राधाकुमारी महतो, विद्यार्थी, नवोदय शिशु सदन मावि

हाम्रो विद्यालय शिक्षा विद्यालयको कक्षाकोठा र पाठ्यक्रममा आधारित पाठ्यपुस्तकमै सिमित छ । विद्यार्थीलाई आफ्नो समाज, मुलुक र संसार चिनाउने गरी पठनपाठन गर्न सकिएको छैन । यस्तो पृष्ठभूमिमा हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले गएको दुई वर्ष चितवनमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महासभाको नमूना अभ्यासमा सहभागी गराएका विद्यार्थीकै अग्रसरतामा भर्चुअल माध्यमबाटै आज असोज १५ गतेदेखि १७ गतेसम्म नवोदय नमूना संयुक्त राष्ट्रसंघ (नवोदय मोडल युनाइटेड नेसन्स–एनमुन) को आयोजना गर्दैछ । नमूना संयुक्त राष्ट्रसंघकी महासचिव नवोदय माविमा कक्षा १० मा अध्ययनरत प्रथम विद्यार्थी राधा कुमारी महतोसँग एनएमयुनका विषयमा समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नवोदय शिशु सदन माविले नमूना संयुक्त राष्ट्रसंघ भनेर असोज १५ देखि १७ गतेसम्म कार्यक्रम आयोजना गर्दैछ । यो कस्तो कार्यक्रम हो र विद्यार्थीहरुले कसरी सहभागिता जनाउनेछन् ?
महतोः नमूना संयुक्त राष्ट्रसंघ नवोदयले पहिलो पटक आयोजना गर्दैछ । हामीले यसलाई एनएमयूएन भन्छौं नवोदनय मोडल युनाडेड नेसन्स । पहिले नै चितवन युनाइटेड नेसन्स भनेर भइरहेको थियो । हामी २ वर्षदेखि लगातार त्यसमा सहभागी थियौं । गत दुई तीन वर्षदेखि नै हाम्रा शिक्षकहरुले त्यसको तयारी गरिरहनुभएको थियो तर हामी सक्षम भएनौं त्यसको लागि । यसपटक अठोट गरेर कार्यक्रम ग¥यौं । यसको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरुलाई नै दिइएको हो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई । यसमा मैले सेक्रेटरी जनरलको रोल पनि निभाउने छु । खासमा नवोदयको एनएमयुएन भनेको चाहि युनाइटेड नेसन्स हुन्छ संयुक्त राष्ट्र संघमा कन्फ्रेन्स हुन्छ । विश्वको ग्लोबल वार्मिङको समस्या जस्तै त्यस्ता समस्याहरुलाई सामाधान गर्न शान्तिपूर्ण ट्रिटीहरु बनाउन कन्फ्रेन्स हुन्छ । त्यस्तै मोडलको कन्फ्रेन्सलाई एमयूएन भनिन्छ । तर नवोदयले यसलाई आयोजना गरेको भएर एनएमयूएन भनिएको हो ।

समाजः विद्यार्थीहरुले अहिले के–कस्ता क्रियाकलापहरु गरिरहेका छन् । असोज १५ देखि १७ गतेसम्म के–के क्रियाकलापहरु हुनेछन् ?
महतोः अहिलेचाहि विद्यार्थीहरुलाई कार्यक्रमको नीति नियम सम्बन्धी अभिमुखीकरण भइरहेको छ । हामीले १८ दिनको अभिमुखीकरणमा एनएमयुएन कसरी गर्ने, नियमहरुसम्बन्धी जानकारी दिएका छौं । ति अभिमुखीकरण कक्षाको उपयोग गरेर १५ गतेदेखि १८ गतेसम्म आफ्नो प्रदर्शन विद्यार्थीहरुले देखाउने छन् । युएनको कन्फ्रेन्समा जस्तै त्यहाँ पनि ४ वटा कमिटी हुन्छन् । उनीहरुको छुटछुटै ऐजेन्डाहरु हुन्छ । कमिटीहरुमा डब्लुएचओ, यूएनइपी, यूनएससी र इकोफेन छन् । ड्ब्लुएचओको स्वास्थ्य सम्बन्धी अहिलेको कोभिडको बारेमा एजेन्डा छ, यस्तै यूनइपीको एजेन्डा दिगो विकास सम्बन्धी, यूएनएससीको एजेन्डा मास डिस्ट्रक्सनसँग सम्बन्धित छ । यस्तै इकोफेनको चाहि अहिलेको परिवेशमा आर्थिक क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने एजेन्डा रहेको छ ।

