हेटौंडाः बागमती प्रदेशको प्रदेश सभा सचिवालयको आयोजनामा भर्चुअल माध्यमबाट छलफल तथा अन्तरक्रिया हुने भएको छ । असोज ५ गते सोमबार बागमती प्रदेशमा कोभिड–१९ र बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले पारेको असर तथा न्यूनीकरणका लागि भएका प्रयासहरुको विषयमा भर्चुअल माध्यमबाट छलफल गर्न लागिएको हो ।

बागमती प्रदेश सभा सचिवालयको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा छलफल हुनेछ । छलफल बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सुरुवात गर्नुहुनेछ । छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गतिविधि सम्बन्धी जानकारी दिने, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले प्राकृतिक विपद् बाट भएको क्षति र न्यूनीकरणका प्रयासका बारेमा जानकारी गराउनुहुने, सामाजिक विकास मन्त्री युवाराज दुलालले कोरोना भाइरस सम्बन्धी मन्त्रालयको धारणा र भावी योजना पेश गर्नेे, त्यस्तै उपसभामुख राधिका तामाङ र प्रमुख विपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले कोभिड–१९ तथा प्राकृतिक विपद् सम्बन्धमा बोल्ने तथा प्रदेश सदस्यहरुबीच खुल्ला छलफल गर्ने प्रदेश सचिवालयले जनाएको छ ।

भर्चुअल कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु, ६ वटै मन्त्रालयका सचिवहरु, ५ वटै विषयगत समितिका सभापतिहरु, प्रदेशको प्रमुख सचिव मान बहादुर बिक, प्रदेश सभा सचिव कृष्णहरि खड्का लगायतको उपस्थिती रहने बागमती प्रदेशको सचिवालयले जानकारी दिएको छ।