हेटौंडाः कान्तिलोकपथको मकवानपुरगढी–चौघडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आज साँझ साढे ६ बजेको समयमा मकवानपुरगढीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल सडकबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका–३ धमिलेका ४६ वर्षीय भरत पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पुडासैनीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनमा परी घाइते भएका मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीका ४१ वर्षीय कुमार पराजुलीको हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।