अन्यौलग्रस्त भएर पनि शिक्षामा प्रविधिको पर्याप्त बहस बन्न सकेन । विपद् र महामारीको बेलामा मात्र नभई आधुनिक युगमा आधुनिक प्रविधिको ज्ञान अपरिहार्य बनिरहेको छ । वर्तमान युगलाई प्रविधिको पर्याप्त हस्तक्षेपको कालखण्ड स्विकारिएको छ । अझ शिक्षामा प्रविधिको प्रयोगले उच्च स्थान ओगट्न सफल भएको तथ्यमा बिमति छैन । विषयवस्तुको प्रस्तुतीकरण एवम् सहजीकरणमा शिक्षक प्राध्यापकलाई प्रविधिले महत्वपूर्ण स्थानमा डोर्‍याएको छ ।

त्यस्तै विद्यार्थीलाई ज्ञान र सीप हासिल गर्नमा पर्याप्त अवसर यहि प्रविधिले प्रदान गरेको छ । क्षमताको भरपुर उपयोग गर्नमा प्रविधिको योगदान सर्वस्वीकार्य बनेकै हो । प्रविधि अन्तर्गतका ईन्टरनेटको प्रयोग गर्दै अनलाईन कक्षाहरु, जुम, गुगल लगायतका एप्लीकेशनहरुका माध्यमबाट र टिभि तथा रेडियोबाट प्रशारण गरिने कक्षाहरुसँगै ल्यापटप, कम्प्युटर, मोबाईल फोनबाट मेसेज, मेसेन्जर, स्काईप जस्ता माध्यमबाट सिकाई सहजीकरण गर्ने अभ्यासहरु अब नयाँ होईनन् । विगतमा नामै नसुनेका र अनौठा लाग्ने प्रविधिका सीपहरु आज सहज र सामान्य बनेका छन् ।

२) अहिले जस्तो महामारी र बिपत्तिमा मात्र नभई सामान्य अवस्थामा समेत प्रविधिको प्रयोग शिक्षामा आकर्षक शिक्षण विधि बनेको छ । शिक्षामा प्रविधिको सफलता शिक्षक विद्यार्थीको प्राविधिक ज्ञान र सीपमा निर्भर गर्दछ । शिक्षकले मात्र जानेर हुँदैन, सँगै विद्यार्थीमा पनि प्रविधिको ज्ञान हुनै पर्दछ । वर्तमान जटिलतामा कोरोना कहरको कारणले शिक्षालयमा विद्यार्थी नबोलाई प्रविधिको माध्यमबाट कक्षा सञ्चालनको चर्चा अहिलेको मूल विषय बनेको छ । टिभि, रेडियो, मेसेन्जर, जुमक्लाउड कन्फ्रेन्स, गुगल कन्फ्रेन्स, लगायतका अत्याधुनिक प्रविधिको प्रयोगबाट कक्षा सञ्चालनका कुरामात्र होइन काममा पनि हालै केहि शिक्षण संस्थाहरुले राम्रो अभ्यास गरिसकेको समाचार आइरहेका छन् । यसको प्रभावकारिता भने हेर्न बाँकी छ । विजुली र प्रविधिको पहुँच र स्तरीयताबारे हामीलाई जानकारी नै छ । राज्यले व्यवस्था गर्नै पर्ने यो विषय ओझेलमा पर्नुमा रहस्य नै देखिन्छ ।

३) समयको माग र आवश्यकता बमोजिम शिक्षकहरुमा नै प्रविधिको प्रसार पर्याप्त नभएको वर्तमानमा विद्यार्थीसम्म अनलाईन शिक्षा कागजमा मात्र सिमित नरहला भन्ने निश्चितता छैन । प्रविधिको अज्ञानता अर्को समस्या छ नै । विश्वविद्यालय तहमा त समस्या बनिरहेको छ जबकि यो स्तरमा विद्यार्थीको प्रविधिमा धेरै पहुँच छ र प्राध्यापकहरु प्रविधिमा दक्ष रहेको स्थिति छ । विद्यालय तहका शिक्षक तथा विद्यार्थी वर्गमा आवश्यक प्रविधि पुग्न नसकेको यथार्थमा सर्वप्रथमत शिक्षकमा पर्याप्त प्रविधिको ज्ञान दिन जरुरी छ । शिक्षकसँगै विद्यार्थीहरुमा न्यूनतम कम्प्युटर शिक्षा अनिवार्य गरिनै पर्दछ ।

