पत्रकारिताको सुरुवात नै साहित्यिक पत्रकारिता अर्थात साहित्यिक पत्रिकाको प्रकाशनबाट सुरु भएको हो । छापा माध्यमको रुपमा साहित्यिक पत्रिकाले विश्व समाजलाई नै सचेत गराउन र आधुनिक पत्रकारिताको आधार तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, आधुनिक सूचना प्रविधिको तीव्र विकास र विस्तारले छापा साहित्यिक पत्रकारिता संकटमा पर्दै गएको छ । निक्कै उत्साह र साहसका साथ त्रैमासिक साहित्यिक पत्रिका हाम्रो मातृभूमि प्रकाशन आरम्भ गरिएको करिब डेढ दशकको अनुभव र साहित्यिक पत्रकारिताका विषयमा मकवानपुरका अग्रज साहित्यकार देवराज खरेलसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः साहित्यिक पत्रिका हाम्रो मातृभूमि त्रैमासिक रुपमा प्रकाशन गरिराख्नु भएको छ । अहिले साहित्यिक पत्रिकाको प्रकाशन कसरी भइरहेको छ ?
खरेलः पहिले चै हामीले उत्साहपूर्ण ढङ्गले प्रकाशन सुरु गर्यौं । २०५९ सालतिर सुरु गर्यौं । पहिले संस्थाबाट चलाइएको हो । २/४ वर्ष राम्रैसँग चल्यो । त्यसपछि २०६५ देखि मैले व्यक्तिगत नाममा राखेर हाम्रो मातृभूमि पत्रिका निरन्तर चलाइरहेको छु । हालसम्म करिब ५९ अंक पुगेको छ । आफैं प्रकाशक र सम्पादक भएर चलाइराखेको छु । अहिले लकडाउनले गर्दा गाह्रो छ । रचना पाउन पनि गाह्रो छ । पत्रिका नियमित प्रकाशन गर्न पनि उत्तिकै गाह्रो छ ।
समाजः रचना पाउन गाह्रो छ भन्नुभयो ? तपाईले रचना कसरी संकलन गर्नुहुन्छ ?
खरेलः सामग्रीहरु थाहा पाएसम्म नाम चलेका साहित्यकारहरुदेखि, वरिष्ठ साहित्यकारका सिर्जनाहरु फोन मार्फत, कहिले कुरियर मार्फत, कहिले ईमेल मार्फत संकलन गर्ने गरेको छु । अहिलेसम्म त धेरै गाह्रो त हैन तर कोरोनाले गर्दा चै केही गाह्रो भएको छ ।
समाजः त्रैमासिक रुपमा प्रकाशित हुने हाम्रो मातृभूमि जस्ता साहित्यिक पत्रिकाका पाठक कस्ता छन् ?
खरेलः इमान्दारिपूर्वक भन्नु पर्दा अहिले पाठक नै पाउन गाह्रो छ । धेरै गाह्रो छ । विद्युतीय माध्यममा छापा माध्यममा भन्दा छिट्टै रचनाको लेनदेन हुने भएकाले मासिक, त्रैमासिक पत्रिकाले पाठक पाउन समस्या छ । त्यस्तै १५ दिन, १ महिना कुर्नुभन्दा सामाजिक सञ्जाल र विद्युतीय माध्यममा तुरुन्त आउने भएका कारण अहिले पाठकहरु विद्युतीय माध्यमतर्फ आकर्षित छन् । उनीहरु पत्रिका किनेर पढ्दैनन् ।
समाजः साहित्यिक पत्रिका हाम्रो मातृभूमि नेपाल त्रैमासिक रुपमा प्रकाशन गरिराख्नु भएको छ । यसलाई निरन्तर प्रकाशन गरिराख्ने प्रमुख आधारहरु चाही के–के छन् ?
खरेलः त्यस्तो आधारहरु केही पनि छैन । विभिन्न संस्थाहरुको विज्ञापन, सरकारको लोक कल्याणकारी विज्ञापन नै प्रमुख आधार हो ।
समाजः साहित्यिक त्रैमासिक, मासिक पत्रिकाहरुलाई कसरी अगाडि लान सके राम्रो हुन्छ होला ?
खरेलः पाठकको राम्रो सहयोग चाहियो, संघसंस्थाहरुको नि सहयोग चाहिन्छ । सरकारले दिएको लोक कल्याणकारी विज्ञापनहरुले मात्र भ्याउदैन रहेछ । अब हामीले बजारमा गएर विज्ञापन उठाउन सक्दैनौं । सरकारले सहयोग नगर्ने हो भने हामीले यो बन्द गर्नुपर्ने हुन्छ । सबैबाट सहयोग चाहियो ।
समाजः तपाई आफै साहित्यकार हुनुहुन्छ । पत्रिका चलाइराख्नु भएको छ । त्रैमासिक रुपमा साहित्यिक पत्रिकाहरुको भूमिका समाजमा कस्तो रहन्छ वा पाठकहरुमा कस्तो प्रभाव रहन्छ ?
खरेलः समाजमा आवश्यकता नभएको भने हाईन । यस किसिमका पत्रिका पढ्न चाहनेहरु पनि छन् । तर त्यो कम हुँदै गएको छ विस्तारै विस्तारै । अब आर्थिक कै कुरा आउँछ । मधुपर्क, गरिमा जस्ता पत्रिकाहरु मानिसहरुले किनेर पनि पढ्छन् । उनीहरुको बजेट पनि राम्रो भएका कारण लेखकको पारिश्रमिक पनि दिन सक्छन् ।