लामो समयको लकडाउनले नागरिकदेखि राज्यकै आर्थिक अवस्था कमजोर हुन थालेपछि सर्तसहित वातावरण खुकुलो बनाइएको अवस्था छ । कोरोना महामारी सुरु हुँदै गर्दा विश्वका धेरै देशले नागरिकलाई घर भित्रै बस्न आव्हान गरेका थिए । सामाजिक जीवन बन्द गराएर कोरोना नियन्त्रणका लागि प्रयास भएको हो । तर यसले महामारी नियन्त्रण हुन सकेन । त्यसपछि कोरोना संक्रमण बन्दाबन्दीले मात्र नियन्त्रण नहुने ठहर गर्दै देशहरुले जनजीवन खुकुलो बनाएका छन् । तर कोरोना संक्रमणबाट जोगिनका लागि निश्चित सर्तहरु तोकिएको अवस्था छ । राज्यद्वारा निर्धारण भएका स्वास्थ्य मापदण्ड पालना गर्नु सबै नागरिकको जिम्मेवारी पनि हो । जुन देशमा मापदण्डको सही रुपमा पालना भएको छ, त्यहाँ कोरोना महामारी क्रमशः कम हुँदै गएको छ ।
नेपाल सरकारले आर्थिक गतिविधि सुचारु गर्न सर्तसहित बन्दाबन्दी खोलेको छ । बजार, यातायात, सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरु सबै सञ्चालन भएका छन् । सेवा लिन र दिन जाँदा दुबै पक्षले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सर्त राखिएको छ । तर उल्लंघन भइरहँदा पनि अनुगमन र कारवाही छैन । जसको परिणाम दैनिक कोरोना संक्रमण बढ्दै गएको छ । भदौ तेस्रो हप्तासम्म दक्षिण एशियाली देशहरु मध्ये नेपालमा संक्रमण वृद्धि दरदेखि मृत्युदर निकै कम थियो भने उपचारपछि निको हुनेको दर पनि उच्च थियो । तर असोजको दोस्रो हप्ता चल्दै गर्दा परिस्थिति ठिक उल्टो भएको छ । यति बेला नेपाल निको हुनेको दर न्यून देखिएको छ भने मृत्युदर उच्च हुँदै गएको छ । स्वास्थ्य मापदण्ड पालना नहुँदाकै परिणाम हो ।
परिस्थिति उल्टो हुन राज्य कम र नागरिक बढी दोषी देखिएको छ । आफ्नो सुरक्षाको जिम्मेवारी व्यक्ति स्वयम्कै हो । तर कामका लागि भन्दै भीडभाड गर्ने स्वभावमा परिवर्तन ल्याउन सकिएको छैन । ज्यान भन्दा काम वा सम्पत्ति कुनै पनि अवस्थामा ठूलो हुन सक्दैन । यो यथार्थ नागरिकले नबुझेको हुँदै होईन तर बुझ पचाउने वा हेप्ने प्रवृत्तिले सेवाप्रदायक सबै स्थानमा भीडभाड हुने गरेको छ । यस्ता महामारी विरुद्धको लडाईमा सबैभन्दा ठूलो हतियार मास्क हो । तर अरुलाई देखाउन वा फेसनका रुपमा मात्र यसको प्रयोग हुँदै आएको छ । सही तरिकाबाट मास्क लगाइएको छैन भने हातको सफाईमा ध्यान पुगिरहेको छैन । यस्तै बानी व्यवहारले कुनै पनि समय महामारीले अत्यासपूर्ण अवस्था आउने पक्का छ ।
सार्वजनिक सेवा स्थलहरु मध्ये मालपोत, नापी, बैंक लगायतमा बिना सावधानी मानिसहरुको घुइँचो हुने गर्दछ । हेटौंडास्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक हुन थालेको छ । लामो समयदेखि बन्द रहेको कार्यालय सञ्चालन भएपछि काम गर्नु र गराउनु पर्नेहरुको संख्या धेरै हुनु स्वभाविक हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र काम कारबाही गर्न भनेको छ । तर पालना भए नभएको अनुगमन छैन भने सेवाप्रदायक संस्थाहरुले पनि बेवास्ता गर्दा भीड बढेको छ । दूरी कायम गरेर सेवा लिने वातावरण सम्बन्धित कार्यालयले बनाई दिनु पर्दछ । किनमेल गर्ने स्थान, सरकारी कार्यालय, खेलकुद मैदान जस्ता स्थानहरुमा मानिसहरुको जमघट कम नगर्ने हो भने संक्रमण थप जटिल अवस्थामा पुग्ने पक्का छ ।