४) ईन्टरनेटको पहुँच नभएका स्थानमा टिभि तथा रेडियोबाट प्रसारण गरिने शैक्षिक कार्यक्रमको अवस्था बारे धेरै भनिरहनु नपर्ला । जबकि अन्य प्रविधिभन्दा टिभि र रेडियोको पहुँच परसम्म छ र सञ्चालनमा सहजता देखिँदा पनि यसको प्रभावकारिता भने अपेक्षित बन्न नसकेको तथ्य बाहिर आएकै छ । कुनै निश्चित कक्षाको जस्तो हाल खासखास विषयहरुको एकोहोरो प्रसारण जस्तो यो हुन सक्दैन । विभिन्न कक्षाहरु र भिन्न विषयहरुको स–साना बालबालिकाका लागि गरिने शिक्षण सिकाई क्रियाकलाप स्वभाविक कठिन हुन्छ नै ।

केहि समय अल्मल्याउने काममा ठूलो हल्लामात्र नहोस् भन्नेमा हामी गम्भीर बन्नै पर्छ । पहिलो काम भनेको शिक्षकलाई तयारी बनाएर मात्र हामी विद्यार्थीसँग जोडिन सक्छौं । विजुली र प्रविधिको पहुँच त पहिलो शर्त त छँदैछ सँगै सम्बन्धित व्यक्तिहरुको टेक्नोलजी लिट्रेसीको सवाल अर्को महत्वपूर्ण अभिन्न विषय हो । स्थानीयस्तरमा रेडियो र टिभि च्यानलहरुको माध्यमबाट शिक्षणलाई सहज बनाउनमा सहयोग पुग्न सक्छ ।

५) अनलाईन कक्षाहरु अर्थात डिजिटल एजुकेशनको सवाल हाल अधिक चर्चामा छ । वर्तमानमा कोरोना कहरको आतङ्क विश्वव्यापी छ । कुनैबेला भूकम्पको त्रास र विध्वंसले शैक्षिक क्षेत्र तहसनहस बनाएकै हो । कहिले नाकाबन्दी त कहिले बाढिपहिरो, आँधी जस्ता प्राकृतिक विपत्ति एवम् महाव्याधिका कारणले हाम्रो शिक्षामा बारम्बार प्रहार भएकै हो । यसप्रकारका अस्त–व्यस्त स्थितिमा वैकल्पिक शिक्षा व्यवस्थाको अभाव पहिलेबाटै खटकेको अनुभव गरिँदै आइएको हो । हाम्रो धरातल, साधन स्रोत, विद्युत विस्तार, प्रविधिको ज्ञान, आर्थिक स्थिति, शिक्षक विद्यार्थीको टेक्नोलोजी लिटरेसी जस्ता महत्वपूर्ण सवालहरुमा पर्याप्त विश्लेषण पहिलो काम हो । वर्तमानबाट मात्र नभई विगतका विपद्कालका असहज स्थितिहरुले बारम्वार संकेत गरिसकेको तथ्य स्मरणीय छन् ।

६) प्रविधिसँग जोडेर कुरा धेरै भएका छन् । काम भने उल्लेखनीय हुन नसकेको यथार्थता जगजाहेर छ । आगलागी पश्चात कुवा खन्न जाने संस्कारको अझै अन्त्य भएको छैन । लकडाउनको समयमा डिजिटल एजुकेशनको चर्चा अधिक चलेको छ । लकडाउन खुलेपछि फेरी छेपारोले जस्तो भुसुक्क बिर्सने हो भने यी कुराको कुनै अर्थ रहँदैन । निश्चय नै, विद्यमान विषम चुनौतिलाई डिजिटल शिक्षाको अवसरमा बदल्दै अहिलेबाटै प्रविधिको क्षेत्रमा पाईला अघि बढाउँदै जाने हो भने भविष्यमा हामीले हालको जस्तो उकुसमुकुस अवस्थाको सामना गर्नुपर्ने छैन । यसका लागि स्थानीय तहदेखि केन्द्रीयस्तर सम्मका तीनै तहका सरकारले गम्भीरताका साथ बजेटसहित ठोस नीति र कार्यक्रम बनाउनु पर्दछ । डिजिटल एजुकेशन भन्न जस्तो सरल छैन । गरेर देखाउन त अहिले नै थालनी गर्नैपर्छ । डिजिटल शिक्षाको प्लानिङ गर्ने, सोका लागि आवश्यक बजेट व्यवस्थापन र कार्यान्वयन नै वर्तमान कोरोना कहरको मूल अभिभाराको महसुस जिम्मेवार पक्षबाट हुने अपेक्षा गरिएको छ ।

