हेटौंडाः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वृद्धवृद्धालाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा आज ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । आर्थिक तथा शारीरिक रुपले कमजोर भएका वृद्धवृद्धालाई सहयोग गरिएको १० नम्बर वडा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामलाल थिङ्ले बताउनुभयो ।
कार्यक्रममा वृद्धलाई १ जोर कमिजसुरुवाल, छडी, टोपि, व्ल्याङ्केट र वृद्धालाई एक जोर गुन्युचोलि, छडी, व्ल्याङकेट सहयोग गरिएको छ । वडा नम्बर १० का अध्यक्ष कितापसिंह लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, १० नम्बर वडा सदस्यको उपस्थिति रहेको थियो ।
यस्तै ज्येष्ठ नागरिक दिवसकै अवसरमा वडा नम्बर ६ मा पनि ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ नागरिकलाई १ जोर कमिज सुरुवाल, छडी, टोपि, व्ल्याङ्केट सहयोग गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताउनुभयो । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा चौघडा हेल्पपोष्ट स्वास्थ्य संयोजक उत्सव चौलागाई, महिला स्वास्थ्य स्वयंसेविका तथा ६ नम्बर वडा कार्यालयका वडा सचिव, वडा सदस्यको उपस्थिति रहेको थियो ।