मकवानपुर जिल्ला खेलाडी उत्पादनको उर्वरभूमि हो भन्ने कुरा विभिन्न खेलका राष्ट्रिय टीममा मकवानपुरे खेलाडीहरुको उपस्थितिले प्रमाणित गरेको छ । विशेषगरी फुटबल, बक्सिङ र मार्सल आर्टका विभिन्न विधामा मकवानपुर जिल्लाका खेलाडीले देशकै लागि महत्वपूर्ण योगदान दिएका छन् । खेलाडीको योगदान र मिहिनेतकै कारण जिल्लाका खेल पदाधिकारीदेखि स्थानीय तह वा राजनीतिक नेतृत्वसम्म पनि खेलकुदमा आफूले गरेको योगदानको परिणाम भन्नपछि परेका छैनन् । तर खेलाडीहरुले कुन अवस्थामा अभ्यास गरेका छन् ? के समस्या भोगे ? खेलस्थल र खेलकुद सामग्रीको व्यवस्थापन के थियो र छ ? भन्ने विषयमा कसैको चासो छैन । खेलक्षेत्रबाट जिल्लामा जे जति उपलव्धि प्राप्त छन् त्यो खेलाडीहरुकै मिहिनेत र लगनको परिणाम हो ।
स्थानीय तहहरुको निर्वाचनपछि खेलपूर्वाधारको विकासको क्रम सुरु भएको छ । तर पर्याप्त छैन । धेरै भन्दा धेरै खेल विधाका लागि अभ्यास गर्न मिल्ने गरी सबै स्थानीय तहहरुमा पूर्वाधार निर्माण हुनु पर्छ । केही स्थानीय तहले सुरुवात गरेका छन् भने कतिपयले खेलकुद पूर्वाधारका लागि महत्व नै नदिएको अवस्था पनि छ । यस्तै केही महत्वपूर्ण र राष्ट्रियस्तरका प्रतियोगिताहरु पनि भएका छन् । तर यस्ता प्रतियोगिताहरु यस जिल्लाका खेलाडीका लागि कति उपयोगी भए भन्ने विषयमा समिक्षा आवश्यक छ । खेलाडीको क्षमता बृद्धि गर्न पूर्वाधार र प्रतियोगिता समानान्तर रुपमा विकास हुनु पर्छ । स्थानीय खेलाडीहरुको सहभागिताले प्राथमिकता पाउनु आवश्यक हुन्छ ।
यस्तै अभावका बीच हेटौंडा–५ पिप्लेस्थित पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको अग्रसरतामा नमूना कभर्डहल निर्माण भएको छ । सरकारी क्षेत्रबाट करिव १५ लाखमात्र लगानी भएको यो कभर्डहल करिब ४० लाख खर्च गरेर निर्माणको अन्तिम चरणमा पुगेको छ । इच्छाशक्तिका साथ गरेमा एकजनाको निरन्तर प्रयासले महत्वपूर्ण निर्माण हुन सक्छ भन्ने उदाहरण कभर्डहल बनेको छ । पिप्ले युवा क्लबमार्फत निर्माण भएपनि पूर्व खेलाडी समेत रहेका क्लबका अध्यक्षको एक्लो प्रयासका रुपमा कभर्डहल निर्माण भएको देखिन्छ । यद्यपि कभर्डहल निर्माणका लागि स्थानीय युवाले देखाएको सहभागिता र सक्रियता उत्तिकै प्रेरक छ । जसले जे सहयोग गर्न सक्छ ? शारीरिक श्रममा पनि उत्तिकै खटिएर कभर्डहल निर्माण भएको छ । व्यक्तिगत पहुँचका आधारमा संघ–संस्था, व्यक्ति, समुह लगायतबाट करिव २५ लाख रुपैयाँ उठेको छ । सरकारी खर्चमा ठेक्कामार्फत काम गराएको भए करोड भन्दामाथिको निर्माण करिब ४० लाखमै निर्माण हुनु मितव्ययिताको पनि नमूना हो ।
खेलाडी उत्पादनको प्राथमिक आवश्यकता नै अभ्यासस्थल र सामग्री हो । तर मकवानपुरमा यी दुबै चिजको अभावमा पनि खेलाडीले राम्रो नतिजा ल्याइरहेका छन् । यस्ता प्रतिभाको क्षमता विकास र थप प्रतिभाको खोजिका लागि पूर्वाधार आवश्यक हुन्छ । कार्यकर्ता खुशी बनाउने योजना दिने सांसदको नजरमा खेलक्षेत्र नपर्नु दुःखद् पक्ष हो भने स्थानीय सहभागिता मै यति ठूलो पूर्वाधार निर्माण हुनु सुखद् पक्ष हो । कभर्डहल निर्माणमा नागरिक तहबाट जुटेको सहयोगले जिल्लाबासी खेलक्षेत्रलाई माया गर्दछन् भन्ने प्रमाणित भएको छ । जन्मदिन मनाउँदा लाग्ने खर्चदेखि रोजगारीको पहिलो पारिश्रमिक समेत कभर्डहलका लागि दिएको अवस्था छ । त्यस्तै पेशा, व्यवसायीदेखि विदेशमा रहेका पूर्व खेलाडी र शुभचिन्तकहरुबाट भएको सहयोग निकै प्रशंसनीय छ । यो कभर्डहल निर्माणले स्थानीय, प्रदेश र संघीय सरकारहरुलाई चुनौती दिएको छ । भरोसायोग्य व्यक्तिले नेतृत्व गरेमा गाँस काटेर पनि सहयोग गर्न सबै तयार हुन्छन् भन्ने कुराको प्रमाण पनि हो पीप्ले कभर्डहल ।