७) विद्यमान अवस्थामा प्रविधिको विकल्प प्रविधि नै मात्र हुन सक्छ । हामी कुनैपनि कारणले पछाडि फर्कन कदापि सक्दैनौं । यद्यपि प्रविधि पुग्न नसकेको, विद्युत सेवा नै नपुगेको कारणले प्रविधियुक्त कक्षा गर्न नसकेको अवस्थामा शिक्षकहरुबाट शिक्षण संस्थाको सेवाक्षेत्रमा घरदैलो गर्ने, विद्यार्थीको घरमै गएर पाठ्यवस्तु स्पष्ट गर्ने, गृहकार्य दिने, टोलटोलमा सम्पर्क कक्षा चलाउने, स्वास्थ्य सुरक्षाको नियम पालना गर्दै विद्यालयमा नै सम्पर्क कक्षा सञ्चालन गर्ने जस्ता कक्षाकोठाको पूरक शिक्षण सिकाई क्रियाकलाप भए गरेका समाचारहरु बाहिर आएका छन् । यद्यपि विद्यार्थीहरुको सहभागिता विद्यालय तहमा मात्र नभई उच्च शिक्षामा समेत निराशाजनक देखिन्छ । आधारभूत तहमा न्यून सहभागिता स्वभाविक मानिए पनि माध्यमिक तथा कलेजस्तरमा अपेक्षाकृत सहभागिता नहुनुमा शैक्षिक सत्रको अन्योलता कायम रहनु र परीक्षाको तालिका भङ्ग हुनु नै प्रमुख कारक स्विकारिएको छ । यसरी लामो अवधिसम्म शिक्षण संस्थाहरु बन्द हुँदा विद्यार्थीको ड्रप आउट दरमा बृद्धि हुने अनुमान गरिएको छ जसको संकेत देखिई सकेको छ ।

८) प्रविधिको विस्तारको थप मागमा कोरोना भाईरस प्रमुख कारक देखिएको छ । कोभिड–१९ को असामान्य चुनौतिलाई अवसरमा बदल्दै तीनैतहका सरकारबाट शिक्षामा प्रविधि नीति तथा कार्यक्रम र सोको कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था सरोकार वर्गको वर्तमान अपेक्षा हो । प्रविधिका सामग्रीसँगै सीपको विस्तार र विकास महत्वपूर्ण विषय हो । विजुलीको समस्या छैन, ईन्टरनेटको पहुँच पुगेको छ, कम्प्युटर तथा ल्यापटप उपलब्ध छन् तर प्रयोग गर्ने वा चलाउने सीपयुक्त जनशक्ति छैन भने ती सबै अर्थहिन बन्दछन् । तसर्थ प्रविधिमा दक्ष जनशक्ति पहिलो शर्त बन्नु पर्दछ । जब शिक्षकमै समस्या हुन्छ तब यि सबै चर्चा र लगानी समेतको कुनै प्रतिफल वा उपलब्धि हासिल हुँदैन । सँगै जसका लागि शिक्षक र आवश्यक वस्तुको व्यवस्था गरिन्छ ती विद्यार्थीहरुको प्रविधिमा जोडिने तत्परता अनिवार्य छ ।

फेरी तत्परता छ, रुची छ, अत्यन्त उत्सुक छ तर आर्थिक क्षमता छैन भने अर्को समस्या उत्पन्न हुन्छ । यस्ता विपन्न विद्यार्थीहरुलाई प्रविधि लक्षित छात्रवृत्तिको व्यवस्था सरकारी तवरबाटै हुनु पर्दछ । यसरी शिक्षक प्राध्यापक तथा विद्यार्थीहरुमा प्रविधि साक्षरता अनिवार्य शर्त हो । स्थानीय तहदेखि नै प्रदेश र संघीय सरकारले शिक्षाका गैरप्राविधिक तथा असान्दर्भिक परम्परागत शिर्षकका बजेटलाई हटाएर समयानुकूल हुनेगरी प्रविधिमा प्राथमिकता दिनै पर्ने हामी सबैको अपेक्षा हो ।
(लेखक हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)