हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका विद्यालय तहका शिक्षकहरुका लागि सूचना तथा सञ्चार प्रविधिबारे अभिमुखीकरण गरिएको छ । मनहरी गाउँपालिका–१ स्थित बालजीवन ज्योति माविको आयोजनामा वडाका एउटा निजी विद्यालयसहित तीनवटा विद्यालयका २१ जना शिक्षकको सहभागिता रहेको थियो । एक साता अवधिको तालिम बुधबार सकिएको छ ।

अनलाइनमार्फत भर्चुअल कक्षा सञ्चालन गर्नका लागि शिक्षकलाई अभिमुखीकरण आवश्यक भएकोले एक साताको कार्यक्रम आयोजना गरिएको आयोजक विद्यालय बालजीवन ज्योति माविका प्रधानाध्यापक एकराज गौतमले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा बालजीवन ज्योति माविकै शिक्षकहरु सुनिलकुमार अर्याल र डीबी अर्यालले सहजीकरण गर्नुभएको थियो । मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालको अध्यक्षता तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यमा बुधबार तालिमको समापन कार्यक्रम भएको हो ।

समापनको अवसरमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सूचना तथा सञ्चार प्रविधिको ज्ञान आधारभूत आवश्यकताको रुपमा रहेको उल्लेख गर्नुहुँदै विद्यालयको विकासका कार्यक्रममा पालिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।