समाजः तपाईले १८ दिनको अभिमूखिकरण कक्षा भन्नुभयो । यसमा विद्यार्थीहरुले सहभागिता जनाउँदा के के गर्छन् ?
महतोः यसमा सहभागिता जनाउँदा डेलिगेट्स र डायस भनिन्छ । जुन लिड गर्ने सदस्य हुन्छन् उनीहरुलाई डायज भनिन्छ । भाग लिने सदस्यहरुलाई डेलिगेट्स भनिन्छ । त्यहाँ छलफल हुन्छ । सहभागीहरुलाई छुट्टा छुट्टै देशहरुको नाम दिइन्छ । उनीहरुले एजेन्डामा आफ्नो देशमा अनुसन्धान गरेर आ–आफ्नो देशको समस्या राख्ने गर्छन् ।

समाजः कतिवटा देशको प्रतिनिधिको रुपमा विद्यार्थीहरु सहभागि हुँदैछन् ?
महतोः ः एउटा कमिटीमा २५ जना सदस्यहरु छन् । २५ देशको प्रतिनिधि हुनेछ । एजेन्डामा भएकाहरुको साझा समाधान निकालिनेछ । कमिटीहरुमा कुनैमा २२ जना कुनैमा १५ जना छन् ।

समाजः कुनै एक विद्यार्थीले कुनै देशको प्रतिनिधि गर्दा कसरी एजेन्डा बनाउँछन् ?
महतोः उसले सर्वप्रथम आफ्नो देशको अनुसन्धान गर्छ । देशको प्रमुख, विदेश नीति कस्तो छ । एजेन्डामा भएको समस्याको क्षेत्राधिकार कस्तो छ । कस्तो नीति सरकारले अपनाएको छ । कस्तो अपनाउने योजना बनाएको छ भन्ने कुरा अनुसन्धान गरी त्यसलाई प्रदर्शन गर्न सक्छन् ।

समाजः तपाईहरु २ वर्ष चितवनको मोडल युनाइटेड नेसन्समा सहभागी हुनुभयो । चितवनमा गरेको भन्दा यहाँ केही कुरा फरक छ या चितवनको जस्तै यहाँ एनमुन गर्दैछौं ।
महतोः त्यहाँ हामी भौतिक रुपमा सहभागी मात्र भएका थियौं । यसपटक हामीले भर्चुअल गरिरहेका छौं । चितवनमा हामीले कमिटी सेसन गर्दा आउट अब्जर्बर थिएनन् । हामीले यो पटक भर्चुअल गरेको भएर धेरै अब्जर्बरहरुलाई बोलाएका छौं । यस्तो हुँदा डेलिगेट्स विद्यार्थीहरुलाई चुनौती पनि छ । अनि बोल्ने मौका पनि छ । कार्यक्रम चाहि भर्चुअल नै हुनेछ ।

समाजः कार्यक्रममा शिक्षकहरुको भूमिका के रहन्छ ?
महतोः शिक्षकहरुको भूमिकाको कुरा गर्नुपर्दा अहिलेसम्म गाइडलाइन मात्र प्रदान गर्नुभएको छ । अन्य कुराहरु सबै विद्यार्थीहरुले व्यवस्थापन गरेका हुन् भने अन्तिम दिनमा अब्जर्बेसन मात्र गरिदिने हुन्छ ।

समाजः यस्तो अभ्यासबाट विद्यार्थीहरुले के कुरा सिक्न पाउने भए ?
महतोः यसले धेरै स्किलहरु बढाउँछ । पहिलो स्किल भनेको बोल्न सिकाउँछ । पब्लिक स्पिकिङ । त्यसैगरी यसमा धेरै अनुसन्धन गर्नुपर्ने हुन्छ । धेरै अनुसन्धान गर्नेहरुले पुरस्कार पनि पाउँछन् । यसो हुँदा विद्यार्थीको अनुसन्धान गर्ने ज्ञान पनि बढ्नेभयो । त्यस्तै उसले डिप्लोमेसी, युनाइटेड नेसन्सबारे बुझ्नेछ । डब्लुएचओ, युनाइटेड नेसन्स कसरी हुन्छ बारे बुझ्न सक्छन् ।

समाजः कति विद्यार्थी सहभागी हुन्छन् ? विद्यार्थीहरुको उत्साह र सहभागिता कस्तो पाउनुभयो ?
महतोः हामीले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई यसमा सहभागी गराएका छौं । यसमा रुचि भन्दा पनि गाह्रो लागेको थियो । हामीले यसबारे उत्प्रेरणा दियौं, सम्झायौं पनि । यसपश्चात उनीहरुको रुचि बढ्यो । यसमा ८० देखि १ सय विद्यार्थीहरु प्रत्यक्ष सहभागी हुँदैछन् । अन्य विद्यार्थी र अब्जर्बरहरु भने हेर्नका लागि मात्र आउनेछन् ।